गोल्यान ग्रुपले जेन–जी आन्दोलनमा सहिद भएका व्यक्तिका परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार प्रेस विज्ञप्तिमार्फत गोल्यान ग्रुपले सहिदका परिवारप्रति सहकार्यको हात अघि बढाएको जनाएको हो।
प्रेस विज्ञप्तिमा सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यका लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने र छात्रवृत्ति कार्यक्रममा सामेल बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गर्ने उल्लेख छ। त्यसैगरी, शैक्षिक सहयोग आवश्यक नपर्ने सहिदका आमा–बुबाका लागि स्वास्थ्य बिमामार्फत उनीहरूको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने गोल्यान ग्रुपको भनाइ छ।
‘यस कार्यक्रमअन्तर्गत शैक्षिक शुल्क व्यहोर्नुका साथै बालबालिकाको रुचि र क्षमता पहिचान गरी अन्य अतिरिक्त क्रियाकलापमा पनि सहयोग गरिनेछ,’ कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रेले भनिन्, ‘हरेक बालबालिकामा साहसका साथ नेतृत्व गर्ने, समाजलाई रूपान्तरण गर्ने प्रतिभा रहेको हुन्छ, हामी उनीहरूमा निहित प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौँ।’
शैक्षिक सहायतामा नसमेटिएका सहिदका अभिभावकलाई स्वास्थ्य बिमामार्फत उनीहरूको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने उनको भनाइ छ। ‘कतिपय सहिदका अभिभावकहरू सन्तानविहीन अवस्थामा पुगेका छन्, उनीहरूलाई दीर्घकालीन स्वास्थ्यको खाँचो छ,’ गैह्रेले भनिन्, ‘त्यसैले हामीले स्वास्थ्य बिमा कार्यक्रम पनि सँगसँगै ल्याएका छौँ।’
गोल्यान ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने जनाएको छ। सबै सहिद परिवारसँग सम्पर्क गरी सहयोग कार्यक्रममा समावेश गरिरहेको गैह्रेले बताइन्। ‘उनीहरूको जीवनमा अपार सम्भावना थियो। शिक्षक, इन्जिनियर, कलाकार, वैज्ञानिक र भावी नेतृत्वकर्ताको रूपमा उभिन सक्ने सक्षमता थियो,’ गैह्रेले विज्ञप्तिमार्फत भनेकी छिन्, ‘परिवारले माया र आशा दिएर हुर्काएका ती युवाहरू गुमाउनुको पीडा शब्दमा समेट्न कठिन छ, हामी अहिले राष्ट्रिय र व्यक्तिगत रूपमा दिवंगत युवाका परिवारसँगै शोकमा छौँ।’
गोल्यान ग्रुपले कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन नसक्ने भन्दै पीडित परिवारसँग हातेमालो गरेर दुःखमा साथ दिन चाहेको बताएको छ।