हेटौँडामा लंगुरबुर्जा खेलाउँदै गरेका पाँचजना पक्राउ, तीन लाखभन्दा बढी नगद बरामद

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८ स्थित नमुनाचोकमा अवैध रूपमा लंगुरबुर्जा खेलाउँदै गरेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति करिब ९ बजे विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले लंगुरबुर्जाको गट्टी र खाल एक सेटसहित नगद तीन लाख ९६५ रुपैयाँ बरामद गरेको छ । प्रहरीले उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा हेटौँडा– ८, नमुनाचोकका २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका– ४ घर भई हाल हेटौँडा– ५ बसोबास गर्दै आएका ४२ वर्षीय दीपक अर्याल, हेटौँडा– १७ स्थायी घर भई हाल हेटौँडा– १५ बस्ने २६ वर्षीय विजय लामा रहेका छन् । यस्तै, प्रहरीले हेटौँडा– ९ घर भई हाल हेटौँडा– ८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र बागमती गाउँपालिका– ८ घर भई हाल हेटौँडा– ८ बस्ने ३१ वर्षीय अर्जुन तामाङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

 

See More On

सुझावित समाचार