महोत्तरीको खयरमारामा बस पल्टिँदा दुईजनाको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

शुक्रबार, १७ असोज, २०८२
डिजिटल संस्करण

महोत्तरीको बर्दीबास नगरपालिका १० र ११ को मध्यमा पर्ने खयरमारास्थित विद्यालयको भित्तामा ठोक्किएर यात्रुवाहक बस पल्टिँदा एक पैदल यात्रीसहित दुईजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका– १२, घारीबथानबाट खयरमारा हुँदै काठमाडौंका लागि हिँडेको ना.६ख १४६४ नम्बरको दिवाबस खयरमारामा गति अनियन्त्रित भई विद्यालयको भित्तामा ठक्कर खाएर पल्टिँदा पैदलयात्री बर्दीबास– १०, खयरमारानिवासी चुल्हाई चौधरीको मृत्यु भएको हो भने बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा  सर्लाहीको ईश्वरपुर– १२ घारीबथाननिवासी १२ वर्षीय प्रवीण खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बर्दीबासका प्रमुख डिएसपी विकास बमले बस दुर्घटनामा करिब ३० जना घाइते भएको जानकारी आएको र सोमध्ये पाँचदेखि सातजना गम्भीर घाइते रहेको उनले बताए। अझै बुझ्ने कार्य भइरहेकोले घाइतेहरूको संख्या थपघट हुन सक्ने उनले बताए । 

घाइते सबैको शुभ स्वस्तिक अस्पताल, जनसेवा अस्पताल र सिटी केयर अस्पतालमा  उपचार भइरहेको बताए । यता बसको चालक दुर्घटनापछि फरार भएको बताउँदै स्थानीय पत्रकार विनय यादवले स्थानीय र प्रहरीको सहयोगमा सबैको उद्धार गरी पठाइएको बताए ।
 

सुझावित समाचार