मृत भेटिएको चितुवाको पोस्टमार्टम, मृत्युको कारण टाउकोमा ठुलो चोट, थप अनुसन्धान हुँदै

बुधबार, १५ असोज, २०८२
डिजिटल संस्करण

नवदुर्गाको नवरात्रिको दिन नवलपुरको मध्यविन्दु नगरपालिका- ६ मा रहेको नवदुर्गा सामुदायिक वनमा बासको झ्याङनिर मृत भेटिएकाे अन्दाजी ४ वर्षीय पोथी चितुवाको पोस्टमार्टम गरिएको छ। 

चितुवाको टाउकोमा ठुलो घाउ पाइएको छ। गोली लागेजस्तो वारवार भएको प्वाल रहेको थियो भने पिठौलामा पनि चोट लागेको थियो। पोस्टमार्टमको क्रममा टाउकोमा गोली नभेटिएको जनाइएको छ। तथापि उक्त चितुवा कालगति वा कुनै बिरामीले मृत्यु भएको नभई बाहिरी आक्रमणबाट परी मृत्यु भएको बताइएको छ। 

चितुवाको ल्याब परीक्षण गरेपछि मात्र यकिन विवरण आउने जनाइएको छ। चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. दिनेश शाहको टोलीले चितुवाको पोस्टमार्टम गरेको थियो। उनका अनुसार चितुवाको टाउकोमा ठुलो चोट भेटिएको छ। उनले चितुवाको टाउकोमा चोट लागेको कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र बाँकी विवरण भने ल्याब परीक्षणबाट मात्र आउने जनाइएको छ। ल्याब परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला कसरामा चितुवाका केही अंगहरू लगिएको छ। 

डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत भेषबहादुर महतोका अनुसार चितुवाको टाउको, घाँटी र पिँडुलामा चोट लागेको छ। बुधबार बिहान जंगलमा च्याउ खोज्न जानेले  देखेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए। उक्त चितुवा मुचुल्का तयार पारी पोस्टमार्टमका लागि डिभिजन वन कार्यालय नवलपुर ल्याइएको छ। 

चितुवालाई भरुवा बन्दुक प्रहार गरी मारेको हुन सक्ने वन अधिकृत महतोले बताए। उनले घटनाको अनुसन्धान भइरहेको र भिसरा रिपोर्ट आएपछि आवश्यक कारबाही अगाडि बढाइने बताए। नवलपुरमा गत वर्ष पनि ३ वटा बाघ मृत भेटिएका थिए।
 

सुझावित समाचार