नवलपुरमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु श्रीमती गम्भीर घाइते

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

नवलपुरको दुम्किबास सर्दी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छिन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका- ४, सिलौटेस्थित दुम्किबास सर्दी सडक खण्डमा सर्दीबाट दुम्किबास आउँदै गरेको ना ४३ प ६१८४ नम्बरको मोटरसाइकल  दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते ३ जनामध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा परी मोटरसाइकलमा सवार धादिङ घर भई विनयी त्रिवेणी गाउँपालिका- २, धुसेरीनिवासी १९ वर्षीय सन्तोष गैरेको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । 
उनको गएराति मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा मृत्यु भएको हो। दुर्घटनामा उनकी श्रीमती १८ वर्षीया विनिता गैरे गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। त्यसैगरी, मोटरसाइकलचालक विनयी त्रिवेणी- २, कुमालटारनिवासी युदेश नेपाली पनि गम्भीर घाइते भएका छन् । 

मोटरसाइकलचालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाइकल सडकबाट ९ फिट तल खसेको थियो। उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डन्डा ल्याइएको थियो। उनीहरू विनयी त्रिवेणी-२, स्थित भट्टराई बुंगुर फर्ममा काम गर्ने मजदुर रहेको बुझिएको छ।

सुझावित समाचार