दसैँलगत्तैको बाढीपहिरोका कारण पूर्वी नेपालमा ठुलो मानवीय क्षति भएको छ । काठमाडौं उपत्यकासहित मध्य नेपाल पनि उच्च जोखिममा रहेको आकलन गरिएको थियो, तर तत्कालका लागि जोखिम टरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार शनिबार बिहानदेखि आइतबार बेलुकासम्म बाढी, पहिरो, चट्याङ तथा दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता भएका छन् । जसमध्ये ४८ को मृत्यु कोशी प्रदेशमा भएको हो । काठमाडौं उपत्यका र आसपासका जिल्लामा पनि भारी वर्षाको पूर्वानुमान गरेर उच्च सतर्कता अपनाइए पनि तुलनात्मक रूपमा कम क्षति भएको छ । सबैभन्दा ठुलो क्षति इलाममा भएको छ । जहाँ ३७ जनाले ज्यान गुमाएका छन् । मनसुनको सेन्टरलाइन परेकाले इलाममा धेरै वर्षा हुँदा ठुलो क्षति भएको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम विश्लेषक ङमिन्द्र दाहाल मध्य नेपालमा मनसुनको सेन्टरलाइन (केन्द्र रेखा) महाभारतभन्दा तलतिर रहेकाले काठमाडौंसहित पहाडी क्षेत्रमा शान्त भइसकेको अवस्थाको पानी परेको, तर त्यही केन्द्र रेखा पूर्वी नेपालमा पहाडतिर पर्न गएकाले घना पानी परेर क्षति धेरै भएको बताउँछन् । ‘मध्य नेपालमा मनसुनको केन्द्र रेखा महाभारतभन्दा दक्षिणतिर रहेकाले चुरे र तराई–मधेशमा भीषण पानी प¥यो, त्यो पानी सजिलै निकास भयो । तर, मकवानपुर, काठमाडौं, काभ्रेलगायत क्षेत्रमा लगातार पानी परे पनि भीषण पानी पर्न सकेन,’ दाहालले भने, ‘पोहोर असोजमा महाभारत उत्तरी भूभागमा धेरै वर्षा भएको थियो । काभ्रे र काठमाडाैं उपत्यकावरपर धेरै ठाउँमा आरीघोप्टे वर्षा (क्लाउड ब्रस्ट) भएको थियो, जुन यसपालि भएन ।’
काठमाडौंलगायत क्षेत्रमा शनिबार राति भीषण वर्षा गराउने आकलन गरिए पनि न्यूनचापीय प्रणाली पूर्वी नेपालतिर सरेको थियो । जसकारण मधेश र कोशीमा भीषण वर्षा भयो भने कोशीको इलामलगायत क्षेत्रमा पहिरोको विपत्ति निम्तियो । मनसुनी आँधी मध्यबाट पूर्वी नेपालतिर सर्दा नेपालको भूगोल आग्नेय दिशातिर मोडिएका कारण घना बादल महाभारतभन्दा उत्तरतिर हुँदै जाने हुनाले कोशी पहाडले ठुलो विपत्को सामना गर्नुपर्ने पूर्वसंकेत प्राप्त भइसकेको छ ।
सरकारले काठमाडौं उपत्यकासँग जोडिएका तीनवटा राजमार्गमा शनिबार नै यातायात सञ्चालनमा रोक लगाउनुका साथै जोखिममा रहेका नदीछेउका बस्तीका बासिन्दालाई विद्यालयमा सारेर राम्रो काम गरेको जल तथा मौसम विश्लेषक दाहालले बताए । ‘तर, सरकारको तयारी पूर्वी नेपालमा केन्द्रित हुन सकेन । त्यहाँका बस्ती पहिरोको जोखिमयुक्त ठाउँमा छन् । भूगर्भ विभागलगायतका निकाय सक्रिय हुनुपथ्र्याे त्यो भएन,’ उनले भने ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराज जोशी समयमै पूर्वानुमान, आमनागरिकसमम्म सूचनाप्रवाह र राज्यका अंगबिच समन्वय एवं एकद्वार प्रणालीबाट काम हुँदा बाढीबाट मानवीय क्षति टरेको बताउँछन् । तर, पहिरो पूर्वानुमानको संयन्त्र नभएको र एकैपटक ठुलो पानी पर्दा इलामलगायत क्षेत्रमा क्षति भएको उनले बताए । ‘शनिबार राति काठमाडौंमा पिक हुन्छ भनेका थियौँ । तर, राति १२ बजे नै सिस्टम पूर्वतिर सिफ्ट भयो, जसकारण उपत्यकामा २४ घण्टामा २०० मिलिमिटरसम्म पनि पानी पर्न पाएन, यसले जोगायो । इलामलगायत क्षेत्रमा ३०० मिलिमिटरमाथि पानी पर्दा ठुलो क्षति भयो । त्यहाँबाट पनि पाँच घण्टाअघि नै बाहिरियो,’ उनले भने, ‘ ‘हामीले अनुमान गरेभन्दा पाँच घन्टा अघि नै प्रणाली बाहिरियो, जसकारण पूर्वी नेपालमा आइतबार अनुमान गरिएको वर्षा ट¥यो,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले भने, ‘काठमाडौंसहित मध्य नेपालबाट पनि शनिबार राति २ बजेपछि प्रणाली पूर्व लाग्ने ठानेका थियौं, १२ बजे नै सिफ्ट हुँदा यस क्षेत्रमा राति ठुलो पानी पर्न पाएन, जुन खुसीको कुरा हो । अब हिजोअस्तीजस्तो ठुलो वर्षा हुने सम्भावना देखिँदैन ।’
रौतहटको महेशपुरमा ३५८ मिलिमिटर वर्षा, चार स्टेसनमा रेकर्ड ब्रेक
२४ घण्टा शनिबार बिहानदेखि आइतबार बिहानसम्म सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुरमा ३५८ मिलिमिटर भएको छ । जुन अत्यधिक धेरै वर्षा हो । तर, यो स्टेसन दुई वर्षअघि मात्र राखिएकाले जल तथा मौसम विज्ञान विभागले त्यहाँका लागि अहिलेसम्मकै धेरै हो, होइन भनेर प्रस्ट पारिसकिएको छैन ।
यद्यपि, यो अवधिमा इलामको हिमाली गाउँ, रौतहटको गौर, पर्साको वीरगन्ज र इलामकै इलाम टी–इस्टेट स्टेसनमा अहिलेसम्मकै धेरै वर्षा मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाईंले बताए । शनिबार बिहानदेखि आइतबार बिहानसम्म इलामको हिमाली गाउँमा ३३२.६, गौरमा ३१५, वीरगन्जमा २९४.५ र इलाम टी–इस्टेट केन्द्रमा २८०.२ मिलिमिटर वर्षा मापन भएको छ । यसअघि हिमाली गाउँमा १५ जुलाई १९८३ मा ३२०.६, गौरमा १३ सेप्टेम्बर २०१२ मा ३०१.५, वीरगन्जमा १ अगस्ट १९८७ मा २८२.८ र इलाम टी–इस्टेटमा १० अगस्ट १९९७ मा २७३.२ मिलिमिटर वर्षा नै अहिलेसम्मकै अधिक थियो । तर, यी चारवटै केन्द्रमा अहिलेसम्मकै धेरै वर्षा रेकर्ड भएको हो ।
विभागका अनुसार गत २४ घण्टाको वर्षाको विवरणअनुसार १८६ वटा केन्द्रमा वर्षा भएको छ । वर्षा मापन भएका केन्द्रमध्ये १०५ मा ५० मिमिभन्दा बढी, ६८ वटामा १०० मिमिभन्दा बढी, २१ वटामा २०० मिमिभन्दा बढी र पाँचवटा केन्द्रमा ३०० मिमिभन्दा बढी वर्षा मापन भएको छ ।
राहतका लागि इलाममा ७० लाख निकासा
पहिरोबाट सबैभन्दा बढी प्रभावित इलाममा तत्काल आवश्यक राहतका ७० लाख निकासा भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले अन्य प्रभावित जिल्लाको विपत् कोषमा पर्याप्त रकम रहेकाले तत्काल निकासा नभएको, तर इलामका हकमा ७० लाख निकासा भएको बताइन् । ‘यो रकम तत्काल आवश्यक पर्ने राहतका लागि हो । जिल्लाबाट सम्बन्धित पालिकाका विपत् व्यवस्थापन कोषमा जान्छ,’ उनले भनिन्, ‘आवश्यक परेमा संघबाट थप रकम जान्छ ।’
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टको अध्यक्षतामा आइतबार बसेको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डबमोजिम (प्रतिपरिवार दुई लाख, एकै परिवारबाट एकभन्दा बढीको मृत्यु भएकाको हकमा थप एक लाखका दरले) तत्काल राहत उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपत्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिको खोज, उद्धार, राहत तथा पुनस्र्थापना कार्यलाई निरन्तरता दिने निर्णय भएको प्रवक्ता महतले बताइन् । ‘विपत्जन्य घटनाबाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसंख्या तथा क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी राष्ट्रिय विपत्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ,’ उनले भनिन्, ‘विपत् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनस्र्थापनासम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गरेका छौँ ।’
प्राधिकरणले अवरुद्ध सडकहरूको मर्मत–सम्भार गरी तत्काल सडक सूचारु गर्न, अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारीसाधन तथा छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनहरूको हकमा स्थानीयस्तरको विपत् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तरजिल्ला समन्वयमा आवागमन सुचारु गर्न र अवरुद्ध खानेपानी, विद्युत्, सञ्चारलगायतका अत्यावश्यक सेवा सञ्चालन गर्न पनि सम्बन्धित निकायलाई भनेको छ ।
रेकर्डब्रेक वर्षासँगै इलाममा पहिरोले तहसनहस
वडा कार्यालयले जस्तापाता सहयोग गरेपछि इलाम देउमाई नगरपालिका– ५, ढुसेनीका ३० वर्षीय दीपक लिम्बूले ६ महिनाअघि मात्रै नयाँ घर बनाएका थिए । तर, नयाँ घरमा खुसीका साथ ६ महिना पनि बस्न पाएनन् ।
वर्षासँगै शनिबार रातिको पहिरोले उनको नयाँ घरसँगै परिवार नै लग्यो । दीपकसँगै उनकी २७ वर्षीया श्रीमती ऋषिका र १० वर्षीया छोरी लिपिस्का तथा पाहुना आएका पाँचथर फाक्तेपका नौ वर्षीय बालक सौजन र ११ वर्षीय सौगात लिम्बूको ज्यान गयोे । पाहुना आएकी एक बालिकालाई भने घाइते अवस्थामा उद्धार गरिएको देउमाई– ५ का वडाध्यक्ष तिलकबहादुर हेम्जनले बताए । ‘परिवारलाई राम्रो घरमा राख्ने भनेर दीपकले घर बनाएको ६ महिना पनि भएको थिएन । हामी (वडा कार्यालय)ले नै जस्तापाता सहयोग गरेका थियौँ । तर, नयाँ घरमा पहिलो दसैँ पनि राम्ररी मानिसक्न नपाउँदै परिवारकै ज्यान गुम्यो,’ उनी भन्छन्, ‘घरमाथिको बाँसको झ्याङ नै खसेर घर भत्काउँदा परिवारकै मृत्यु भएछ । घरमा आएका दुईजना पाहुना बालक पनि बिते । उनीहरूलाई शनिबार नै घर पठाउने तयारी रहेछ । तर, बालकहरूले जान मानेनछन् ।’
दीपकको घर राति करिब २ बजे पहिरोले पु¥यो । वडाध्यक्ष हेम्जनलाई ३ बजे राति नै फोन आएको थियो । तर, बाटोका कारण उनी ७ बजे मात्र पुगे । ‘आवाज ठुलो आएपछि छिमेकीले हेर्दा घर पुरेको रहेछ । त्यसपछि मलाई फोन आयो । बाटो सबै बिग्रिएका कारण हिँडेर जान मलाई दुई घण्टा लाग्यो,’ उनले भने, ‘यहाँ पहिरो जाला भन्ने त अनुमान पनि गरिएको थिएन । तर, बाँसको झ्याङसहित पहिरो खस्दा यही घरलाई मात्र क्षति भएको छ ।’
देउमाई– ५ कै डाँडेमा दुईजनाले ज्यान गुमाएका छन् । राति सुतिरहेको अवस्थामा २२ वर्षीय रोशन लिम्बू र उनकी श्रीमती बेबिशा लिम्बूको ज्यान गएको वडाध्यक्ष हेम्जमले बताए । ‘उनीहरूको विवाह भएको एक वर्ष नहुँदै दुवैजनाले पहिरोमा ज्यान गुमाए । घरमा दुईजना मात्र रहेछन्,’ वडाध्यक्ष हेम्जम भन्छन्, ‘बुबाआमा पाहुना गएकाले उहाँहरू जोगिनुभयो । साह्रै दुःखद घटना भयो ।’ रातको समय भएका कारण पहिरोमा परी ज्यान गुमाएको उनी बताउँछन् । ‘रातको समयमा निदाएको वेला पहिरो आयो । कतै भाग्न पनि नपाई ज्यान गयो,’ उनी भन्छन् ।
माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले पनि नसोचेको विपत आइपरेको बताए । उनले माङसेबुङ– १ स्थित पाटीगाउँमा पहिरोले तीनजनाको ज्यान गएको बताए । यस्तै, गजुरमुखीमा देउमाई नदीले १३ घर बगाएको बताए । ‘खासै जोखिम आकलन नगरेको ठाउँमा पहिरोले मान्छे पु¥यो,’ उनले भने, ‘देउमाईमा पहिला पनि बाढी आउँथ्यो । तर, यति ठुलो आएको थिएन । १३ वटा घर बगाएको छ ।’
इलाममा मात्रै ३७ जनाले ज्यान गुमाए
शनिबार दिउँसोदेखिको वर्षापछि पहिरोमा परी इलाममा ३७ जनाले ज्यान गुमाएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । एकजना बेपत्ता छन् । २० जना घाइते भएका छन् । देउमाई नगरपालिका र माइजोगमाई गाउँपालिकामा आठ–आठजना, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जना, सूर्योदय नगरपालिकामा पाँचजना, माङसेबुङ गाउँपालिकामा तीनजना र फाकफोकथुम गाउँपालिकामा एकजना गरी ३७ जनाले ज्यान गुमाएको प्रजिअ नेपालले बताइन् ।
घाइते २० मध्ये तीनजनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । नौजना स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएको उनले बताइन् । सूर्योदय नगरपालिकामा पाँचजना घाइतेको उद्धार गर्न नसकिएको उनले बताइन् । खराब मौसमका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न असम्भव भएको प्रजिअ नेपालको भनाइ छ । ‘आइतबार उद्धार गर्न सकिएन । उहाँहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बाटोका कारण गाडीबाट उद्धार गर्ने अवस्था छैन,’ उनले भनिन्, ‘सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिनेछ । मौसम सफा भएन भने सुरक्षाकर्मीले बोकेर भए पनि उपचारका लागि लैजानुहुनेछ ।’
दसैँको समय भएकाले इलामबाहिरबाट इलाममा आएका पाहुनाको पनि मृत्यु भएको उनले बताइन् । ‘सबै विवरण त आइसकेको छैन । तर, मृत्यु हुनेमा इलामबाहिरका पनि छन्,’ उनले भनिन्, ‘दसैँको समयमा पाहुना आएकाहरूको पहिरोमा परी मृत्यु भएको पाइएको छ ।’ रातको समयमा पहिरो आएका कारण पनि मानवीय क्षति धेरै भएको उनी बताउँछिन् । ‘यत्तिको क्षति राति केही घण्टा पानी आउँदा भएको हो । रातको समयमा भएका कारण निद्रामा परेकाहरूलाई घरसँगै पहिरोले बगाएको छ,’ प्रजिअ नेपालले भनिन् ।
सिडिओ नेपालले भने पूर्वसूचना र जानकारी पालिकामार्फत सबै जोखिमयुक्त ठाउँमा पठाइएकोे बताइन् । यसपटक भने पूर्वानुमान गरिएको ठाउँमा भन्दा विपत जोखिम आकलन नै नगरिएको ठाउँमा बढी क्षति भएको उनको भनाइ छ । ‘पूर्वानुमान गरिएको ठाउँमा नागरिकलाई राति बस्न दिएनौँ । सचेत गराउने काम पनि भएको हो । तर, पूर्वानुमान गरिएको ठाउँमा खासै केही भएन,’ उनले भनिन्, ‘हामीले पूर्वानुमान नगरेको ठाउँमा विपत आयो । पहाडी जिल्ला भएका कारण पनि मानवीय क्षति धेरै भयो ।’ सबै सुरक्षा निकाय मानवीय क्षति भएको ठाउँमा उद्धारमा खटिएका कारण सडक र अन्य भौतिक क्षतिको विवरण आइनसकेको उनले बताइन् । केही परिवार विस्थापित भएको जानकारी आएको, तर पूरा विवरण आइनसकेको उनको भनाइ छ । विस्थापितहरूलाई स्थानीय तहमार्फत सुरक्षित स्थानमा राखिएको प्रजिअ नेपालले जानकारी दिइन् ।
कोशीका बाढीपहिरोमा ४३ जनाको मृत्यु
बाढीपहिरोमा परी कोशी प्रदेशमा शनिबार राति र आइतबार गरेर ४३ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमा १५ जना पुरुष, १७ महिला, तीन बालक र आठ बालिका रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ३७ जना रहेका छन् । जसमा १३ पुरुष, १४ महिला, तीन बालक र सात बालिका रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले बताए । बाढीपहिरोमा परी मृत्यु हुनेमा पाँचथरमा दुई, उदयपुरमा दुईजना, मोरङमा एकजना र खोटाङमा एकजना रहेको प्रहरीले जनाएको छ । यस्तै, बाढीपहिरोमा परी पाँच महिला र पाँच पुरुष गरी १० जना घाइते भएको प्रहरीले जनाएको छ । एकजना बेपत्ता रहेका छन् । बाढीपहिरोमा फसेका ५३२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
कहाँ कतिको मृत्यु ?
इलाम : ३७ जना (पहिरो)
इलाम नगरपालिका– ६ घोषगाउँ बस्ने प्रकाश तामाङको घरमा पहिरो जाँदा २३ वर्षीय समीर देउजाली, २३ वर्षीय प्रवीण तामाङ, २३ वर्षीय विराज पाख्रिन तामाङ, झापा अर्जुनधारा नगरपालिका– ६ बस्ने अर्जुन दनुवारको छोरा तीन वर्षीय आवास दनुवार, ३२ वर्षीया अनु तामाङ र आठ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको हो । यस्तै, सन्दकपुर गाउँपालिका– १ छाँगे बस्ने छविधन राईको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, सोही गाउँपालिका– ४ बस्ने ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, सोही गाउँपालिका– ३ बस्ने ७४ वर्षीया सारदा सेडाईं र ४८ वर्षीया तारादेवी राईको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, माइजोङमाई गाउँपालिका– ३ प्याङ बस्ने ८२ वर्षीय बर्मलाल सोङमीको घरमा पहिरो जाँदा बर्मलालसहित ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङमी र १४ वर्षीया प्रकृति सोङमीको पुरिएर मृत्यु भएको छ ।
सूर्योदय नगरपालिका– १ मानेभञ्ज्याङ बस्ने राजु क्षेत्रीको घरमा पहिरो जाँदा ६५ वर्षीया मनमाया क्षेत्री, १० वर्षीया रस्मिका क्षेत्री, दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, उनकै श्रीमती ४४ वर्षीया भवानी बस्नेत र छोरी १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ । देउमाई नगरपालिका– ५ ढुसेनी बस्ने ३० वर्षीय दीपक लिम्बूको घरमा पहिरो जाँदा दीपकसहित उनकी श्रीमती २७ वर्षीया ऋषिका लिम्बू, छोरी १० वर्षीया दिपिस्का लिम्बू, भतिजो ९ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बूको मृत्यु भएको हो । सो पहिरोबाट प्रहरीले एकजनाको सकुशल उद्धार गरेको छ । यस्तै, देउमाई नगरपालिका– ५ झारे बस्ने मनकुमार लिम्बूको घरमा पहिरो जाँदा उनकै छोरा २२ वर्षीय रोशन लिम्बू र बुहारी २२ वर्षीया बेबिसा राईको मृत्यु भएको हो । देउमाई नगरपालिका– ३ लक्ष्मीबोटे बस्ने गणेश मगरको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण मगरको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, माङसेबुङ गाउँपालिका– १ पाटीगाउँ बस्ने मदन लिम्बूको घरमा पहिरो जाँदा उनकै आमा ५७ वर्षीया कृष्णमाया लिम्बू, फुपू ५० वर्षीया माया लिम्बू र पाँचथर मिक्लाजुङ गाउँपालिका– ६ बस्ने १७ वर्षीया नेहा राईको मृत्यु भएको छ । त्यहाँबाट प्रहरीले पाँचजनालाई उद्धार गरेको छ । यसैगरी फाकफोकथुम गाउँपालिका–३ रातमाटे बस्ने २८ वर्षीय सुरेश लिम्बूको घरनजिकै गाईगोठ हेर्न जाने क्रममा पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै, माइजोगमाई गाउँपालिका– ६ ओडारे बस्ने भक्तबहादुर थेबेको घरमा पहिरो जाँदा सोही ठाउँ बस्ने २८ वर्षीय किरण थेबे, १८ वर्षीया मनमाया थेबे, तीन वर्षीया मुनुसा थेबेको पुरिएर मृत्यु भएको छ ।
उदयपुर (२) : मन्जु अधिकारी (४५), रेविका राई (३)
पाँचथर (८) : मिकेश नेम्वाङ (१७), कान्छीमाया सेर्मा (७९), मनीषा कार्की (२८), युना तामाङ (२९), धनकुमार चोमजोङ (३३), अभिशेक लिम्बू (३२), विनोद लंगवा (३३), गीता हांगाम (२१)
खोटाङ (२) : सुमन विक (२१), राजेश रम्तेल (४०)
रौतहट (३) : नवीन यादव (१६), सरोज लेहरी (रौतहट), पनवा देवी (७५)
काभ्रेपलाञ्चोक (१) : विमलादेवी तामाङ (५७)
उच्च सतर्कताले राजमार्गमा कम क्षति
सरकारले उच्च सतर्कता अपनाउँदा तुलनात्मक रूपमा यो वर्ष राजमार्गमा भने मनसुनजन्य विपत्को क्षति कम भएको छ । भारी वर्षाको प्रक्षेपणपछि शुक्रबार नै सरकारले लामो दूरीका यातायातमा रोक लगाउनुका साथै उपत्यका भित्रन तथा बाहिरिनसमेत बन्द गरेको थियो ।
शनिबार र आइतबारको वर्षामा बाढी–पहिरोका कारण राजमार्गमा कसैको मृत्यु नभएको प्रहरीले जनाएको छ । गत वर्षको असोजमा आएको बाढी–पहिरोमा राजमार्गमा ठुलो क्षति भएको थियो । यद्यपि, यसपटक गत वर्षको तुलनामा काठमाडौं उपत्यकाआसपास ठुलो पानी परेन । राजमार्गमा क्षति पनि कम भएको छ । यद्यपि, गत वर्षबाट पाठ सिकेर सरकारले उच्च सतर्कता अपनाएको थियो । बिहीबारदेखि नै रातिको समयमा अधिकांश सडकमा सवारी चलाउन रोक लगाइएको थियो । साथै शुक्रबारदेखि नै अत्यावश्यकबाहेक सवारी चलाउन रोक लगाइएको थियो ।
विपत्जन्य क्षति न्यूनीकरणका लागि सरकारका मन्त्रीहरू पनि खटिएका थिए । गृहमन्त्री ओमप्रकाश अर्याल तथा यातायातमन्त्री कुलमान घिसिङ निरन्तर खटिएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले पनि शनिबार राष्ट्रका नाममा सन्देश जारी गरी विपत्को समयमा सतर्कता अपनाउन सबैलाई आग्रह गरेकी थिइन् । विपत्को क्षति न्यूनीकरणका लागि सर्वसाधारणलाई सचेतना बढाउनेदेखि पूर्वतयारीमा यसपटक धेरै मिहिनेत गरिएको गृहमन्त्री ओमप्रकाश अर्याल बताउँछन् ।
दुईदिने झरी र त्यसको क्षतिबारे आइतबार जानकारी दिँदै ऊर्जा, भौतिक एवं सहरी विकासमन्त्री कुलमान घिसिङले भने :
हामीले धेरै क्षतिको आकलन गरेका थियौँ, धेरै जनशक्ति परिचालन गरेका थियौँ, त्यसकारण हाम्रो संरचनामा क्षति भए पनि मानवीय रूपमा अति क्षति भएको छैन । केही बस्तीहरू बगाएर मानवीय क्षति भएको छ, नदीको नजिकको बस्ती र सडक बगाएर कुनै पनि क्षति भएको छैन । अब आइतबारदेखि नै सडक खोल्नेतर्फ हामी अघि बढिसकेका छौँ । विशेष गरी नेपालथोकको सडक मर्मत गर्ने काम सुरु भइसकेको छ । अन्य सडकहरूमा भएको अवरोध हटाउन उपकरणहरू प्रयोग गर्ने र अहिलेलाई वैकल्पिक सडकहरू प्रयोग गर्न पनि अनुरोध गर्छौँ । केही बेलिब्रिजमा क्षति भएको छ, ती स्थानहरूका बेलिब्रिज छिटोभन्दा छिटो जडान हुन्छ ।