असोज २५ देखि ३१ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, २५ असोज, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असोज २५ गते शनिबारदेखि असोज ३१ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा फूर्ति, उत्साह र उमंग देखिनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धन लगानी हुन सक्छ । छरछिमेकी वा साथीभाइले कुनै महत्वपूर्ण काममा सहयोग गर्नेछन् । तपाईंको दार्शनिकता र विचारलाई सबैले सराहना गर्नेछन् ।   मातापिता र अभिभावक वर्गको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउनेछन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नुपर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामाजिक सम्बन्ध सुदृढ हुनेछ । कर्मक्षेत्रमा व्यस्त रहनुपर्ने दिन रहेको छ । पठनपाठनमा समय दिन सकिँदैन । प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिँदैन । पेसा–व्यवसायमा भनेजस्तै लाभ मिल्नेछ । आर्थिक पक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जे गरे पनि फाइदा नै हुनेछ । मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय दिनुपर्नेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मान्यजनको आशीर्वाद पाउनुहुनेछ । आँटेका र चिताएका काममा सफलता मिल्नेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नुपर्नेछ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भूमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनुहुनेछ । यातायातको साधन किन्न अनुकूल छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा चिन्ता र शंका भए पनि उत्साहमा कमी हुनेछैन, रोकिएको काम बन्न सक्ने योग रहेको छ । उपलब्धिमूलक यात्राको योग छ । राशिमा शुभ ग्रहको प्रभाव रहेको छ, त्यसैले लामो समयदेखि रोकिएका काम पुन: थालनी गर्न अनुकूल समय रहेको छ । स्वास्थ्यमा सानातिना समस्या देखिए पनि यसले तपाईको काममा असर पुर्याउनेछैन । बढी खर्च र यात्रा दुवै हुन सक्छ, तर आर्थिक रूपमा टेवा नै पुग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रणय सम्बन्ध र रतिराग बढाउने समय रहे तापनि  कमजोर चन्द्रमा भएकाले कार्यक्षेत्रमा व्यस्त हुनुपर्नेछ । जीवनसाथी वा प्रेमी–प्रेमिकाले समय प्रदान नगर्नाले मनमा खिन्नता बढ्न सक्छ । दाम्पत्य जीवनमा चिसोपन बढ्न सक्छ । फकाउने र फुस्ल्याउने काममा समय खर्च हुन सक्छ । पार्टनरसिपमा गरिएका कामबाट पनि फाइदा हुँदैन । पेसा वा बन्दव्यापारमा जतिसक्दो धेरै समय दिनु राम्रो हुन्छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको आशीर्वादले काम बन्ने योग रहेको छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धि हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि दीर्घकालिक उपलब्धि हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनुपर्नेछ । विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जित हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बौद्धिक र लेखन कार्यमा सफलता प्राप्त हुने योग छ । बन्दव्यापार र पेसागत जीवनमा सामान्य छ । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्वपूर्ण बन्न सक्छ । विचारको कदर हुनेछ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । तिनीहरूले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक मद्दत गर्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्न सक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नुपरे पनि सफलता हासिल हुनेछ । शरीर फुर्तिलो हुनेछ, जोश र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । बन्दव्यापार फस्टाउनेछ । घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समाजमा साख बनाउने उपयुक्त समय छ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनुभएको छ भने आज त्यसका लागि अनुकूल समय रहेको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावनासमेत छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यावसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो । तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिंगीको आकर्षण बढ्नेछ । सुनचाँदीजस्ता धातुको कारोबारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुन सक्छ । दिदीबहिनीको सहयोग पाइनेछ । आर्थिक क्षेत्र सबल रहनेछ भने स्वास्थ्यमा पनि सकारात्मक शंकेत देखिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकांक्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमंग र स्फूर्ति प्राप्त हुनेछ ।  

सुझावित समाचार