१७ असोजदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षाबाट कृषि क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न कृषिमन्त्री डा. मदनप्रसाद परियारले निर्देशन दिएका छन्। संघीय र प्रदेश निकायबाट प्राप्त क्षतिको विवरणहरूको विश्लेषण र प्रतिवेदन तयारीका लागि मन्त्रालयले विशेष संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छ।
आइतबार कृषि क्षेत्रको क्षतिको मूल्यांकन र विश्लेषण गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बैठक बसेको थियो। बैठकमा मन्त्रालयका सचिवहरू, विभागीय प्रमुखहरू, मातहतका आयोजनाका प्रमुखहरू भौतिक रूपमा उपस्थित थिए भने प्रदेशका कृषि मन्त्रालयका सचिवहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।
बैठकमा विगत केही दिनदेखि भइरहेको वर्षाबाट कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा पुगेको क्षतिको अवस्थाबारे विस्तृत छलफल गरिएको मन्त्रालयले जनाएको छ। छलफलका क्रममा मन्त्रालय र मातहत निकायहरूको प्रस्तुतिबाट भौतिक संरचना, सम्पत्ति र जमिनमा पुगेको क्षतिको विवरण लिइएको थियो।
प्रदेशका प्रतिनिधिहरूले धान, तरकारी, फलफूल, माछापोखरी, पशुपन्छी, कृषि जमिन तथा पूर्वाधारहरूमा भएको प्रारम्भिक क्षतिको विवरण प्रस्तुत गरेका थिए। बैठकले एक हप्ताभित्र प्रदेशस्तरबाट विस्तृत क्षतिको विवरण संकलन गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिएको छ। सो कार्यमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतका जिल्लास्तरीय कार्यालयहरूले समन्वय र सहजीकरण गर्नेछन्।
त्यस्तै, अविरल वर्षापछि पशुपन्छीहरूमा देखिन सक्ने सम्भावित महामारीको रोकथामका लागि पशु सेवा विभागले खोप तथा अन्य प्राविधिक व्यवस्था मिलाउने निर्णय पनि गरिएको मन्त्रालयले जनाएको छ।