संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गर्भावस्थामा सामान्य दुखाइ हुँदा पनि ‘एसिटामिनोफेन’ ( पारासिटामोल पनि भनिने यो औषधि अमेरिकामा टायलेनोल ब्रान्ड नामले चिनिन्छ) प्रयोग गर्नाले ‘अटिजम’ हुने बालबालिकाको संख्या बढेको दाबी गरे । त्यसपछि उनले गर्भवती महिलाहरूलाई ज्वरो वा दुखाइ कम गर्न सिटामोल खानुका सट्टा ‘सहेर टारिदिन’ आग्रह गरे । ट्रम्पको यस घोषणाले विश्वभर भ्रम र चिन्ता बढाएको छ । तर, ट्रम्पको चेतावनीको बाबजुद, गर्भावस्थामा पारासिटामोल सेवनको अटिजम हुने कुराको कुनै बलियो वैज्ञानिक प्रमाण छैन । सन् २०२४ मा स्विडेनमा लगभग २५ लाख जन्ममाथि गर्भावस्थामा पारासिटामोलको असरबारे अध्ययन गरिएको थियो । यस विषयमा गरिएको अहिलेसम्मकै ठुलो त्यस अध्ययनले ट्रम्पको दाबी झुटो साबित गर्छ ।
पारासिटामोलले गर्भावस्थामा कुनै जोखिम निम्त्याउँछ कि भनेर बुझ्न हामीले स्विडेनको राष्ट्रिय स्वास्थ्य दर्तामा (एनएचआर)ध्यान दिएका थियौँ । अध्ययनका लागि एनएचआरमा उल्लेख गरिएका सन् १९९५ र २०१९ को बिचमा जन्मेका लगभग २५ लाख बच्चालाई पछ्याइयो ।
गर्भअघि चिकित्सकहरूका प्रिस्क्रिप्सन रेकर्ड र अन्तर्वार्ताका आधारमा हामी कुन आमाहरूले पारासिटामोल प्रयोग गरेका थिए र कसले गरेका थिएनन् यकिनका साथ भन्न सकिन्थ्यो । औषधि प्रयोगकर्ता कुल गर्भको लगभग ७.५ प्रतिशत थियो ।
अध्ययनमा तथ्यांकीय विश्लेषणको नतिजालाई असर गर्न सक्ने सबै चरणमाथि नजर राखिएको थियो । यसअन्तर्गत गर्भावस्थामा ज्वरो वा दुखाइमा समेत पारासिटामोल नखाने आमाहरूको पनि ख्याल गरिएको थियो । यो औषधि खाने र नखाने दुई समूहबिच थप स्पष्ट भिन्नताको तुलना सुनिश्चित गर्नका लागि थियो । त्यसपछि अध्ययनकर्ता बालबच्चाको स्यायु विकासजन्य(न्युरो डेभलपमेन्टल) परिणाम ख्याल गरे । विशेष अटिजम, एडिएचडी वा बौद्धिक अशक्तताको भए नभएका बालबालिकाको संख्या ख्याल गरिएको थियो ।
अध्ययनको वास्तविक शक्ति एउटै आमाका सन्तान, अर्थात् भाइबहिनीबिचको तुलना गर्ने क्षमताबाट प्राप्त भएको थियो । जस्तो कुनै आमाले एउटा बच्चाको गर्भावस्थामा पारासिटामोलको प्रयोग गरेको हुन्थिन् भने अन्य बच्चा जन्मिँदा सो औषधि प्रयोग गर्नुपर्ने अवस्था नै आउँदैनथ्यो । अध्ययनमा यस्ता, ४५,००० भन्दा बढी भाइबहिनी जोडीहरूको तुलनात्मक अध्ययन भयो जहाँ दुईमध्ये कम्तीमा एकजनामा अटिजम भएको पाइएको थियो । भाइबहिनी वा दाउभाइ वा दिदीबहिनीबिचको अध्ययन किन शक्तिशाली हुन्छ भने उनीहरूबिच आनुवंशिक(जेनेटिक्स) र परिवारमा हुर्कने वातावरणको लगभग एउटै हुने गर्छ । यसले गर्दा अध्ययनकर्तालाई अटिजम औषधिले गर्दा भएको हो वा परिवार सदस्यमा अन्तरनिहित विशेषता वा अन्य स्वास्थ्य अवस्थाको कारण भएको भन्ने छुट्याउन सक्षम बनायो ।
अध्ययनकर्ताले यसपटक पनि अध्ययनमा सहभागी सम्पूर्ण जनसंख्यालाई सुरुमा हेर्दा विगतका अध्ययनजस्तै ढाँचा देखियो । त्यो हो, गर्भावस्थामा पारासिटामोल प्रयोग गरेका आमाका बच्चाहरूमा अटिजम, एडिएचडी वा बौद्धिक अशक्तताको पहिचान हुने सम्भावना बढी थियो । तर, यस अध्ययनमा एउटै आमाका सन्तानबिचको तुलनामा पनि जोड दिइएको थियो । यस पक्षलाई ख्याल गर्दा औषधि प्रयोग र स्नायु विकासजन्य रोगको सम्बन्ध पूर्ण रूपमा अन्त्य भयो । अर्थात्, अर्को शब्दमा भन्दा, जब अध्ययनकर्ताले एउटै आमाका सन्तानमध्ये एउटा गर्भमा रहँदा पारासिटामोल प्रयोग भएको र अर्को गर्भमा प्रयोग नभएका अवस्था ख्याल गर्दा दुईबिच अटिजम, एडिएचडी वा बौद्धिक अशक्तताको सम्भावनामा कुनै भिन्नता देखिएन ।
यो प्रश्नको परीक्षण गर्नकै लागि अध्ययन गरिएको यो एउटा मात्र थिएन । जापानका अनुसन्धानकर्ताले पनि भर्खरै एउटै आमाका सन्तानबिच तुलना गरेर गरिएको एउटा अध्ययन प्रकाशित गरेको छ, जसको नतिजा स्विडेनमा गरिएको अध्ययनकै निष्कर्षनजिक छ । महत्वपूर्ण कुरा, जापानमा स्विडेनको तुलनामा गर्भावस्थाका आमाले पारासिटामोलको प्रयोग धेरै गर्छन् (जापानमा लगभग ४० प्रतिशत आमाहरूले गर्भावस्थाको समयमा पारासिटामोल प्रयोग गर्दा स्विडेनमा यो दर १० प्रतिशतभन्दा कम छ ।) र त्यहाँको जनसंख्याको आनुवंशिक पृष्ठभूमि पनि फरक छ । त्यस्तो भिन्नताका बाबजुद स्विडेन र जापानको अध्ययनको निष्कर्ष एउटै रह्यो । यी भिन्नताका बाबजुद, निष्कर्ष एउटै रह्यो ।
एउटै आमाका सन्तानको तुलना गर्दा गर्भावस्थामा पारासिटामोलको प्रयोगले अटिजम वा एडिएचडीको जोखिम बढाउँछ भन्ने कुनै प्रमाण भेटिएन । यी निष्कर्षले पहिलेका थोरै तथ्यांक प्रयोग गरेर साना समूह र एउटै आनुवंशिक भएको जनसंख्यामा गरिएको अध्ययनका निष्कर्षलाई चुनौती दिन्छ । पहिलेका अध्ययनले गर्भावस्थाको समयमा किन केही आमाहरूले पीडा कम गर्न औषधि लिए र अरूले लिएनन् भन्ने कुरासमेत ख्याल गरेका थिएनन् । उदाहरणका लागि, पहिलेदेखि माइग्रेन, दीर्घकालीन दुखाइ, ज्वरो वा गम्भीर संक्रमण भइरहने आमाहरूले खासमा पारासिटामोल खाइरहन्छन् । उल्लेखित रोग अटिजम वा एडिएचडीसँग आनुवंशिक रूपमा जोडिएका हुन्छन् । धेरै रोग लाग्ने आमाका बच्चामा पछि यीमध्ये कुनै एक अवस्था देखिने सम्भावना पनि बढी हुन्छ ।
यसप्रकारको कन्पाउन्डिङ फ्याक्टर (कारण र असर दुवैमा प्रभाव पार्ने कारकहरू)ले गर्दा मानिस के कारण हो के असरले हो भनेर झुक्किन्छन् । खासमा गर्भावस्थाको समयमा कुनै शारीरिक समस्या उपचार नगरिएमा त्यसको असर खतरनाक हुन सक्छ भनेर बुझ्नु महत्वपूर्ण छ । उदाहरणका लागि, गर्भावस्थामा आमालाई उच्च ज्वरो लामो समय रह्यो भने आमा र बच्चा दुवै जोखिममा पर्छन् । राष्ट्रपति ट्रम्पले सुझाएझैँ ‘सहेरै टारिदिने’ जोखिममुक्त विकल्प होइन ।
त्यसैले ‘अमेरिकन कलेज अफ ओब्स्टेट्रिसियन्स एन्ड गायनोकोलोजिस्ट’ र बेलायतको ‘मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्टस रेगुलेटरी एजेन्सी’जस्ता व्यावसायिक चिकित्सा संस्थाहरूले पारासिटामोललाई गर्भावस्थाको समयमा सबैभन्दा सुरक्षित ज्वरो कम गर्ने र दुखाइ कम गर्ने औषधिको रूपमा सिफारिस गरेका छन्, विशेष थोरै मात्रा र आवश्यक पर्दा मात्र प्रयोग गरिँदा । दसकौँदेखि यही नै चिकित्सकीय गाइडेन्स (मार्गदर्शन) रहँदै आएको छ ।
कसैलाई लामो समयसम्म नियमित रूपमा पारासिटामोल लिनुप¥यो भने डाक्टर वा सुडेनीसँग परामर्श गरेर लिँदा उत्तम हुन्छ । तर, गर्भावस्थामा यसै औषधिको प्रयोगले पछि जन्मिने बच्चामा अटिजम निम्त्याउँछ भन्ने कुरालाई हालसम्मको अध्ययनले पुष्टि गर्दैन । बरु यस्तो अनावश्यक हल्लाका कारण गर्भवती महिलाहरूलाई दुखाइ वा ज्वरोको वेला औषधि लिन निरुत्साहित गर्नेछ, जसले उनीहरू र उनीहरूका बच्चा दुवैलाई जोखिममा पार्नेछन् ।
(रेनी गार्डनर, कारोलिन्स्का इन्स्टिच्युटका जनस्वास्थ्य विज्ञान विभागका प्रमुख अनुसन्धानकर्ता, ब्रायन ली, ड्रेक्सेल युनिभर्सिटीका महामारी विज्ञानका प्राध्यापक र भिक्टर एच. अल्कभिस्ट, कारोलिन्स्का इन्स्टिच्युटअन्तर्गतको वातावरणीय चिकित्सा संस्थानका पोस्ट–डक्टोरल अनुसन्धानकर्ता हुन् ।)
कन्भरसेसनबाट