राष्ट्रिय गौरवका सडक परियोजनाको औसत भौतिक प्रगति ५८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष ०८१/८२ सम्म राष्ट्रिय गौरवका पाँच सडक परियोजनाको औसत भौतिक प्रगति ५७.९७ प्रतिशत पुगेको हो । सडक विभागको तथ्यांकअनुसार उक्त परियोजनाहरूको औसत वित्तीय प्रगति भने ५४.६ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवका सडक आयोजनातर्फ मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, कालीगण्डकी लोकमार्ग (बेनी–कोरोला), कालीगण्डकी लोकमार्ग (गैँडाकोट–मालढुंगा खण्ड), कर्णाली करिडोर (हिल्सा–सिमिकोट), कर्णाली करिडोर (खुलालु–सल्लिसल्ला) र कोशी करिडोर रहेका छन् । यी आयोजनाहरूको कुल लागत अनुमान दुई खर्ब ४४ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ रहेको छ । हालसम्म एक खर्ब ७३ अर्ब नौ करोड २६ लाख रुपैयाँ खर्च भइसकेको छ ।
मध्यपहाडीको प्रगति ८१.७३%
०६४/६५ मा निर्माण सुरु गरिएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति ८१.७३ र वित्तीय प्रगति ८४.३१ प्रतिशत पुगेको छ । कुल लम्बाइ १८ सय ७९ किलोमिटर रहेको यस सडक आयोजनाको लागत अनुमान ८४ अर्ब ३३ करोड छ । त्यसमा हालसम्म ७१ अर्ब नौ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । यो परियोजनाको निर्माण ०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म यसमा १५ सय १०.८६ किमि सडक कालोपत्रे भएको छ । २६१.१४ किमि सडकमा कालोपत्रे गर्ने काम अघि बढेको छ । एक सय सात किमि सडक कालोपत्रे गर्न ठेक्का लाग्न बाँकी छ ।
परियोजनामा एक सय ३७ वटा पुल बनाउनुपर्नेमा हालसम्म एक सय ११ वटा पुल निर्माण भएका छन् । २४ वटा पुल निर्माणाधीन अवस्थामा छन् ।
हुलाकीको प्रगति ७२.७५%
०६६/६७ बाट निर्माण सुरु गरिएको हुलाकी राजमार्गको असारसम्मको भौतिक प्रगति ७२.७५ प्रतिशत र वित्तीय प्रगति ६८.९६ प्रतिशत पुगेको छ । यस आयोजनाको कुल लम्बाइ १८ सय ५७ किलोमिटर हुनेछ । त्यसको लागत अनुमान भने एक खर्ब एक अर्ब ६३ करोड छ । ०८३/८४ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाको असारसम्म ७० अर्ब २८ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ ।
हालसम्म यसका १३ सय ५१ किमि सडक कालोपत्रे भइसकेको छ । दुई सय ४४ किमि सडक कालोपत्रेको प्रक्रियामा छन् । दुई सय २८ किमि सडक कालोपत्रे गर्न ठेक्का आह्वान हुन बाँकी छ । यस सडक परियोजनाअन्तर्गत तीन सयवटा पुल बनाउनुपर्छ । त्यसमा हालसम्म एक सय ५१ वटा पुल बनिसकेका छन् । ५९ वटा पुल निर्माणका चरणमा छन् भने ८९ वटा पुलको ठेक्का लाग्न बाँकी छ ।
४५% मा सीमित कोशी करिडोर
आव ०६५/६६ मा निर्माण सुरु गरिएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति ४५ प्रतिशत मात्रै छ । वित्तीय प्रगति भने ४१.२५ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । यस परियोजनाको लागत अनुमान १६ अर्ब २० करोड लगानी अनुमान गरिएको छ । त्यसमा असारसम्म ६ अर्ब ६८ करोड २० लाख रुपैयाँ खर्च गरिएको छ । यो परियोजनाको निर्माण ०८५/८६ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कुल लम्बाइ एक सय ६२ किमि रहेको यो सडकको हालसम्म ट्रयाक खुलिसकेको छ । यसैगरी हालसम्म १५ किमि मात्रै सडक कालोपत्रे भएको छ । परियोजनामा २४ वटा पुल बनाउनुपर्नेछ । त्यसमा हालसम्म १० पुल बनेका छन् । एउटा निर्माणको चरणमा छ ।
गैँडाकोट–मालढुंगाको ७९.८६%
०६६/६७ बाट सुरु गरिएको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने यस आयोजनाको हालसम्मको भौतिक प्रगति ७९.८६ प्रतिशत र वित्तीय प्रगति ७०.३५ प्रतिशत पुगेको छ । २० अर्ब संशोधित लागत रहेको यस परियोजनामा हालसम्म १४ अर्ब सात करोड खर्च भएको छ । आव ०८३/८४ मा यसको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस सडकको लम्बाइ एक सय ९३ किमि रहेको छ, हालसम्म ट्रयाक खुलिसकेको छ । त्यसमा हालसम्म दुई सय ३४ किमि सडक कालोपत्रे भइसकेको छ । ५३.५ किमि सडक कालोपत्रेको चरणमा छ । ५.५ किमि सडक कालोपत्रे गर्न ठेक्का लाग्न बाँकी छ । यसअन्तर्गत ५९ पुल बन्नुपर्नेछ । त्यसमा हालसम्म ३६ वटा पुल बनिसकेका छन् । ६ वटा पुल निर्माणको चरणमा छन ।
मालढुंगा–कोरोलाको ८५%
कालीगण्डकी करिडोरअन्तर्गत पर्ने यस आयोजनाको निर्माण ०७३/७४ बाट सुरु गरिएको थियो । हालसम्मको यसको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ८१.६ प्रतिशत पुगेको छ । १० अर्ब ५७ करोड लगानी अनुमान गरिएको आयोजनाको हालसम्म आठ अर्ब २० करोड १५ लाख रुपैयाँ खर्च भइसकेको छ । चालू आव ०८२/८३ मै यसको निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
यसअन्तर्गत दुई सय दुई किमि सडक निर्माण गर्नुपर्नेछ, हालसम्म यसको ट्रयाक खुलिसकेको छ । त्यसमा ८१ किमि सडक कालोपत्रे भइसकेको छ । यसैगरी २३ किमि सडक भने कालोपत्रेको चरणमा छ । ९८ किमि सडक कालोपत्रे गर्नका लागि ठेक्का लाग्न बाँकी छ । परियोजनामा २६ वटा पुल बन्नुपर्नेछ । हालसम्म १५ पुल बनेका छन् । तीबाहेक ६ पुल निर्माणको चरणमा छन् ।
हिल्सा–सिमिकोटको प्रगति ३६%
कर्णाली करिडोरको दुई सय ६९ किलोमिटर लम्बाइ रहेको आयोजनाको निर्माण ०६९/७० मा सुरु गरिएको थियो । हालसम्म यसको भौतिक प्रगति ३६ प्रतिशत र वित्तीय प्रगति ३०.६१ प्रतिशत पुगेको छ । कुल ६ अर्ब ६६ करोड लगानी अनुमान गरिएको आयोजनाको हालसम्म दुई अर्ब तीन करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । यद्यपि, सम्पूर्ण सडक कालोपत्रे गर्दा यसको लागत १५ अर्ब पुग्ने अनुमान गरिएको छ । यो परियोजनाको निर्माण ०८४/८५ मा सक्ने लक्ष्य लिइएको छ ।
यस परियोजनाअन्तर्गत एक सय ४६ किमि सडक बनाउनुपर्नेछ । त्यसमा सबै ट्रयाक खुलिसकेको छ । हालसम्म ३८ किमि सडक ग्राभेल गरिएको छ भने ८६ किमि सडक ग्राभेलको चरणमा छ । २२ किमि सडक ग्राभेल गर्न भने ठेक्का लाग्न बाँकी छ । परियोजनामा १० वटा पुल बनाउनुपर्नेछ । त्यसमा हालसम्म तीनवटा पुल बनिसकेका छन् भने चारवटा पुल निर्माणका चरणमा छन् ।
खुलालु–सल्लिसल्लाको प्रगति न्यून
कर्णाली करिडोरमा पर्ने यस परियोजनाको निर्माणकार्य ०८०/८१ बाट सुरु भएको छ । यसको निर्माणकार्य ०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य छ । यसको लागत अनुमान १२ अर्ब रहेको छ । सम्पूर्ण सडक कालोपत्रे गर्दा यसको लागत १५ अर्ब पुग्ने अनुमान गरिएको छ । हालसम्म यसको खर्च भने ७१ करोड ८२ लाख रुपैयाँ रहेको छ । हालसम्म यसको भौतिक प्रगति ५.५ प्रतिशत र वित्तीय प्रगति ५.१३ प्रतिशत छ । यसअन्तर्गत एक सय २३ किमि सडक बनाउनुपर्नेछ, त्यसको ट्रयाक खुलिसकेको छ । हालसम्म सडक कालोपत्रे भने भएको छैन । हाल ५० किमि सडक कालोपत्रेको चरणमा छ ।