अविरल वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि बिपी राजमार्ग बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले शनिबार बिहान ९ बजेदेखि राजमार्ग बन्द गराउने निर्णय गरेको हो।
रोशी खोलामा पानीको बहाव बढेको र पहिरोको समेत जोखिम बढेपछि राजमार्ग बन्द गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले बताए। उनका अनुसार बिचमा रहेका गाडीहरू पास गराउने काम भइरहेको छ। बिपी राजमार्ग जान लागेका सवारीसाधनलाई साँगा नाकामै रोक लगाइएको छ।
गृह मन्त्रालयले समेत आजैदेखि लामो दूरीका सवारीसाधन चलाउन तीन दिन रोक्ने तथा उपत्यका भित्रन र बाहिरिन पनि रोक लगाउने निर्णय गरेको छ।