असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षति पुर्याएको बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ। पाँच दिनदेखि अवरुद्ध राजमार्ग शुक्रबारबाट एकतर्फी सञ्चालनमा आएको हो।
रोशी खोलाको बाढीले काभ्रेतर्फ १३ स्थानमा र सिन्धुलीतर्फ तीन स्थानमा गत वर्ष बनेको अस्थायी डाइभर्सन बगाएको थियो। बिपी राजमार्गको विभिन्न स्थानमा गरी करिब ३.५ किलोमिटर सडक बगाएको थियो।
सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी विन्दु अधिकारीका अनुसार बिपी राजमार्ग काभ्रेखण्ड ट्रयाक खुलेको हो। ट्रयाक खुलेको भए पनि यातायातका साधन पूर्ण रूपले सञ्चालन हुनका लागि केही दिन लाग्नेछ।
‘राजमार्गको काभ्रेतर्फ बाढीले बगाएको डाइभर्सनको ट्रयाक खुलेको छ,’ उनले भने, ‘ट्रयाक खुलेको भए पनि पूरै यातायात खुलेको छैन। एक–दुईवटा गाडी पास भएको हो। पूरै खुल्न केही समय लाग्छ।’
चौकीडाँडा, कटुन्जेको घुमाउने, चार सयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँसी तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको उनले बताइन्।
राजमार्गको काभ्रेखण्डमा चौकीडाँडादेखि माम्तीसम्म ट्रयाक खुलिसकेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए। ‘क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न स्थानमा ट्रयाक बनाएर माम्तीसम्म खुलेको छ । एकतर्फी यातायात सञ्चालन हुन्छ । ट्राफिक जाम हुने भएकाले पूरै यातायात नियमित हुन भोलिसम्म लाग्छ होला,’ लामाले भने, ‘सडक विभाग, सडक डिभिजन कार्यालयसँगै हामी पनि रातदिन खटेर त्यतिसम्म सफल भयौँ।’
गत वर्ष यी सबै स्थानमा बाढीले पक्की राजमार्ग बगाएको थियो। क्षति भएको राजमार्ग सडक डिभिजनले करिब १० करोडको लगानीमा डाइभर्सन बनाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको थियो।
बिपी राजमार्ग बन्द हुँदा नेपालको पूर्वी भाग जाने यात्रुहरूलाई सास्ती हुनुको साथै काभ्रे जिल्लाको रोशी, महाभारत, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाको केही भागमा यातायात ठप्प भएको थियो।