केपिलासगढीमा यात्रुसँग असुलिएको बढि भाडा फिर्ता गर्ने सहमति

बिहिबार, २३ असोज, २०८२
डिजिटल संस्करण

खोटाङको केपिलासगढी गाउँपालिकामा चाडपर्वको मौका छोपेर यातायात व्यवसायीले बढी भाडा लिएको विषयमा युवा समूहले आपत्ति जनाएपछि बढी लिएको भाडा यात्रुलाई फिर्ता गर्ने सहमती भएको छ।

दसैँमा राजधानी काठमाडौँबाट केपिलासगढी क्षेत्रमा आउने सार्वजनिक सवारीसाधनले बढी भाडा लिएको भन्दै युवा समूहले आपत्ति जनाएपछि तोकिएभन्दा बढी लिएको भाडा प्रमाणको आधारमा व्यवसायीले सम्बन्धित यात्रुलाई फिर्ता गर्ने सहमती भएको हो।

काठमाडौंबाट बाक्सिलासम्म टाटासुमो (जिप)को भाडादर रु दुई हजार ७०० कायम भए पनि व्यवसायीले रु तीन हजार ५०० सम्म लिएको पाइएपछि युवाहरुले गाउँपालिकालाई ध्यानाकर्षण गराएको थियो। चाडपर्वको मौका छोपेर यातायात व्यवसायीले बढी भाडा लिएकोलगायतका विषयमा गाउँपालिको ध्यानाकर्षण गराउन पालिकाभित्रका युवा गाउँपालिकाको कार्यालयमा पुगेका थिए।

गाउँपालिका उपप्रमुख गुरुराज राईसहितको छलफलमा बढी लिएको भाडा यातायात व्यावसायीले सम्बन्धित यात्रुलाई फिर्ता गर्ने सहमती भएको स्थानीय सविन थुलुङ राईले जानकारी दिए। युवा समूहले सवारीसाधन गुडिरहेको अवस्थामा चालकले धुम्रपान सेवन गर्ने, मोबाइल फोन चलाउने लगायतका कार्यले दुर्घटना हुने भएकाले त्यस्तो काम तत्काल रोक्न समेत आग्रह गरेको छ।

तोकिएभन्दा बढी लिइएको भाडामा सबैको रु ५०० का दरले फिर्ता गर्ने सहमति गरिएको पब्लिक मध्यपहाडी यातायात प्रालिका अध्यक्ष राहुल तामाङले बताए। असोज १० गतेसम्म तोकिएकै भाडादर अनुसार आफूहरुले यात्रु ल्याएको र १० देखियता केही दिन धेरै यात्रु भएकाले केही सुमोहरु रिजर्भमा आएका कारण बढी भाडा लागेको अध्यक्ष तामाङको दाबी छ।
 

सुझावित समाचार