रोजगारीलगायत विभिन्न सिलसिलामा बागलुङबाट संसारका विभिन्न राष्ट्रमा रहेका बागलुङेहरूको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले जिल्लाभित्रका पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
विभिन्न समयमा स्वास्थ्य शिक्षालगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको समाजले यसपटक युवाहरूलाई लक्षित गरी पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको समाजका सचिव एवं भलिबल प्रतियोगिताका संयोजक राजु थापाले जानकारी दिए ।
जिल्ला भलिबल संघको व्यवस्थापन, बागलुङ नगरपालिका कार्यालय र जिल्ला खेलकुद विकास समितिको समन्वयमा असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
शुक्रबार प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै यो जिल्लामा पालिकास्तरीय प्रतियोगिताको सर्वाधिक पुरस्कार राशिको खेल भएको आयोजकले जनाएको छ । ‘हरेक दुई वर्षमा समाजको अधिवेशन हुन्छ, त्यो समयमा सबै पदाधिकारी र सदस्य पनि नेपाल आएको मौका पर्नेछ, सोही समयमा प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौँ,’ सचिव थापाले भने, ‘यसले निरन्तरता पाउनेछ, यो वर्ष बागलुङमा भयो भने अर्को वर्ष अर्को पालिका छनाेट गर्नेछौँ ।’ उनले समाजले जिल्लाको विकास र समृद्धिका लागि हरेक क्षेत्रमा सहयोग गर्ने थापाले बताए । खेलमा उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत उत्कृष्टलाई पाँच हजार रुपैयाँका दरले पुरस्कार दिइने बताइएको छ ।
आफू जन्मिएको माटो र आफू हिँडेको बाटो सम्झिएर यहाँको सामाजिक क्षेत्रमा जोडिने उद्देश्यले सञ्चालन गरेका कार्यक्रमले समग्र बागलुङको हित गर्ने बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।
श्रेष्ठले बागलुङबाट संसारका विभिन्न देशमा पुगेका गैरआवासीयहरूको समाजले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गर्दै आएकोमा यो बागलुङका लागि गौरवको विषय भएको बताए ।
‘कोभिडको समयमा होस् वा बाढीपहिरोको समयमा होस् बागलुङबाट विभिन्न राष्ट्रलाई आफ्नो कर्मभूमि बनाउनुभएका बागलुङेहरू हरेकबखत सहयोग गर्नुभएको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘यसपालि युवाहरूसँग जोडिने भलिबल प्रतियोगिताको आयोजना गरिएको छ, खेलले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवर्द्धन गर्नेलगायतको फाइदा हुनेछ ।’ श्रेष्ठले हाल निर्माण सम्पन्न भएर सञ्चालनमा आइरहेको दाबगारा बागलुङ बसपार्कमा खेल आयोजना गरिएकोले उक्त स्थानको समेत प्रवर्द्धन हुने बताए ।