- अफ्रिकी महादेशमा भएको छनोट खेलमा डिबाउटीमाथि ३–० को जित निकाली इजिप्ट चौथोपटक विश्वकपमा
सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगितामा इजिप्टले स्थान सुरक्षित गरेको छ । विश्वकपमा छनोट हुने इजिप्ट १९औँ राष्ट्र बनेको हो । अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । अफ्रिकी महादेशबाट इजिप्टसँगै मोरोक्को र टयुनिसियाले स्थान पक्का गरेका छन् । अहिले एसियाबाट दुई तथा अफ्रिकाबाट ६ टोली छनोट हुन बाँकी छन् ।
अफ्रिकी महादेशको बुधबार भएको छनोटमा इजिप्टले डिबाउटीमाथि ३–० को जित निकाली चौथोपटक विश्वकपको टिकट पक्का गरेको हो । इजिप्टलाई विश्वकपसम्म पुर्याउन मोहमद सलाहले दुई गोल गरेका थिए । खेलको आठौँ मिनेटमा इब्राहिमले इजिप्टलाई अग्रता दिलाएका थिए । इब्राहिमले जिजोको सटीक पासमा डी–बक्सभित्रबाट गोल गर्दै इजिप्टलाई १–० को स्थितिमा राखे । खेलको १४औँ मिनेटमा सलाहले टेजेगुइटको पासमा व्यक्तिगत पहिलो गोल गर्दा इजिप्ट २–० ले अघि रह्यो ।
कमजोर प्रतिद्वन्द्वी मानेको डिबाउटीले इजिप्टविरुद्ध रक्षात्मक रणनीति अपनाएको थियो । दोस्रो हाफमा डिबाउटीको दरिलो रक्षापंक्तिमा इजिप्टले गोल गर्न संघर्ष गरेको देखिन्थ्यो ।
खेलको ८४औँ मिनेटमा इजिप्टले ३–० को अग्रता लियो । यसपटक सलाहले नै गोल गरे । उनले मार्वानको पासमा गोल गरेका हुन् । सिएएफ विश्वकप छनोटको समूह ‘ए’मा इजिप्टले नौ खेलबाट सर्वाधिक २३ अंक जोडेको छ । इजिप्टले सात जित र दुई बराबरी नतिजा निकालेको छ । दोस्रो स्थानमा बुर्किना फासोले १८ अंक जोडेको छ । १२ अंकका साथ सेरेरा लिओने तेस्रो स्थानमा छ ।
चौथोपटक विश्वकपमा
अफ्रिकी महादेशमा इजिप्ट बलियो फुटबल राष्ट्र हो । तर, इजिप्टले विश्वकपमा दरिलो उपस्थित बनाउन सकेको छैन । समग्रमा इजिप्टले चौथोपटक विश्वकप खेल्न लागेको हो । सन् २०१८ मा इजिप्ट अन्तिमपटक विश्वकपमा पुगेको थियो । जसमा पहिलो अफ्रिकी राष्ट्र पहिलो चरणबाटै बाहिरियो । विश्वकपको दोस्रो संस्करण खेलेको इजिप्टले सन् १९९० को इटालीमा प्रतिस्पर्धामा दोस्रोपटक स्थान रक्षा गरेको थियो । अहिलेसम्म इजिप्टले सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको रेकर्ड छ । अफ्रिकी महादेशबाट अल्जेरियाको सम्भावना बलियो छ ।
इंग्ल्यान्डलाई एक जित आवश्यक
एसियाबाट उज्वेकिस्तान र जोर्डनले पहिलोपटक विश्वकपमा स्थान बनाएका हुन् । युरोपियन छनोटमा इंग्ल्यान्डको सम्भावना बलियो छ । इंग्ल्यान्डले आगामी युरोपियन छनोटमा एक जित निकाल्दा विश्वकपमा स्थान बनाउनेछ । इंग्ल्यान्डले आगामी मंगलबार लात्भियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । लात्भियालाई हराउँदा इंग्ल्यान्ड विश्वकपमा पुग्नेछ । क्यानडा, मेक्सिको र अमेरिका आयोजकका रूपमा विश्वकपमा पुगिसकेका छन् । एसियाबाट इरान, अस्ट्रेलिया र जापानले लगातार विश्वकप खेल्ने पक्का गरेका छन् । यसैगरी, ओसियाना क्षेत्रबाट न्युजिल्यान्डको टिकट पक्का भएको छ । यसैगरी, दक्षिण अमेरिकी महादेशबाट साबिक विजेता अर्जेन्टिना, ब्राजिल, इक्वेडर, उरुग्वे, पाराग्वे तथा कोलम्बियाले स्थान पक्का गरेका छन् ।
विश्वकपमा पुगेका राष्ट्रहरू
आयोजक : क्यानडा, मेक्सिको, अमेरिका
एसिया : अस्ट्रेलिया, इरान, जापान, जोर्डन, दक्षिण कोरिया, उज्वेकिस्तान
ओसिएना : न्युजिल्यान्ड
दक्षिण अमेरिका : अर्जेन्टिना, ब्राजिल, इक्वेडर, उरुग्वे, पाराग्वे, कोलम्बिया
अफ्रिका : मोरोक्को, ट्युनिसिया, इजिप्ट