प्रधानमन्त्री सुशीला कार्कीले विपतकाे यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छिन् ।
देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले जोखिमकै कारण सरकारले आइतबार र सोमबार देशभर सार्वजनिक बिदा दिएको पनि उल्लेख गर्दै प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सूचनाअनुसार नै काम गर्न सबैलाई अनुरोध गरिन्।
प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल गरेकी छिन् । ‘हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ । सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन्,’ उनले भनिन् ।