गत वर्षको असोजमा आएको रोशी खोलाको बाढीले बगाएको खरिबोट–थान्सिङ मोटोरेबल पुल भएको स्थानमा बेलिब्रिज बन्ने भएको छ । भाैतिक पूर्वाधार, ऊर्जा, जलस्रोत तथा यातायातमन्त्री कुलमान घिसिङले दसैँअगाडि निरीक्षण गरेको उक्त स्थानमा बेलिब्रिज बन्ने भएको हो ।
असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण क्षतिग्रस्त बिपी राजमार्गको निरीक्षणको क्रममा भौतिक पूर्वाधार, ऊर्जा तथा यातायातमन्त्री कुलमान घिसिङले सो कुरा बताएका हुन् । ‘बिपी राजमार्ग, खरिबोट, थान्सिङ, सिपाली हुँदै महाभारत जोड्ने पुलमा अहिलेलाई बेलिब्रिज हाल्ने तयारी भएको छ,’ मन्त्री घिसिङले भने, ‘दसैँअगाडि नै हामीले निरीक्षण गरेर बेलिब्रिजका लागि भारतमा अर्डर भइसकेको छ । छिट्टै पुल हाल्छौँ ।’ लामो खालको बेलिब्रिज नेपालमा नपाइने हुनाले भारतमा अर्डर भएको उनले बताए । पक्की पुल निर्माण नभएसम्मलाई बेलिब्रिज बनाउन लागेको उनको भनाइ छ ।
थान्सिङमा बेलिब्रिज निर्माण गर्ने मन्त्री घिसिङबाट सुनेपछि खुसी लागेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । पक्की पुल निर्माणका लागि पटक–पटक प्रदेश र संघीय सरकारमा अनुरोध गरेको भए पनि सुनुवाइ नभएको अवस्थामा अस्थायी रूपमा बेलिब्रिज निर्माण गर्ने कुराले खुसी लागेको लामाको भनाइ छ ।
उक्त पुल बगाएपछि पटक–पटक ह्युमपाइप राखेर यातायात सञ्चालन गरेको अध्यक्ष लामाले बताए । उक्त पुल बनेपछि रोशीको माथिल्लो भेग वडा नं. १ देखि वडा नं. ६ सम्मलाई र महाभारत गाउँपालिकालाई सहज हुने उनको भनाइ छ । पुलको कारण तरकारी, दुधजस्ता वस्तुहरु बजारसम्म पुर्याउन नपाउँदा त्यस भेगका स्थानीयको आर्थिक उपार्जनमा कमी आएको उनले बताए ।
करिब १० वर्षभन्दा बढी समय लगाएर बनाएको पुल बगाएपछि महाभारत गाउँपालिकाको यात्रालाई असहज बनाएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । पुल निर्माणका लागि पटकपटक प्रदेश र संघीय सरकारसँग पहल गरेको उनले जानकारी दिए । बेलिब्रिज बनेपछि महाभारतको यात्रा सहज हुने भन्दै उनले खुसी व्यक्त गरे ।
मन्त्री घिसिङलाई धन्यवाद व्यक्त गर्दै जिम्बाले तत्कालका लागि बेलिब्रिज हाले पनि दीर्घकालका लागि पक्की पुल निर्माण गर्नुपर्ने बताए । उक्त स्थानमा ०७७ सालमा पुल निर्माण सम्पन्न भएको थियो । जाइकाले बिचैमा छाडेको पुल नेपाल सरकारले सम्पन्न गरेकाे थियाे । २०८१ असोजमा आएको बाढीले सो पुल बगाएको थियो । त्यसयता ह्युमपाइप हाल्ने र बगाउने क्रम चलिरहेको थियो ।