जलमग्न महोत्तरी, जनजीवन प्रभावित

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

पछिल्लो दुई दिनको अविरल वर्षाले नदीको बहाव बढ्दा रातु नदीको तटबन्ध विभिन्न स्थानमा टुटेर जलेश्वरसहित महोत्तरीको विभिन्न पालिका तथा बस्तीहरू जलमग्न भएको छ भने हजारौँ सर्वसाधारण पीडित भएका छन् । सदरमुकाम जलेश्वर र जलेश्वरकै खैरा, रमौल, बजराही, फुलहट्टा, साहुजीपट्टी, धबौली, सुगा, सारी र मुसरपट्टीलगायतका बस्ती डुबानमा परेको छन् भने जलेश्वरभन्दा माथिल्लो बस्तीहरू रतवारा तथा महोत्तरी गाउँपालिका र बलबा नगरपालिकाका विभिन्न टोलहरूमा पानी पसेर जनजीवन प्रभावित भएको छ । हालसम्म मानवीय क्षति नभए पनि भौतिक रूपमा ठुलो नोक्सानी भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । 

यता कुटमेश्वरी (बिगही) नदीको पानीले पिपरा गाउँपालिका तथा मटिहानी नगरपालिका प्रभावित भएको छ । यस्तै, औरही नगरपालिकाकै केही बस्ती डुबानमा परेका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले महोत्तरीकै बर्दीवास र अन्य केही पालिकाका बस्तीसमेत बाढीबाट प्रभावित भएको बताएका छन् । प्रभावितहरूलाई सुरक्षा निकायहरूले उद्धार गरी सुरक्षित स्थानमा राखेको उनको भनाइ छ । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले समेत ‘रेस्क्यु अपरेसन’मा सक्रिय भूमिका खेलको बताए ।

कारागारसमेत डुबानमा 
रातु नदीको पानी जलेश्वर प्रवेश गर्दा जलेश्वर कारागारमा रहेको २७० कैदीबन्दी असुरक्षित भएका छन् । कारागारभित्र करिब दुई फिट पानी जमेको छ । बाढीपीडित कैदीबन्दीलाई जलेश्वर नगरपालिकासमेतको सहयोगमा तत्काल पानी र ड्राइफुड व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी रिसालले बताए । उनले सदरमुकाम सबैतिरबाट पानीले घेरिएको र सदरमुकामभित्रकै कैदीबन्दीका लागि सुरक्षित हुन सक्ने स्थानहरूसमेत पानीले डुबेकाले अन्यत्र सार्न सक्ने अवस्थासमेत नरहेको बताए । जलेश्वरमा जिल्ला प्रशासन कार्यालय परिसरलगायत विभिन्न कार्यालयहरूमा पानी पसेको छ भने जलेश्वर नगरपालिकासमेत डुबानमा छ । 

विद्युत् र यातायात सेवा अवरुद्ध  
वर्षा र सोपछि आएको बाढीले जिल्ला सदरमुकामको बर्दीबास र जनकपुरलगायत सहरसँग सम्पर्क टुटेको छ भने पछिल्लो दुई दिनदेखि विद्युत् सेवासमेत अवरुद्ध रहेको छ । बिगही नदीको पिपरा–पर्सा खण्डको पुलछेउको माटो बगाउँदा मोटरसाइकलबाहेकका सम्पूर्ण सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । त्यस्तै, जलेश्वरमै अत्यधिक पानी रहेकोमा कुनै सवारीसाधन जलेश्वर समसी र जलेश्वर–बर्दीबास सडक प्रयोग गर्न सकेका छैनन् । 

बाढीको पानी कन्ट्रोल रूममै पसेपछि विद्युत् अनिश्चित भएको छ । विद्युत् प्राधिकारणसमेत बाढीमा डुबेको छ ।

सुझावित समाचार