गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षासमेत संवेदनशील रहेको सन्दर्भमा विपत् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिक सम्बन्ध उच्च बनाउनुपर्ने कुरामा जोड दिएका छन्।
बिहीबारदेखि २० असोजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानका पृष्ठभूमिमा आयोजित मनसुनसम्बन्धी विपत् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले विपत् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने बताए।
सम्भावित विपतलाई मध्यनजर गरेर गृहमन्त्री अर्यालको प्रमुख आतिथ्य, गृहसचिव रामेश्वर दंगालको विशिष्ट आतिथ्यमा गृह मन्त्रालय एवं राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू, चारवटै सुरक्षा निकायका प्रमुख एवं विपत् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरूको उपस्थितिमा भर्चुअल बैठक आयोजना गरिएको हो।
गृहमन्त्री अर्यालले सम्भावित विपतबाट जनधनको क्षति कम गर्न सबै सरोकारवाला निकायबिच समन्वय, सहकार्य र प्रभावकारी सञ्चारमा पनि जोड दिए।
गृहसचिव दंगालले राष्ट्रियस्तरमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्लामा जिल्ला सुरक्षा समिति/विपत् व्यवस्थापन समितिले विपत् व्यवस्थापनको नेतृत्व गर्दै एकद्वार नीतिअनुसार पूर्वतयारी, खोज तथा उद्धार सम्बद्ध कार्य गर्नुपर्ने कुरामा जोड दिए। केन्द्र र जिल्लामा मनसुन प्रतिकार्य कमान्ड पोस्टहरूलाई सक्रिय बनाई सम्भावित विपत् व्यवस्थापन गर्न गृहसचिव दंगालले निर्देशन पनि दिए।
बैठकको अध्यक्षता गरेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार जिम्मेवार सबै निकाय क्रियाशील हुन जोड दिए।
बैठकमा जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तह, जिल्लास्थित विपत् सम्बद्ध सबै निकायहरूसॅग समन्वय गर्ने एवं राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै सुरक्षा निकाय, निजी क्षेत्र, सञ्चार जगतलगायतसॅग समन्वय गर्ने समझदारी बनेको छ।
बैठकका क्रममा पूर्वानुमानअनुसार जोखिमपूर्ण क्षेत्रमा सबै किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।
त्यसैगरी, सर्वसाधारणलगायत सबैलाई असोज १७-२० गतेसम्म अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन सावधान गराउने, खोज तथा उद्धारका लागि सबै सुरक्षा निकाय, स्वयंसेवकलगायतका संयन्त्र उपलब्ध खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहने, मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार पूर्ण रूपमा क्रियाशील हुने पनि निर्णय भएको छ।
बैठकले यस अवधिमा राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र २४सै घण्टा पूर्ण रूपमा क्रियाशील रहने एवं आपतकालीन गोदामघर तत्काल प्रयोगमा आउन सक्ने गरी तयारी हालतमा राख्ने पनि निर्णय गरेको छ।