भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री घिसिङले आगामी १ मंसिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दाअगावै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए । रंगशालाको गुरुयोजनाबमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव नहुने गरी काम अगाडि बढाइने बताए। उनले सरकार परिवर्तन हुँदैमा निर्माण प्रभावित नहुनेसमेत प्रस्ट पारे।
सो क्रममा क्यानका सचिव पारस खड्काले संवेदनशील अवस्थामा हुन लागेको एनपिएलले देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि सकारात्मक सन्देश प्रवाह हुने बताए । उनले मैदान तयारी अवस्थामा रहेको, फ्लड लाइड जडान र प्यारापिट निर्माण एनपिएल अगाडि नै निर्माण सम्पन्न हुने विश्वाससमेत व्यक्त गरे।
रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ । फ्लडलाइट जडान कार्यको प्रगति ६० प्रतिशत रहको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०.४-३०.४ टनका हाइमास्ट लाइट जडान भइरहेको छ । ६ वटामध्ये २ वटा लाईट टावर ठड्याउने काम सम्पन्न भइसकेको छ । बाँकीका उपकरणहरुको आपूर्तिसमेत भइसकेको छ ।