अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न पाँच ठाउँमा शुक्रबार पनि राजमार्ग बन्द रहेका छन् । संखुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका पाँच ठाउँमा राजमार्ग अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका- ४, बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही जिल्लाको मकालु गाउँपालिका- ३, एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको उनले बताए । यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ।
रसुवाको गोसाइँकुण्ड नगरपालिका- २ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन । नेपाल-चीन नाका जोड्ने पुल, पासाङल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।