जेन–जीको प्रदर्शनको क्रममा जलेका गाडीहरू बनाउने जिम्मा आफूहरूलाई दिन गण्डकी अटोमेकानिकल वर्क्स एसाेसिएसन पोखराले आग्रह गरेको छ । बिहीबार एसाेसिएसनका तर्फबाट अध्यक्ष विष्णुप्रसाद अधिकारीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै जलेका गाडीहरू बनाउने जिम्मा एसाेसिएसनलाई दिन आग्रह गरेका हुन् ।
जेन–जी आन्दोलनका कममा पोखरा क्षेत्रभित्र तोडफोड, आगजनी भएका जति पनि गाडी छन् तिनीहरूको सहुलियत मूल्यमा मर्मत गरी नयाँजस्तै बनाउने जिम्मा लिन एसाेसिएसन तयार रहेको अधिकारीले बताए । जलेका गाडीहरूको मर्मत नगरी नयाँ गाडी खरिद गर्दा देशको ठुलो धनराशि बाहिर जाने भएकाले यस दुःखद घडीमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरी देश विकासमा लाग्नुपर्ने भएको हुँदा प्रशासनमार्फत आवश्यक सहयोग गर्न एसाेसिएसनले प्रजिअमार्फत अनुरोध गरेको हो । कास्कीको पोखराबाट सुरु भएको यो अभियान देशव्यापी बन्ने एसाेसिएसनले अपेक्षा गरेको अधिकारीले बताए ।
प्रदर्शनका क्रममा गण्डकीमा तीन सयको हाराहारीमा गाडीहरू जलाइएका छन् । आगजनी भए पनि फलाम नजल्ने भएकाले जलेका गाडीहरू मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिने अध्यक्ष अधिकारीको भनाइ छ । उपलब्ध स्रोत र साधनको प्रयोग गरेर जलेका सबै गाडीहरू मर्मत गर्ने जिम्मा एसाेसिएसनले लिन तयार रहेको र मर्मतपछि धेरै गाडीलाई नयाँजस्तै बनाउन सकिने भनाइ उनको थियो।
जलेका गाडी मर्मतसम्भारपछि नयाँजस्तै बनाउन सकिने र यसरी बनाउँदा ३० प्रतिशत मात्र रकम खर्च हुने उनले बताए । सुरुमा कुन गाडीमा कति क्षति छ र त्यसको मर्मतसम्भार गर्न सकिन्छ सकिँदैन भन्ने यकिन भएपछि मात्र मर्मतसम्भारका लागि लाग्ने खर्च कति लाग्छ भन्न सकिने बताए । एसाेसिएसनका महासचिव विजेन्द्र चौधरीले जलेका धेरै गाडी मर्मतसम्भारपछि नयाँजस्तै बन्ने बताए ।
स्थानीय स्तरमा मर्मतसम्भार गर्दा राज्यलाई फाइदासँगै रोजगारीको अवसरसमेत सिर्जना हुने बताए । गाडीको मूल्यको ३० देखि ३५ प्रतिशत रकम खर्च गरेको खण्डमा नयाँजस्तै बनाउन सकिने र यसकाे जिम्मा एसाेसिएसनले लिने उनले बताए । पुरानैलाई मर्मतसम्भार गरेर बनाउन सकिन्छ भने नयाँ किनेर किन राज्यको सम्पत्तिको दोहन गर्ने भन्दै उनले प्रश्नसमेत गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ शर्माले हाल के–कति क्षति भएको छ त्यसको विवरण संकलनको कार्य हुँदै गरेकाले मर्मतसम्भारका लागि एसाेसिएसनसँग पछि छलफल गर्ने बताइन् । उनले मर्मतसम्भारपछि बन्ने गाडीहरू बनाउन एसाेसिएसन के–कसरी हुन्छ पछि सहकार्य गर्ने बताइन् ।