काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका– ११, भैँसेमा घरमाथिबाट खसेको पहिरोको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ । रोशी– ११ का वडाध्यक्ष लालकुमार पाख्रिनका अनुसार आइतबार लुगा धुने क्रममा घरमाथिबाट खसेको ढुंगाले टाउकोमा लागेर स्थानीय ५६ वर्षीया विमलादेवी तामाङको मृत्यु भएको हो ।
उनी अपांगता भएकी महिला हुन् । उनी दाजुभाउजूसँग बस्दै आएकी थिइन् । ‘वर्षा रोकिएको थियो । उहाँ कान कम सुन्नुहुन्थ्यो । लुगा धुन जानुभएछ, घरमाथिबाट खसेको ढुंगाले टाउकोमा लागेर मृत्यु भएको भन्ने खबर छ,’ वडाध्यक्ष पाख्रिनले भने, ‘प्रहरी पठाएका छौँ, त्यसपछि सत्यतथ्य खबर आउँछ ।’
महिलाको मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।