चाडपर्व र जाडोका सामग्री बोकेका एक हजार कन्टेनर चिनियाँ क्षेत्रमै

तीन सय चिनियाँ कन्टेनर फलफूल खरिद गरेर ल्याइएकोमा ३० कन्टेनर मात्रै नेपाल भित्रिए

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

उत्तरी नाका हुँदै दसैँ र जाडोका लागि नेपाल ल्याइँदै गरेका झन्डै एक हजार कन्टेनर सामान चीनतर्फ नै रोकिएका छन् । नेपाल– चीन सीमाको भूबनोट र प्राकृतिक विपत्तिजन्य अवरोधले चिनियाँ क्षेत्रमै सामानहरू रोकिएका हुन् । खासगरी दसैँ, तिहार र जाडो मौसमका लागि आवश्यक रेडिमेड, इलेक्ट्रोनिक्स र फलफूलजन्य सामग्रीहरू ७५ प्रतिशत चिनियाँ क्षेत्रमै अड्किएको व्यवसायीले बताएका छन् ।

आयात गरिएकामध्ये २० प्रतिशत फलफूल नेपाल भित्रिएका छन् । करिब १० प्रतिशत फलफूल कन्टेनरभित्र कुहिएकाले मिल्काइएको छ । तीन सय चिनियाँ कन्टेनर फलफूल खरिद गरेर ल्याइएकोमा ३० कन्टेनर मात्रै नेपाल भित्रिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्यसमेत रहेका स्याउ व्यापारी शारदाप्रसाद पराजुलीले बताए । खासाबाट कम गाडी छाडेकाले फलफूलमा आँप लगभग सबै कुहिएको उनको भनाइ छ ।

दसैँका लागि ल्याइएका कपडा र जुत्ता–चप्पलजन्य रेडिमेड, तिहारमा प्रयोग हुने इलेक्ट्रोनिक्स र जाडो मौसमका लागि खरिद गरिएको ज्याकेट, कम्बल र ब्ल्यांकेट बोकेका एक हजार कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन् । यसरी सामग्री रोकिनुमा नेपालतर्फ रसुवा र तातोपानी नाकाको भौगोलिक कठिनाइ मुख्य अवरोध हो । त्यसैगरी, नेपालतर्फ समस्या देखाएर चिनियाँ क्षेत्रमा भन्सारले गरेको ढिलाइ सहायक कारण हो । २४ असारदेखि रसुवा नाका बन्द छ ।

यता तातोपानी नाका पनि साउन पहिलो साताबाट पहिरोले करिब दुई महिना अवरुद्ध हुँदा चाडपर्वलक्षित सामग्री आयात हुन सकेन । पहिरो पन्छाउँदै पास भएका केही कन्टेनर रेडिमेड सामग्री राजधानी ल्याइएको छ । कोदारी सडक सञ्चालनमा रहे तापनि यसको जीर्ण अवस्थाले सवारीसाधन आवतजावत नियमित छैन । दिनहुँ भइरहेको वर्षाले कोदारीको डाक्लाङमा फेरि पहिरो गएकाले सवारीसाधन आवतजावत रोकिएको तातोपानी भन्सारका सूचना अधिकृत रमेशबहादुर शाहले जानकारी दिए । चाडबाडलक्षित सामग्री आयात बढाउन चिनियाँ पक्षसँग कुरा भएर दैनिक २० कन्टेनर तातोपानी आइरहेको उनले बताए । ‘खासामा भन्सार, अध्यागमन र स्थानीय सरकारबिच छलफल गरेपछि केही दिनदेखि कन्टेनर संख्या बढाइएको हो,’ उनले भने ।

चिनियाँ सहरबाट नेपालका लागि खरिद गरिएका सामग्री ल्हासा, सिँगात्से, मिम्बु, न्यालम र खासामा जाम भएका छन् । मुसा, राखेमा, आरके, आडो र सिल्क ट्रान्सपोर्ट कम्पनीका गोदाम भरिएकाले राख्ने ठाउँ छैन ।

खासाबाट २० किलोमिटरमाथि न्यालम, सय किलोमिटर टाढा मिम्बु र चार सय ५० किलोमिटर दूरीमा रहेको सिँगात्से सहरका सबै गोदाम भरिभराउ भएका छन् । अक्टोबर एक तारिखबाट लागू हुने गरी चिनियाँ कस्टमले नेपाल निर्यात हुने सामग्रीमा दुई प्रतिशत कर लिन सुरु गरेकाले पनि ट्रान्सपोर्ट कम्पनीहरू सामग्री ढुवानी गर्न द्विविधामा परेका छन् । करको भार कसले व्यहोर्ने भन्ने विषयमा व्यापारी र ट्रान्सपोर्ट कम्पनीबिच समझदारी बनेको छैन ।

चिनियाँ पक्षले मौखिक दुई प्रतिशत र कागजी रूपमा २५ प्रतिशत कर बढाएको भनेर भन्सार डकुमेन्टमा लेखेकाले ट्रान्सपोर्ट कम्पनीहरू अलमलमा परेको आडो ट्रान्सपोर्ट कम्पनीले नयाँ पत्रिकालाई जानकारी दिएको छ ।

See More On

सुझावित समाचार