काठमाडौंका बाढी प्रभावित क्षेत्रमा सफाइ कार्य जारी

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

शुक्रबारदेखिको अविरल वर्षाका कारण प्रभावित काठमाडौंको बल्खु, टेकु, विष्णुमती करिडोरलगायतका क्षेत्रमा आज दिनभर ठुलो मात्रामा सफाइ र हिलो व्यवस्थापनको काम भइरहेको छ।

काठमाडौं नगर प्रहरी बलका नायब उपरीक्षक मीनबहादुर थापाका अनुसार आज बिहानैदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका सयजना कामदार, तीनवटा जेसिभी, तीनवटा जेट मेसिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा हिलो सोहोर्ने, ढुंगा–ग्राभेल हटाउने र सडक सफा गर्ने कार्य भइरहेको छ।

बल्खु तरकारी बजार, साझा पेट्रोल पम्पअगाडिको लाइन, टेकु दोभान, वंशीघाट, च्यासल, शंखमूल, नरेफाँटको लालीगुराँस चोक तथा विष्णुमती करिडोर क्षेत्रमा विशेष रूपमा काम भइरहेको छ। तर, वंशीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक गिलो हिलोका कारण मेसिनले समेत काम गर्न नसक्दा आजको काम अधुरो रहेको थापाले बताए।

नगर प्रहरी बलका टोलीहरू प्रभावित बस्तीमा पनि खटिएका छन्। वंशीघाट र टेकु दोभानका बस्तीमा हिलो घरभित्र पसेको र स्थानीयवासीले पनि सफाइ कार्यमा सहयोग गरिरहेका थापाले बताए। उनका अनुसार बल्खु फलफूल बजार क्षेत्रको सडक अझै पनि अत्यन्त गिलो छ, जसलाई अहिले अस्थायी रूपमा हिलो थुपारेर बाटो खुलाइएको छ।

‘हामीले तत्काल सम्भव हुने ठाउँमा हिलो व्यवस्थापन गरेका छौँ। तर, अझै उठाउनै नसकिने अवस्था छ। घाम लागेपछि सफाइ सहज हुनेछ र प्रभावित क्षेत्र सफा गर्न सकिनेछ,’ थापाले भने।

सुझावित समाचार