अन्तिम मनसुनी वर्षाले धानबाली भिजेपछि किसान समस्यामा

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण

यस वर्षको अन्तिम मनसुनी वर्षाले कञ्चनपुरमा धानबाली भिजेपछि किसान मारमा  परेका छन् । असोज तेस्रो साता सोमबार साँझदेखि मंगलबार दिउँसोसम्म आएको वर्षाले धानबाली भिजेपछि किसान मारमा परेका हुन् । 

जल तथा मौसम विज्ञान विभागले १७ देखि २० असोजसम्म देशभर विभिन्न स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरे पनि कञ्चनपुरमा तीन दिन पानी नपरेपछि किसानले २० असोजदेखि पाकेको धान काट्न थालेका थिए । तर, २० असोज सोमबार झन्डै साँझ ६ः३० बजेतिर वर्षा सुरु भएर रातभर र मंगलबार दिउँसोसम्मै सिमसिमे वर्षा भएपछि काटेको धान भिजेको हो । केही स्थानमा धानबाली ढलेको छ ।

बेलडाँडी गाउँपालिका– १ झर्नासागरका उदनसिंह रानाले यता पानी नपरेपछि धान काटेको, तर एक्कासि परेपछि १० कट्ठा जमिनको धान भिजेको बताए । उनले भने, ‘पहिले  यता पानी परेको थिएन, हामीले पनि दुई दिनसम्म केही गरेनौँ, भएको धान काट्यौँ, तर भिज्यो, अब सुकाएर पनि काम छैन ।’ 

भीमदत्त नगरपालिका– १२, ऐरीका डिल्लीराज पन्तले जल तथा मौसम विज्ञान विभागले पानी पर्ने पूर्वजानकारीअनुरूप कञ्चनपुरमा १७ असोजदेखि २० दिउँसोसम्मै पानी नपरेपछि पाकेको धान काटेको बताए । उनले केही काटेको धान भिज्यो केही ढलेको छ । गत असारमा अविरल रूपमा परेको वर्षाले दोधाराचाँदनीसहितका  केही स्थानमा भारी वर्षा भएपछि सयौँ घर विस्थापित भएका थिए । तर, कति जमिन क्षेत्रफलमा काटेको धान र ढलेको धानको विवरण स्पष्ट नआएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

वर्षाबाट धान ढलेको भिजेकोबारे  पालिका कृषि शाखालाई विवरण लिन ज्ञान केन्द्रले अनुरोध  गरेको छ । पाकेको धान भित्र्याउने वेला वर्षा भएपछि किसान चिन्तित भएका छन् । 
 

सुझावित समाचार