महोत्तरी सदरमुकाम जलेश्वरका विभिन्न वडाका १८५ बाढीपीडित परिवारलाई रतौली युवा क्लबको सहजीकरण र सेभ द चिल्ड्रेनको सहयोगमा तत्काल आवश्यक पर्ने अखाद्य राहत सामग्री वितरण गरिएको छ ।
उनीहरूलाई सेल्टर किट, त्रिपाल, भाँडाकुँडा, पानी फिल्टर, बेबी किट, अलमुनियम म्याटलगायतका सामग्री वितरण गरिएको रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले बताए । जलेश्वर नगरपालिका– १ का ४७, वडा नं. ३ का ९०, वडा नं. ८ का ४३ र वडा नं. ११ का पाँचजना बाढीपीडित परिवारलाई तत्काल सो राहत सामग्री वितरण गरिएको र जलेश्वरकै अन्य वडा तथा अन्य पालिकाहरूसँग राहत वितरणका लागि समन्वय भइरहेको चौधरीले बताए।
बाढीमा जलेश्वर नगरपालिका, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, बलबा नगरपालिका, मनरा सिसवा नगरपालिका, मटिहानी नगरपालिका र बर्दीबास नगरपालिकालगायतका अन्य पालिकाहरूसमेत गरी हजारौँ परिवार प्रभावित भएकोमा सोमध्ये पूर्ण, आंशिक र सामान्य क्षतिको अवस्था हेरी राहतको प्याकेज आवश्यक रहेकोमा महोत्तरीमा थप राहतका लागि बाढीपीडितहरूबाट आग्रह गरिएको छ ।
यता रतौली युवा क्लबको सहजीकरण र सेभ द चिल्ड्रेनको सहयोगमा तत्काल वितरण भइरहेको राहतमा सबै बाढीपीडितले राहत पाउन नसकेको गुनासोसमेत रहेकोमा छुटेकाहरूलाई समेत राहत दिनेबारे समन्वय भइरहेको चौधरीको भनाइ छ ।