नवलपुरमा मृत चितुवा फेला

बुधबार, १५ असोज, २०८२
डिजिटल संस्करण

नवलपुरमा गोली प्रहार गरी चितुवा मारेको पाइएको छ ।  नवलपुरको मध्यविन्दु नगरपालिका– ६ मा रहेको नवदुर्गा सामदायिक वनमा बाँसको झ्याङनिर अन्दाजी चार वर्षीया पोथी चितुवा मृत भेटिएको हो  । 

डिभिजन  वन कार्यालय नवलपुरका वन अधिकृत भेषबहादुर महतोका अनुसार चितुवाको टाउको, घाँटी र पिँडुलामा चोट लागेको छ । 

बुधबार बिहान जंगलमा च्याउ खोज्न जानेले  देखेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए । उक्त चितुवा मुचुल्का तयार पारी पोस्टमार्टमका लागि डिभिजन वन कार्यालय नवलपुर ल्याइएको छ । 

चितुवालाई भरुवा बन्दुक प्रहार गरी मारेको हुन सक्ने वन अधिकृत महतोले बताए । तथापि, पोस्टमार्टम रिपोर्टपछि थप विवरण प्राप्त हुने जनाइएको छ । 

नवलपुरमा गत वर्ष पनि तीनवटा बाघ मृत भेटिएका थिए । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोली आएर पोस्टमार्टम गर्ने जनाइएको छ ।

सुझावित समाचार