अविरल वर्षाले कोशी लोकमार्गसहित धनकुटाका प्रमुख सडकहरू अवरुद्ध

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

दुई दिनदेखिको अविरल वर्षाका कारण धनकुटाको कोशी लोकमार्गसहित जिल्लाका विभिन्न मुख्य सडकहरू अवरुद्ध भएका छन् ।  निरन्तरको वर्षाका कारण माथिबाट खसेको पहिरोका कारण कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका– १, चनौटे, घन्टे र सिमसुवा क्षेत्रमा माथिबाट पहिरो खसेर अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि धरानबाट धनकुटातर्फ आउँदै गरेको र धनकुटाबाट धरानतर्फ जाँदै गरेको दुवैतर्फको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फको सवारीसाधनहरू बाटोमा रोकिएका छन् ।

 त्यस्तै, वर्षाका कारण पहिरो गएपछि मध्यपहाडी लोकमार्गको पाख्रीबास नगरपालिका– ५, डिकुरे र वडा नं. ४ मा पनि सडक अवरुद्ध भएको छ भने भेडेटार–राजारानी– ६ नम्बर बुधबारे–रवि–राँकेको निर्माणाधीन सडकको साँगुरीगढी गाउँपालिका– ५, लुम्फाजुङमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ । यता तमोर करिडोरअन्तर्गत चौबिसे गाउँपालिका– ४ छरुवाखोलामा बाढी आएपछि तमोर करिडोर सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि सडक खुलाउने प्रयास सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनले भने, ‘अहिले सडक विभागको डोजर एउटा मात्र भएकाले पाख्रीबासतर्फ सडक खोल्न गएको छ । सडक विभागको समन्वयमा इटहरीबाट पनि डोजर झिकाउने काम भएको छ । अब तत्काल अवरुद्ध सडकहरू खुलाउने काम सुरु हुनेछ ।’ तर, सडक कति वेला खुल्ने भन्ने अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।

सुझावित समाचार