शिक्षामन्त्री महावीर पुनले मन्त्रालयको ढोका खुला राखेर सल्लाह र सुझाव लिन थालेका छन् । विगतमा महत्वपूर्ण समस्या लिएर मन्त्रीलाई भेट्न जानेले निकै समस्या र सास्ती खेप्ने गरेका थिए । तर, मन्त्री पुनको ढोका बिहानैदेखि बेलुकी अबेरसम्म खुला रहन्छ । ढोकाबाहिर दुईजना सेक्युुरिटी मेचमा बस्छन् । मन्त्री पुन भित्र कुनै बन्द कोठामा बैठक बसेर समय खेर फाल्दैनन् ।
केशरमहलको दोस्रो तलामा क्वार्टरसहित बसेका मन्त्री पुनले त्यहाँ पुग्ने सबैलाई सजिलै भेट्न मात्रै दिएका छैनन्, सुझावसमेत माग्ने गर्छन् । ‘काम लिएर वा मलाई सुझाव दिन मात्रै आउनुभएको हो भने भन्नुस्, होइन भने गएर सहयोग गरिदिनुहोस्,’ बिहीबार दिउँसो आफ्नो कार्यकक्ष पुगेका आगन्तुकलाई उनी भन्दै थिए । दिउँसो १ बजे नयाँ पत्रिकाकार्मी उनको कार्यकक्ष पुग्दा केही व्यक्तिले उनलाई सुझाव र समस्या सुनाउँदै थिए । मन्त्री पुनले पालैपालो कुरा सुनिरहेका थिए । मन्त्रालयमा आउनेहरूसँग उनले आफूसँग सम्बन्धित र मन्त्रालयसँग सम्बन्धित सुझाव मागेका थिए । आफू शिक्षामन्त्रीका रूपमा आएको छोटो समय मात्रै भएकाले यो क्षेत्रमा के–के समस्या रहेछन् भनेर पहिचान गर्न थालेको उनको भनाइ छ ।
पुनलाई भेट्न मन्त्रालय पुग्नेहरू कसैको हातमा खादा र माला देखिएन । कस्ता कस्ता व्यक्ति भेट्न आउँछन् भन्ने जिज्ञासामा मन्त्री पुनले भने, ‘मलाई भेट्न मात्रै होइन काम र सुझाव लिएर आउनुहोस्, खादा वा कुनै बधाई दिन नआउनुहोस् भनेको छु, यसरी मान्छे भेट्न र कुराकानी गर्ने त मेरो बानी हो ।’ बिहीबार उनको कार्यकक्षमा पुग्दा उनी आगन्तुकले राखेका समस्या र गुनासा कापीमा टिपिरहेका थिए । केही मानिस उनलाई सुझाव दिन बाहिर कुरिरहेका थिए ।
साधारण जीवनशैली अनुसरण गर्ने पुनले आफूलाई माननीय र मन्त्री भनेर सम्बोधन नगर्नसमेत भनेका छन् । पुनले अत्याश्वयकबाहेक अन्य कार्यमा मन्त्रालयको साधनस्रोत प्रयोग नगर्ने, बाहिर निस्कँदा सेक्युरिटीलाई सँगै नलैजाने घोषणा गरिसकेका छन् । उनले मन्त्रालयको बाहिर नामप्लेटसँगै राखिएको माननीय शब्द बिहीबार हटाउन लगाएका छन् । दैनिक १८ घण्टासम्म काम गर्ने प्रतिबद्धताअनुसार उनी मन्त्रालयकै एउटा कोठामा बस्न थालेका छन् । उनको क्वार्टरमा खाना पकाउन र सरसफाइ गर्न एकजना सहयोगी राखिएको छ । आफैँ खाना पकाउनसमेत तम्तयार उनलाई सहज होस् भनेर कर्मचारीले सहयोगी राख्न अनुरोध गरेका हुन् ।
राष्ट्रिय अविष्कार केन्द्र र वीरगन्ज कृषि औजार कम्पनीमा नेतृत्व गर्ने उनी शिक्षामन्त्री भएपछि फरक महसुस भएको बताउँछन् । ‘किताब बेच्ने भनेको निश्चित र एउटा कामका लागि थियो, मन्त्रालय भनेको ब्रह्माण्ड नै रहेछ, अनेकौँ कामहरू यहाँ रहेछन्, यहाँ आएपछि थप सिक्दै र बुझ्दै पनि छु,’ उनले सुनाए, ‘तर, मलाई मन्त्री भनेर त्यस्तो खास महसुस भएको छैन । राजै बनाइदिए पनि महसुुस हुँदैन, राष्ट्रपति, प्रधानमन्त्री र साधारण कामदार बनाइदिए पनि मलाई फरक पर्दैन ।’ आफूलाई भेट्न आउनेसँग उनी दिक्क पनि मान्दैनन् । पहिलेदेखि नै आफूले धेरै व्यक्ति भेटेको र अहिले पनि मान्छे भेटेर सल्लाह–सुझाव लिएर काम गर्न सहज हुने उनको बुझाइ छ । ‘मान्छे भेट्ने काम त मेरो अहिलेदेखि होइन, अविष्कार केन्द्र, वीरगन्ज कृषि औजार कारखानामा हुँदा पनि बिहानैदेखि मानिसहरू भेट्न आउँथे,’ उनले सुनाए, ‘मन्त्रालयमा आउनेहरूसँग सुझाव पनि मागिरहेको छु ।’
शिक्षामन्त्री नियुक्ति भएलगत्तै तीनवटा योजना घोषणा गरेका मन्त्री पुनले अब ती योजना पाँचवटा पु¥याएका छन् । ७ असोजमा पदभार ग्रहण गर्दै मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग जोडिने गरी चार सल्लाहकार समिति गठन गर्ने, अन्तरिक्ष प्रविधि, न्युक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाहकार समिति गठन गर्ने योजना बनाएका थिए । ‘सिटिइभिटीको बिहीबार बैठक भयो, बैठकपछि त्यहाँ केही सुधार गर्नुपर्ने कुराहरू रहेछन्, ०७९ देखि सम्बन्धन दिने काम रोकिएको रहेछ, यो तुरुन्तै खोल्ने भन्ने कुरा भएको छ । अर्को सिटिइभिटीको पाठ्यक्रम अलि पुरानो भएको रहेछ, त्यसलाई अब नयाँ बनाउँदा के–के थप्ने भन्ने योजना पनि अघि सारेका छौँ,’ उनले भने ।
सिंहदरबारबाट केशरमहल सरेको शिक्षा मन्त्रालयलका शाखा र महाशाखा छरिएका छन् । मन्त्रालय जल्दा अधिकांश महाशाखा र शाखाका कागजात र फर्निचर जलेका छन् । अहिले केशरमहलबाट अत्यावश्यक काम गरिरहेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । ‘यसअघि नै तय गरेका योजनाका अधिकांश काम रोकिएका छन्, अहिले मन्त्रीज्यूले अघि सारेका योजना प्राथमिकतामा पर्छन्, यसबाहेक अत्यावश्यक शिक्षाका कार्यक्रममा ध्यान दिन्छौँ,’ उनले भने, ‘यसअघिका अधिकांश कार्यक्रम र योजनाका फाइल नै जलेका छन् ।’
केशर पुस्तकालयलाई पनि असर नपर्ने
जेन–जी प्रदर्शनका क्रममा सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवनमा क्षति पुगेपछि मन्त्रालयलाई केशरमहलमा सारिएको हो । यो महलमा केशर पुस्तकालय छ । ०७२ को भूकम्पपछि क्षति पुगेको भवनको प्रबलीकरण एक वर्षअघि सकिएको थियो । तर, अहिले केशरमहलभित्र रहेका पुस्तकलाई नजिकैको टहरोमा सारिएको छ । मन्त्रालय सरेपछि पुस्कालयलाई भवनभित्रका कोठा सार्ने योजना तत्काललाई रोकिएको छ ।
स्नातक तह तीन वर्षमा नझारिने
शिक्षामन्त्री पुनले त्रिवि स्नातक तहका चारवर्षे कार्यक्रमलाई पुनः तीन वर्षमा झार्न नहुने बताए । गुणस्तरीयता खस्कने र त्यसको असर शिक्षा क्षेत्रमा पर्ने भएकाले तीन वर्षमा झार्न नहुने उनको भनाइ छ । त्रिविले ०८१ मा स्नातक तहको कार्यक्रम पुनः तीन वर्षमा झार्ने योजना तय गरेको थियो । तर, पदाधिकारी फेरिएपछि उक्त विषय ओझेलमा परेको थियो । शिक्षामन्त्री पुनले शैक्षिक कार्यक्रम घटाउन नहुने र चारवर्षे नै उत्तम हुने बताए । ‘तीन वर्षमा झर्दैन, त्यो भनेको चार फुटको मान्छेलाई एक फुट काटेर तीन फुट बनाउने जस्तै हो, बरु चारवर्षेलाई पाँचवर्षे बनाउन भयो, तर तीन वर्षमा झार्न मिल्दैन,’ उनले भने, ‘तीनवर्षे बनायो भने विदेश जान्नन् भन्ने लजिक छ, तर यो लजिक होइन, तीनवर्षे बनायो भने नेपालमै बस्छन् भन्ने होइन, यो त बाहिरको विश्वविद्यालयलाई पनि मान्यता हुनुप¥यो नि ! पहिले दुई वर्षको थियो, मैले दुई वर्षको स्नातक तह पास गरेको, तर ०३२ मा अमेरिका जाँदा मान्यता नै भएन, त्यसैले कुनै पनि हालतमा तीन वर्षमा झर्दैन ।’
त्रिवि पदाधिकारीसँग मागे कार्ययोजना
मन्त्री पुनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँग सुधारका कार्ययोजना मागेका छन् । आइतबार मन्त्रालयका त्रिवि पदाधिकारीहरूलाई बोलाएर मन्त्री पुनले त्रिवि सुधार र गुणस्तरीयता वृद्धिको सम्बन्धमा छलफल गरेका हुन् । त्रिवि उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खडग केसी, रजिस्ट्रार प्रा.डा केदार रिजाललगायतसँग मन्त्री पुनले त्रिविलाई थप सुधार्न र अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाउन केके गर्नुपर्छ भन्ने सम्बन्धमा धारणा मागेका थिए । त्रिवि पदाधिकारीहरूले त्रिविलाई सुधार्न राजनीतिक हस्तक्षेप रोक्नुपर्ने बताएका थिए । शिक्षामन्त्री पुनले राजनीतिक हस्तक्षेप रोकिने र त्रिवि सुधार गर्न एकमुष्ठ ठोस कार्ययोजना दसैंपछि लिएर आउन पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
‘आइतबार शिक्षा मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयको भिसी, रजिस्ट्रार, रेक्टर, सम्पूर्ण डीन सरहरूसहित अन्य फ्याकल्टी मेम्बरहरूलाई मैले सोधेको प्रश्न– विश्वविद्यालयको गुणस्तर सुधारेर यसलाई कसरी अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयमा परिणत गर्न सकिन्छ, भिसीसहित सम्पूर्ण टिमको एउटै उत्तर– विश्वविद्यालयलाई राजनीतिमुक्त क्षेत्र नबनाएसम्म त्यस्तो सुधार गर्न सम्भव छैन वा धेरै गाह्रो,’ मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि मेरा निर्देशन– त्यसो गर्ने एकमुष्ठ र ठोस उपायहरू दसैँपछि ल्याउनुहोस् ।’