यसपटकको वर्षामा इलाममा सबैभन्दा धेरै क्षति हुनुको कारण के होला ?
क्षतिको मुख्य कारण अत्यधिक वर्षा नै हो । तीन–चार घण्टाको अन्तरालमा ३२२ मिलिमिटर पानी परको देखिएको छ । मैले सुनेअनुसार चिया इलाम टी स्टेटवरपरको भागलाई केन्द्र बनाएर ठुलो वर्षा भयो । जहाँ धेरै क्षति भएको छ, त्यो क्षेत्र माथिल्लो पहाडी भेग छ । झापासँग जोडिएको पालिकामा क्षति भएको छैन । चट्टान नभएको र मलिलो माटो भएको क्षेत्रमा पहिरो गएको छ । रातको समयमा पहिरो गएकाले पनि क्षति बढी भयो । दिउँसो भएको भए मानिस सतर्क हुन्थे, भाग्ने समय हुन्थ्यो ।
क्षतिको अवस्था कस्तो छ ?
हताहतीको कुरा गर्दा मंगलबारसम्म मृतकको संख्या ३९ पुगेको छ । एकजना बेपत्ता छन् । त्यस्तै अहिलेसम्म १०८ घर पूर्ण क्षति भएको तथ्यांक पाइएको छ । अझै थप तथ्यांक आउँदै छ । तर, पालिका तथा जनप्रतिनिधि प्रभावितको सहयोगमा खटिइरहनुभएको छ ।
बागमती प्रदेशमा केन्द्र सरकारले जे–जस्तो पूर्वतयारी गर्यो, कोशीले गरेन भन्ने आरोप आइरहेको छ नि ?
त्यस्तो होइन । यहाँ सडक सञ्जाल पूरै टुटेकाले सुरुमा समस्या आएको हो । घटना अति दुर्गम क्षेत्रमा भएको र राजमार्ग बन्द भएकाले झन् राहतमा केही ढिलो भयो । तर, त्यो समस्या पनि समाधान भइरहेको छ । केन्द्र सरकारले घटनाको भोलिपल्टै ७० लाखको सहयोग रकम पठाएको थियो । गृह मन्त्रालयले घाइतेको उद्धारमा हेलिकोप्टर उपलब्ध गराएको थियो । त्यसले सुत्केरीसहित १४ को उद्धार गर्यो । घाइतेको सरकारले नै नि:शुल्क उपचारको व्यवस्था गरेको छ । यही वेला मौका भनेर यात्रुवाहक गाडीले भाडा बढएपछि हामीले नि:शुल्क वाहन उपलब्ध गराएका छौँ । प्रदेश सरकार र पालिकास्तरबाट धेरै काम भइरहेको छ । ती पनि सरकारकै अंग हुन् ।