रेकर्डब्रेक वर्षासँगै इलाममा पहिरोले तहसनहस : ३७ को मृत्यु, एक बेपत्ता, २० घाइते

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण
रेकर्डब्रेक वर्षासँगै इलाममा पहिरोले तहसनहस : ३७ को मृत्यु, एक बेपत्ता, २० घाइते

इलामको माइजोगमाई गाउँपालिका– ३ काफ्लेगाउँको पहिरो ।

वडा कार्यालयले जस्तापाता सहयोग गरेपछि इलाम देउमाई नगरपालिका– ५, ढुसेनीका ३० वर्षीय दीपक लिम्बूले ६ महिनाअघि मात्रै नयाँ घर बनाएका थिए । तर, नयाँ घरमा खुसीका साथ ६ महिना पनि बस्न पाएनन् ।

वर्षासँगै शनिबार रातिको पहिरोले उनको नयाँ घरसँगै परिवार नै लग्यो । दीपकसँगै उनकी २७ वर्षीया श्रीमती ऋषिका र १० वर्षीया छोरी लिपिस्का तथा पाहुना आएका पाँचथर फाक्तेपका नौ वर्षीय बालक सौजन र ११ वर्षीय सौगात लिम्बूको ज्यान गयोे । पाहुना आएकी एक बालिकालाई भने घाइते अवस्थामा उद्धार गरिएको देउमाई– ५ का वडाध्यक्ष तिलकबहादुर हेम्जनले बताए । ‘परिवारलाई राम्रो घरमा राख्ने भनेर दीपकले घर बनाएको ६ महिना पनि भएको थिएन । हामी (वडा कार्यालय)ले नै जस्तापाता सहयोग गरेका थियौँ । तर, नयाँ घरमा पहिलो दसैँ पनि राम्ररी मानिसक्न नपाउँदै परिवारकै ज्यान गुम्यो,’ उनी भन्छन्, ‘घरमाथिको बाँसको झ्याङ नै खसेर घर भत्काउँदा परिवारकै मृत्यु भएछ । घरमा आएका दुईजना पाहुना बालक पनि बिते । उनीहरूलाई शनिबार नै घर पठाउने तयारी रहेछ । तर, बालकहरूले जान मानेनछन् ।’

दीपकको घर राति करिब २ बजे पहिरोले पु¥यो । वडाध्यक्ष हेम्जनलाई ३ बजे राति नै फोन आएको थियो । तर, बाटोका कारण उनी ७ बजे मात्र पुगे । ‘आवाज ठुलो आएपछि छिमेकीले हेर्दा घर पुरेको रहेछ । त्यसपछि मलाई फोन आयो । बाटो सबै बिग्रिएका कारण हिँडेर जान मलाई दुई घण्टा लाग्यो,’ उनले भने, ‘यहाँ पहिरो जाला भन्ने त अनुमान पनि गरिएको थिएन । तर, बाँसको झ्याङसहित पहिरो खस्दा यही घरलाई मात्र क्षति भएको छ ।’

देउमाई– ५ कै डाँडेमा दुईजनाले ज्यान गुमाएका छन् । राति सुतिरहेको अवस्थामा २२ वर्षीय रोशन लिम्बू र उनकी श्रीमती बेबिशा लिम्बूको ज्यान गएको वडाध्यक्ष हेम्जमले बताए । ‘उनीहरूको विवाह भएको एक वर्ष नहुँदै दुवैजनाले पहिरोमा ज्यान गुमाए । घरमा दुईजना मात्र रहेछन्,’ वडाध्यक्ष हेम्जम भन्छन्, ‘बुबाआमा पाहुना गएकाले उहाँहरू जोगिनुभयो । साह्रै दुःखद घटना भयो ।’ रातको समय भएका कारण पहिरोमा परी ज्यान गुमाएको उनी बताउँछन् । ‘रातको समयमा निदाएको वेला पहिरो आयो । कतै भाग्न पनि नपाई ज्यान गयो,’ उनी भन्छन् ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले पनि नसोचेको विपत आइपरेको बताए । उनले माङसेबुङ– १ स्थित पाटीगाउँमा पहिरोले तीनजनाको ज्यान गएको बताए । यस्तै, गजुरमुखीमा देउमाई नदीले १३ घर बगाएको बताए । ‘खासै जोखिम आकलन नगरेको ठाउँमा पहिरोले मान्छे पु¥यो,’ उनले भने, ‘देउमाईमा पहिला पनि बाढी आउँथ्यो । तर, यति ठुलो आएको थिएन । १३ वटा घर बगाएको छ ।’

इलाममा मात्रै ३७ जनाले ज्यान गुमाए
शनिबार दिउँसोदेखिको वर्षापछि पहिरोमा परी इलाममा ३७ जनाले ज्यान गुमाएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । एकजना बेपत्ता छन् । २० जना घाइते भएका छन् । देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा आठ–आठजना, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जना, सूर्योदय नगरपालिकामा पाँचजना, माङसेबुङ गाउँपालिकामा तीनजना र फाकफोकथुम गाउँपालिकामा एकजना गरी ३७ जनाले ज्यान गुमाएको प्रजिअ नेपालले बताइन् ।

घाइते २० मध्ये तीनजनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । नौजना स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएको उनले बताइन् । सूर्योदय नगरपालिकामा पाँचजना घाइतेको उद्धार गर्न नसकिएको उनले बताइन् । खराब मौसमका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न असम्भव भएको प्रजिअ नेपालको भनाइ छ । ‘आइतबार उद्धार गर्न सकिएन । उहाँहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बाटोका कारण गाडीबाट उद्धार गर्ने अवस्था छैन,’ उनले भनिन्, ‘सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिनेछ । मौसम सफा भएन भने सुरक्षाकर्मीले बोकेर भए पनि उपचारका लागि लैजानुहुनेछ ।’

दसैँको समय भएकाले इलामबाहिरबाट इलाममा आएका पाहुनाको पनि मृत्यु भएको उनले बताइन् । ‘सबै विवरण त आइसकेको छैन । तर, मृत्यु हुनेमा इलामबाहिरका पनि छन्,’ उनले भनिन्, ‘दसैँको समयमा पाहुना आएकाहरूको पहिरोमा परी मृत्यु भएको पाइएको छ ।’ रातको समयमा पहिरो आएका कारण पनि मानवीय क्षति धेरै भएको उनी बताउँछिन् । ‘यत्तिको क्षति राति केही घण्टा पानी आउँदा भएको हो । रातको समयमा भएका कारण निद्रामा परेकाहरूलाई घरसँगै पहिरोले बगाएको छ,’ प्रजिअ नेपालले भनिन् ।

सिडिओ नेपालले भने पूर्वसूचना र जानकारी पालिकामार्फत सबै जोखिमयुक्त ठाउँमा पठाइएकोे बताइन् । यसपटक भने पूर्वानुमान गरिएको ठाउँमा भन्दा विपत जोखिम आकलन नै नगरिएको ठाउँमा बढी क्षति भएको उनको भनाइ छ । ‘पूर्वानुमान गरिएको ठाउँमा नागरिकलाई राति बस्न दिएनौँ । सचेत गराउने काम पनि भएको हो । तर, पूर्वानुमान गरिएको ठाउँमा खासै केही भएन,’ उनले भनिन्, ‘हामीले पूर्वानुमान नगरेको ठाउँमा विपत आयो । पहाडी जिल्ला भएका कारण पनि मानवीय क्षति धेरै भयो ।’ सबै सुरक्षा निकाय मानवीय क्षति भएको ठाउँमा उद्धारमा खटिएका कारण सडक र अन्य भौतिक क्षतिको विवरण आइनसकेको उनले बताइन् । केही परिवार विस्थापित भएको जानकारी आएको, तर पूरा विवरण आइनसकेको उनको भनाइ छ । विस्थापितहरूलाई स्थानीय तहमार्फत सुरक्षित स्थानमा राखिएको प्रजिअ नेपालले जानकारी दिइन् ।

कोशीका बाढीपहिरोमा ४३ जनाको मृत्यु 
बाढीपहिरोमा परी कोशी प्रदेशमा शनिबार राति र आइतबार गरेर ४३ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा १५ जना पुरुष, १७ महिला, तीन बालक र आठ बालिका रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ३७ जना रहेका छन् । जसमा १३ पुरुष, १४ महिला, तीन बालक र सात बालिका रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले बताए । बाढीपहिरोमा परी मृत्यु हुनेमा पाँचथरमा दुई, उदयपुरमा दुईजना, मोरङमा एकजना र खोटाङमा एकजना रहेको प्रहरीले जनाएको छ । यस्तै, बाढीपहिरोमा परी पाँच महिला र पाँच पुरुष गरी १० जना घाइते भएको प्रहरीले जनाएको छ । एकजना बेपत्ता रहेका छन् । बाढीपहिरोमा फसेका ५३२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

सुझावित समाचार