बाढीपहिरोले पूर्वका १०५.४ मेगावाटका १३ आयोजना बन्द

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण
बाढीपहिरोले पूर्वका १०५.४ मेगावाटका १३ आयोजना बन्द

बाढीले बगाएको इलामको जोगमाई खोला हाइड्रोपावर

बाढीपहिरोले पूर्वी पहाडी जिल्लाका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार १९ असोजसम्मको प्रारम्भिक तथ्यांकअनुसार हालसम्म सञ्चालित १०५.४ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना बाढीका कारण उत्पादन बन्द भएका छन् ।

त्यस्तै, ९३ मेगावाट क्षमताका पाँच निर्माणाधीन आयोजना पनि क्षतिग्रस्त भएका छन् । इप्पानका अनुसार प्रभावित आयोजना मुख्यतः पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र सिन्धुपाल्चोकमा रहेका छन् । तीमध्ये इलाममा मात्रै ११ वटा सञ्चालनमा रहेका आयोजना पूर्ण रूपमा बन्द भएका छन् ।

विद्युत् आयोजनाहरू बन्द भए पनि विद्युत् आपूर्तिमा ठुलो समस्या नआउने ऊर्जामन्त्री कुलमान घिसिङले बताए । उनले भने, ‘अहिले हाम्रो विद्युत् आपूर्तिमा केही ठाउँमा समस्या आएको छ । कतै डुबानका कारण वितरण अवरुद्ध भएको छ भने कतै पोल ढलेका छन् । त्यसले केही क्षेत्रमा सेवा प्रभावित गरेको हो, तर ठुलो समस्या छैन ।’ आइतबार बिहानैदेखि प्राविधिक टोलीहरू मर्मतकार्यमा परिचालित भइरहेको उनले बताए । केही टावरहरूमा क्षति पुगेको भए पनि त्यसले ठुलो अवरोध सिर्जना नगरेको उनले स्पष्ट पारे । ‘मुख्य समस्या केही स्थानमा पोल ढलेका कारण भएको हो । ती सबै ठाउँमा आजभित्र (आइतबार) मर्मतकार्य सम्पन्न गर्ने योजना छ,’ घिसिङले भने ।

उनका अनुसार अहिले नेपालको विद्युत् उत्पादन क्षमता करिब चार हजार मेगावाट पुगेको छ । यसमा करिब एक हजार दुई सयदेखि एक हजार तीन सय मेगावाट निर्यात गर्न सकिने अवस्था छ । ‘धेरैजसो पावर प्लान्ट सञ्चालनमा छन् । केहीमा साना समस्या आएका भए पनि ती अस्थायी हुन् । दैनिक लोडसेडिङ हुने अवस्था छैन,’ उनले स्पष्ट पारे । घिसिङले हालको खपत पनि तुलनात्मक रूपमा कम भएकाले आपूर्तिमा ठुलो असर नपर्ने बताए । ‘कतिपय स्थानमा मौसम र लाइन मर्मतका कारण आपूर्ति आउजाउ हुन सक्छ, तर त्यो सामान्य प्रक्रिया हो,’ उनले भने ।

मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीले क्षति भएका पोल र लाइनको पहिचान गरेर शीघ्र रूपमा मर्मतकार्य अघि बढाइरहेको उनले जनाए । उनका अनुसार तीव्र रूपमा सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा पुनस्र्थापित गरिने योजना छ ।

०८२ असोज १९ गते दुई बजेसम्म स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानलाई प्राप्त प्रारम्भिक तथ्यांकअनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द छ भने निर्माणाधीन अवस्थाका ९३ मेगावाटका पाँच आयोजनामा बाढीले क्षति पु¥याएको छ। 

सञ्चालनमा रहेका आयोजनामध्ये माईखोला, माईखोला क्यासकेड, माईखोला, सुपरमाई, सुपरमाई ए, जोगमाई, तल्लो जोगमाई, माइबेनी र माथिल्लो माईखोलालगायतका आयोजना बाढीपहिरो र संरचनागत क्षतिका कारण रोकिएका छन् । यी आयोजनामा हेडवक्र्स, पावरहाउस, प्रसारणलाइन, सबस्टेसन, टेलरेस र इन्टेकजस्ता संरचनाहरूमा ठुलो क्षति पुगेको इप्पानले जनाएको छ । हिमाल दोलखा हाइड्रोपावरद्वारा सञ्चालित माईखोला र माईखोला क्यासकेड, सानिमा माई हाइड्रोपावरको माईखोला, सुपरमाई हाइड्रोपावर कम्पनीको सुपरमाई, सगरमाथा जलविद्युत् कम्पनीको सुपरमाई ए, सानभी इनर्जीको जोगमाई र तल्लो जोगमाई, सामलिङ पावर कम्पनीको माइबेनी, पञ्चकन्या माई हाइड्रोपावरको माथिल्लो माईखोला र माईभ्याली हाइड्रोपावरको माई सी क्यासकेडजस्ता आयोजना अहिले पूर्ण रूपमा बन्द छन् ।

त्यस्तै, निर्माणाधीन अवस्थामा रहेका पाँच आयोजनामध्ये पाँचथरको सभाखोला बी र हेवाँखोला, इलामको सिद्धिखोला र सिन्धुपाल्चोकका ब्रह्मायणी तथा अपर ब्रह्मायणी हाइड्रोपावर बाढीले क्षतिग्रस्त भएका छन् । यी आयोजनामा एक्सेस रोड, हेडवक्र्स, पावरहाउस, निर्माण क्याम्प र सामग्री बगाएको इप्पानले जनाएको छ ।

इप्पानका अनुसार ती आयोजनामा क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ । निरन्तर वर्षाका कारण सडक तथा विद्युत् प्रसारण पूर्वाधारसमेत क्षतिग्रस्त भएकाले मर्मत र पुनः सञ्चालनमा केही समय लाग्ने अनुमान गरिएको छ । ऊर्जा उत्पादनमा आएको अवरोधले राष्ट्रिय ग्रिडमा आपूर्ति हुने विद्युत् परिमाण घट्ने र यसले आगामी दिनमा लोड म्यानेजमेन्टमा असर पार्न सक्ने इप्पानले जनाएको छ ।

यी हुन् प्रभावित आयोजना

सुझावित समाचार