गौरीटार रंगशाला १६ वर्षपछि निर्माणमा तीव्रता : क्रिकेट मैदान र पौडी पोखरीको बदलिँदै मुहार

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण
  • कुल दुई अर्ब ४२ करोड ६४ लाखको विस्तृत परियोजना रहेको गौरीटार रंगशालामा फुटबल, क्रिकेट र पौडीका अतिरिक्त तेक्वान्दो, कराँते, बक्सिङ, बास्केटबल, लन टेनिसलगायतका खेलका लागि छुट्टाछुट्टै संरचना, प्रशासनिक भवन र खेलाडी छात्रावाससमेत निर्माण गर्ने योजना

१६ वर्षको लामो प्रतीक्षापछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको गौरीटार अन्तर्राष्ट्रिय रंगशालाले गति लिएको छ । वर्षौँदेखि बजेट अभाव, बेवास्ता र स्वामित्व विवादमा फसेको यो परिसर फुटबल रंगशाला, क्रिकेट मैदान र अन्तर्राष्ट्रियस्तरको पौडीपोखरी निर्माणसँगै नयाँ रूप लिन थालेको छ । यद्यपि, सेन्थेटिक ट्र्याक भने अलपत्र छ । रंगाशालाभित्र रहेको फुटबल स्टेडियमको निर्माण सम्पन्न भइसकेको छ । यहाँ राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिताको सफलतापूर्वक आयोजनसमेत भइसकेको छ ।

२८ जेठ २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले भव्य समारोहबिच शिलान्यास गरेको यो आयोजनालाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । भव्य समारोहका बिच शिलान्यास भएर पनि उक्त रंगशाला लामो समयसम्म गुमनाम बनेको थियो । विभिन्न खेलका राष्ट्रिय खेलाडी उत्पादनका लागि आवासीय सुविधासहितको अत्याधुनिक प्रशिक्षण केन्द्र बनाउने सपना बोकेको उक्त रंगशाला निर्माण आयोजना वर्षौँसम्म बजेट अभाव र बेवास्ताको सिकार बनेको थियो ।

शिलान्यास गर्दा पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त रंगशालाको निर्माणमा दुई अर्ब ५० करोड रुपैयाँ लागतको अनुमान थियो । तर, विडम्बना लामो समयसम्म बजेटको निरन्तरता नहुँदा र निर्माण व्यवसायीको सुस्तताले आयोजनाले लामो सयम गति लिन सकेन । सुरुका आठ वर्षमा केवल पाँच करोड रुपैयाँ बजेट पाएको उक्त आयोजना सरकारी उदासीनताले ओझेलमा पर्दै आएको थियो ।

तर, हाल बागमती प्रदेश सरकारले यसलाई गौरवको आयोजनाको रूपमा अघि बढाएसँगै फुटबल स्टेडियम, क्रिकेट मैदान र पौडीपोखरीको निर्माण कार्यले तीव्रता पाएको छ । जसले खेलकुद क्षेत्रमा नयाँ आशा जगाएको देखिन्छ । हुन त संघीयता लागू भएपछि पनि संघ र प्रदेशको स्वामित्व विवादमा फसेर आयोजना चार वर्षसम्म बेवारिसेजस्तै बनेको थियो । ०७६ सालमा बागमती प्रदेश सरकारले स्वामित्व लिएपछि यो अलपत्र आयोजनाले पुनर्जीवन पाएको हो ।

फुटबल मैदान तयार
प्रदेशले यसलाई ‘गौरवको आयोजना’मा समावेश गरी चरणबद्ध रूपमा काम अघि बढाएको छ । सुरुमा फुटबल मैदान र प्यारापिट निर्माणमा ध्यान केन्द्रित गरिएको रंगशालामा हाल फुटबल रंगशालाको प्यारापिट निर्माण कार्य सम्पन्न भइसकेको प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले बताए । प्रदेश सरकारका निवर्तमान युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको तदारुकतामा फुटबल मैदानले पूर्णता पाएपछि आफूहरूले बाँकी रहेको केही व्यवस्थापन र फुटबल मैदान संरक्षणको काम गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार हाल रंगशालापरिसरमा निर्माणको अन्तिम चरणमा रहेको क्रिकेट मैदान र पौडीपोखरीले प्रदेश सरकारको खेलकुद प्रतिको प्राथमिकतालाई थप उजागर गरेको छ । प्रदेश खेलकुद विकास परिषद्मार्फत दुवै संरचना सम्पन्न भइसकेको र मैदानमा बरमुन्डा दुवो लगाउने र संरक्षण गर्ने काम भइरहेको उनले बताए ।

दुई अर्ब ४२ करोडको परियोजना 
कुल दुई अर्ब ४२ करोड ६४ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) रहेको गौरीटार रंगशालामा फुटबल, क्रिकेट र पौडीका अतिरिक्त तेक्वान्दो, कराँते, बक्सिङ, बास्केटबल, लन टेनिसलगायतका खेलका लागि छुट्टाछुट्टै संरचना, प्रशासनिक भवन र खेलाडी छात्रावाससमेत निर्माण गर्ने योजना छ । रंगशाला निर्माणका लागि ३२ करोड ५३ लाखको डिपिआर तयार भएको थियो । हाल पहिलो चरणमा ६ करोड १ लाख ७५ हजारको लागतमा अन्तर्राष्ट्रियस्तरको पौडीपोखरी निर्माण भइसकेको छ । ०८० चैत ३० गते ‘पिएम/एचकेसी/केबिए जेभी’सँग भएको सम्झौताअनुसार १५ महिनाभित्र चार सयजना दर्शक क्षमताको भिआइपी ब्लक, ५० मिटर लामो मुख्य प्रतिस्पर्धा पोखरी र २५ मिटरको तालिम पोखरी निर्माण गरिएको उनले बताए ।

रंगशालाभित्रै ७१ करोड १९ लाखको डिपिआर रहेको क्रिकेट मैदान निर्माणले प्रदेशको खेलकुद क्षेत्रको विकासमा थप टेवा पुग्ने सदस्यसचिव लामाले बताए । एसएनएस/पिएल/एचकेसी जेभीले नौ करोड ४२ लाख ८२ हजारमा ठेक्का लिएर निर्माण गरेको उक्त मैदानमा ६ सय दर्शक क्षमताको प्यारापिट, पाँचवटा पिच, १४० मिटर व्यासको मैदान, खेलाडी चेन्जिङ रुम र भूमिगत ड्रेनेजसहितको संरचना निर्माण गरिएको छ । मैदानमा मिडिया कक्ष, स्कोर बोर्ड, पार्किङलगायतका आधुनिक सुविधा हुनेछन् ।

वर्षौँदेखि जीर्ण बनेको होस्टेल भवनमा हाल युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्को कार्यालय सञ्चालनमा छ । लामो समयको अनिश्चितता र अलपत्र अवस्थापछि निरन्तर लगानी र अनुगमनले रंगशाला निर्माणले लय समातेको प्रदेश सरकारले दाबी गरेको छ । यस आयोजनाले मकवानपुर मात्र नभई समग्र बागमती प्रदेशकै खेलकुद पूर्वाधारमा नयाँ अध्याय सुरु गर्ने विश्वास लिइएको छ ।
 

सुझावित समाचार