सन् १९७६ : माओत्सेतुङको निधनपछि उनकी श्रीमतीसहित ‘ग्याङ अफ फोर’का सदस्य हिंसा फैलाएको आरोपमा बेइजिङमा पक्राउ परे ।
सन् ६८० : कुफातर्फ जाँदै गरेका अल हुसेन र उनका समर्थक कारबालामा उमायद क्यालिफ याजिदका सैनिकबाट मारिए । मुस्लिम धर्मका प्रवर्तक मोहम्मदका नाति (छोरा फतिमाका छोरा) हुसेनलाई सियाहरूले पहिलो इमाम मान्छन् भने चौथो सुन्नी रसिदुन क्यालिफ मानिन्छन् ।
सन् १८२४ : गुआडालुप भिक्टोरियाले संयुक्त मेक्सिकन राज्यको पहिलो (अन्तरिम) राष्ट्रपतिका रूपमा पद सम्हाले ।
सन् १८६८ : क्युबाले स्वतन्त्रताका लागि स्पेनविरुद्ध विद्रोह सुरु गर्यो ।
सन् १८७१ : सिकागो सहरमा लागेको ‘ग्रेट सिकागो फायर’ नाम दिइएको विशाल डढेलो तीन दिनपछि निभ्यो । सो विपत्मा ३०० को ज्यान गयो भने एक लाख घरबारविहीन भए ।
सन् १९०० : बक्सर विद्रोहलाई दबाएपछि पश्चिम देश तथा जापानका विदेशमन्त्री चीनको राजधानीमा भेला भएर पराजित चीनमाथि कस्ता–कस्ता सर्त राख्ने भन्ने विषयमा बहस सुरु गरे ।
सन् १९३८ : जर्मनीले चेकोस्लोभाकियाको हिस्सा रहेको सुडेटेनल्यान्डमाथि पूर्ण रूपमा कब्जा जमायो ।
सन् १९५४ : फ्रान्सेली फौज बाहिरिएपछि हो ची मिन्ह हनोई प्रवेश गरे ।
सन् १९५७ : अमेरिकाको भ्रमणमा रहेका घानाका वित्तमन्त्री कोम्ला अग्वेली ग्बदेमाहलाई अश्वेत भएका कारण डेलावार राज्यको एक रेस्टुराँमा खाना नदिइएपछि अमेरिकी राष्ट्रपति आइजनहावरले उनीसँग माफी मागे ।
सन् १९६३ : अमेरिकी रसायनशास्त्री तथा आणविक अस्त्रविरोधी अभियानकर्मी लिनस पाउलिनले नोबेल शान्ति पुरस्कार पाए ।
सन् २००२ : पार्टी गठन गरेको ६ वर्षपछि पूर्वक्रिकेटर इमरान खान पहिलोपटक पाकिस्तानी सांसद सदस्य बने ।