मौसम पूर्वानुमानका आधारमा सिराहा जिल्लाको कमला, बलान, गागन, मैनावती, घुर्मीसहित अन्य स–साना खहरेहरूमा समेत अकस्मात् पानीको बहाव बढेर विपद्जन्य घटना घट्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान सूचनाबमोजिम २० असोजसम्म अति भारी वर्षाले मनसुनजन्य विपतका घटना घट्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ। ‘त्यसका लागि स्थानीय तह, स्थानीय प्रहरी, रेडक्रस, सामाजिक संघसंस्था, नागरिक समाज, स्थानीय क्लब र मिडियाकर्मीबाट पूर्वसूचना सम्प्रेषण र प्रतिकार्यमा सँगसँगै काम गर्नु पर्ने हुन्छ,’ सूचनामा भनिएको छ, ‘मौसम पूर्वानुमानका आधारमा २० असोजसम्ममा आउन सक्ने बाढीजन्य विपत् प्रतिकार्यका लागि सचेत र सजग रहौँ।’
सूचनामा उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट लामो तथा मझौला दूरीको यात्रामा अर्को जिल्लामा जाँदा राजमार्गको सन्दर्भमा जारी भएको सूचना र सडकको अवस्थाको बारेमा पूर्ण जानकारी दिन, रातको समयमा यात्रुको सुविधालाई समेत ध्यानमा राख्दै परिस्थितिको सामना गर्न र सवारीसाधन सुरक्षित स्थानमा विश्राम गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।
त्यस्तै, अति भारी वर्षा भइरहेको समयमा आफ्नो सवारीसाधनलाई सुरक्षित स्थानमा पार्किङ गर्ने र यात्रा सुरक्षित हुने सुनिश्चितताको आधारमा अगाडि बढ्ने व्यवस्था मिलाउन, सिराहा जिल्लाबाट लामो दूरीका सवारीसाधनमा यात्रा गर्दा अन्य जिल्लाको राजमार्गमा आउने पहिरो तथा मनसुनजन्य विपतका बारेमा चालकले पूर्ण रूपमा जानकारी राख्न सूचनामा उल्लेख छ।