भुटानी शरणार्थी शिविरमा छैन दसैँको रौनक

परिवार नै साथमा नभए चाडबाड आएर मात्रै के हर्ष ! परिवारकै सदस्यदेखि आफन्तहरूसमेत पुनर्वासका लागि अमेरिका गएपछि झापा बेलडाँगीका धेरै शरणार्थीलाई दसैँले खुसी ल्याउन छाडेको छ

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

भुटानी शरणार्थी ७७ वर्षीय डिल्लीराम तामाङ पाँच छोरी र चार छोराका बाबु हुन् । तर, झापाको दमकस्थित बेलडाँगी शिविरमा अहिले उनी एक्लो जीवन बिताइरहेका छन् । करिब १२ वर्षअघि उनका पाँच छोरी, चार छोरा र श्रीमती पुनर्वासका लागि अमेरिका गए । त्यसपछि भने परिवारका सदस्य उनीसँग सम्पर्कमा छैनन् । ‘भुटानमा हजुरबुबाले जोडिदिएको धेरै जग्गाजमिन थियो । कतै लगिहाल्छ कि भनेर म अमेरिका गइनँ,’ उनी भन्छन्, ‘तर, न भुटान लग्यो न नेपालमा रासन (खाद्य सहायता) नै दियो । अहिले मेरो बिजोग भएको छ ।’

उनले दुवै आँखा देख्न छाडेको धेरै भयो । लौरोको सहारामा भित्र–बाहिर गर्छन् ।

नेपालीभाषी भुटानी शरणार्थी डिल्लीरामलाई जब चाडपर्व आउँछ, तब एक्लोपनले धेरै सताउँछ । भुटान हुँदा भव्य दसैँ बनाउने तामाङ जब पुनर्वासले एक्लिए, तब दसैँ–तिहारजस्ता पर्व आएपछि भक्कानिन्छन् । ‘एक्लै भएपछि दसैँ न तिहार । दसैँ आयो भन्दा पनि मन भारी हुन्छ । परिवारका सबै अमेरिका गएदेखि त सबै चाडबाड खल्लो लाग्छ,’ भावुक हुँदै उनी भन्छन्, ‘परिवारसँगै भएको भए नमिठो खाँदा पनि खुसी भइन्थ्यो । शरणार्थी भएर नेपाल आएपछि पनि दसैँ त मनायौँ । तर, जब परिवारका सबै अमेरिका गए त्यसपछि त मनाउनै छाडेँ । एक्लै के मनाउनु ? मेरो त आफन्त पनि छैनन् । कसलाई टीका लगाइदिने ? मैले कसको हातबाट टीका लगाउने ?’

तामाङलाई दसैँ मात्र होइन, अरू वेलाका दिन कटाउन पनि मुस्किल छ । काम गर्न आँखा देख्दैनन् । दातृनिकायले खाद्यान्न सहयोग गर्न छाडेको सात वर्ष बित्यो । उनी अहिले छिमेकीको आसमा जीवन बिताइरहेका छन् । ‘आफैँ पकाएर खान आँखा देख्दिनँ । छिमेकीले यो बुढा सक्दैन भनेर खाना दिन्छन्,’ उनी भन्छन्, ‘कहिले कता खान्छु, कहिले कता । अहिलेसम्म यसरी नै बित्दै छ ।’

भुटानी शरणार्थी दुर्गामाया विष्ट (५६) लाई जब चाडपर्व आउँछ, तब आफन्तको यादले सताउँछ । एक दशकअघि उनका दुई छोरा र एक छोरी पुनर्वास भएर अमेरिका गए । त्यसयता भिडियो कलमा कुराकानी हुन्छ । तर, भेटघाट हुन सकेको छैन । ‘अरू वेला त जसोतसो मन बुझाइन्छ । भिडियो कलमा कुराकानी पनि हुन्छ । तर, जब चाडबाड आउँछ, तब मन थाम्न सकिँदैन । छोराछोरीविनाको चाडबाड त खल्लो लाग्छ,’ उनी भन्छिन्, ‘जति चाडपर्व मनाइयो भुटानमै मनाइयो । सय मुरी धान फल्ने खेती थियो । दसैँ–तिहार साह्रै रमाइलो गरी मनाइन्थ्यो । शरणार्थी भएर आएपछि पनि सामान्य मनाइयो । तर, छोराछोरी हिँडेपछि भने चाडपर्व आएको छैन ।’

देशभर दसैँले छपक्कै छोपेको छ । तर, नेपाली संस्कृति मान्ने झापाको दमकस्थित बेलडाँगी शिविर र पथरी–शनिश्चरेस्थित शनिश्चरे शिविरमा  दसैँको रौनक छैन । एक दशकसम्म उत्साहका साथ दसैँ मनाउँदै आएका भुटानी शरणार्थीहरू पुनर्वासले पारिवारिक विखण्डनका कारण विक्षिप्त बनेका छन् । चाडपर्व नजिकिँदा उनीहरूलाई आफन्तको यादले झनै सताउने गरेको छ । आधा परिवार शिविरमा, आधा परिवार पुनर्वास भएर अमेरिका, क्यानडा, अस्टे«लियालगायत तेस्रो मुलुक पुनर्वास भएपछि उनीहरू परिवार विखण्डनको सिकारमा परेका छन् ।

चाडपर्व नजिकिएपछि झनै गाह्रो हुने गरेको भुटानी शरणार्थी विष्णुबहादुर पौडेल (८८) बताउँछन् । ‘जीवन राम्रो बनाउँछु भनेर कान्छो छोरो अमेरिका गयो । उतै बित्यो । के भएर बित्यो पनि थाहा छैन । शत्रु लागे भन्छन् । नाति–नातिनी अमेरिका छन् । सम्पर्कमा छैनन् । दुईवटी छोरीको परिवार अमेरिकामा छ । उनीहरूसँग पनि खासै सम्पर्क हुँदैन,’ उनी भन्छन्, ‘जब चाडपर्व आउँछ, त्यो वेला सबैभन्दा धेरै उनीहरूको याद आउँछ । भविष्य बनाउन गएको छोरो उतै बिलाएको याद आउँछ । चाडपर्व मनाउनै सकिँदैन । दुःख भए पनि परिवारसँगै भए पो रमाइलो हुन्थ्यो । नभए त चाडपर्वको के अर्थ ?’

भुटानी शरणार्थी कोही पारिवारिक विखण्डनले चाडपर्व मनाउन सकेका छैनन् भने कोही गरिबीको चपेटामा परेर चाडपर्व मनाउन सक्दैनन् । भुटानी शरणार्थी बुद्धमाया सुब्बा (७४) शिविरमा एक्लै छिन् । भुटानमै हुँदा उनका श्रीमान् बिते । एउटी छोरी थिइन् । उनी नेपालमा विवाह गरेर आएकी थिइन् । श्रीमान् बितेपछि बुद्धमाया शिविरमा एक्लो जीवन कटाइरहेकी छिन् । खुट्टा राम्रोसँग चल्दैन । भित्र–बाहिर गर्न पनि लौरोको सहारा चाहिन्छ । ‘अहिलेसम्म कोही–कोहीले सहयोग गरेकाले खाइरहेकी छु । चाडपर्व त हामीलाई पनि मानाउन मन लाग्छ । तर, हामी गरिबले मिठो–मसिनो किनेर खान सक्दैनौँ । अरूले दिएको भरमा बाँच्नुपरेको छ । आफू केही गर्न सक्दिनँ । आफन्त छैनन्,’ उनी भन्छिन्, ‘चाडपर्वमा जति रमाइलो गर्ने भुटानमै ग¥यौँ । अब हाम्रा लागि चाडपर्व आउनै छाड्यो । दसैँ–तिहार त भुटानमै छाडेर आयौँ ।’

बेलडाँगी शिविरमा चार हजार ९६५ र शनिश्चरे शिविरमा एक हजार चार सय भुटानी शरणार्थी रहेको जिल्ला प्रशासन कार्यालय झापाको तथ्यांक छ । दुई शिविरमा रहेका ६ हजार ३६५ शरणार्थी भने विलखबन्दमा छन् । एक लाख १४ हजार भने अमेरिका, अस्टे«लिया, क्यानडालगायत तेस्रो मुलुकमा पुनर्वास भइसकेका छन्  ।

सुझावित समाचार