राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिनाले पदावधि सकिएको १९ महिनापछि फिर्ता गरे गाडी

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

कानुनविपरीत सरकारी गाडी प्रयोग गर्दै आएका राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पदावधि अर्थात् कार्यकाल सकिएको १९ महिनापछि फिर्ता गरेका छन् । उनीमाथि पदमा वहाल रहँदा सहयोगीको सुविधासँगै भत्ता र अन्य सुविधा दुरुपयोग गरेको आरोपसमेत लागेको थियो । 

निवर्तमान अध्यक्ष तिमिल्सिनाले नियमविपरीत प्रयोग गर्दै आएको संघीय संसद् सचिवालयको बा.सी.२७३८ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत फिर्ता गरेका हुन् । ०७४ सालमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा उनी एमालेबाट गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए । गोलाप्रथाबाट ६ वर्षे कार्यकालका लागि छानिएका उनी निर्वाचित भएकै वर्ष अध्यक्षसमेत बनेका थिए । उनको कार्यकाल २० फागुन ०८० मा सम्पन्न भएको थियो । उनको कार्यकाल सकिएसँगै २९ फागुन ०८० मा माओवादीका नारायणप्रसाद दाहाल अध्यक्षमा निर्वाचित भएका थिए । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिनिधिसभाका पूर्वसभामुखलाई मात्र कार्यकाल सकिएपछि पनि सुविधा दिने व्यवस्था छ । राष्ट्रिय सभाको अध्यक्षका लागि त्यस्तो व्यवस्था नगरिए पनि तिमिल्सिनाले चढ्दै आएको गाडी फिर्ता गरेका थिएनन् । 

संघीय संसद् सचिवालयले राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई गाडी सुविधा दिने कानुनी प्रावधान नरहेकाले गाडी फिर्ता गरिदिन तिमिल्सिनालाई पटकपटक पत्राचार गरे पनि उनले अटेर गर्दै आएका थिए ।

२३ र २४ भदौको जेन–जी को आन्दोलनपछि गठन भएको सरकारले केही दिनअघि पूर्वपदाधिकारीले प्रयोग गरेको सवारीसाधनलगायत निवास, जिन्सी, सहयोगी, सुरक्षाकर्मीलगायत सुविधा फिर्ता गर्ने निर्णय गरेपछि बाध्य भएर तिमिल्सिनाले प्रशासन कार्यालयमार्फत गाडी फिर्ता गरेका हुन् ।

५ असोजको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने भनी गरेको निर्णय कार्यान्वयनको क्रममा अर्थ मन्त्रालयले सेवानिवृत्त भएका राजनीतिक, प्रशासनिक पदाधिकारीलगायतले लिएको सेवा सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको थियो ।

सुझावित समाचार