११ वर्षअघि आफ्नै संयोजकत्वमा निर्माण भएको ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्त जेन–जी आन्दोलनका क्रममा २४ भदौमा ध्वस्त बनेपछि कलाकार किरण केसी ‘रातामकै’ रातभर सुत्न सकेनन् । भोलिपल्टै वृत्त परिसर पुगेर ध्वस्त भएका संरचना नियाल्दा उनको आँखाबाट आँसु झरे ।
ध्वस्त वृत्त परिसरबाट निस्किएका केसीले संकल्प गरे– वृत्तलाई पहिलेभन्दा भव्य बनाउने । इमाडोलका उनले सम्पर्कमा रहेका स्थानीयलाई भेला गरेर बैठक राखे । बैठकले खडा ग¥यो– प्रहरी वृत्त सातदोबाटो पुनर्निर्माण समिति । समितिको कोषमा आफैँले ५० हजार रुपैयाँ चन्दा भरे । करिब दुई सातामा जिन्सी र नगद गरी कोषमा ८४ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
कलाकार केसीका अनुसार प्राप्त सहयोगबाट वृत्तको हिरासत कक्ष, सुरक्षाकर्मीको कक्ष तयार भइसकेका छन् । रङरोगनका काम अघि बढेको छ । सोही सहयोगबाट सातदोबाटोस्थित ट्राफिक प्रहरी वृत्तको निर्माणको काम भइरहेको छ । ‘वृत्तसँगै ट्राफिक प्रहरी वृत्त पनि हामीले नै बनाउने भनेका छौँ । वृत्तको ७० प्रतिशत काम पूरा भइसकेको छ । अब ट्राफिक वृत्तको काम पनि सोही रफ्तारमा अघि बढ्नेछ,’ उनले भने ।
जेन–जी आन्दोलनमा भक्तपुरको मध्यपुर ठिमीस्थित प्रहरी वृत्तमा पनि आगजनी भयो । परिसरमा राखिएका सवारीसाधन जलाइए । कार्यालय भवनका सिसा सबै फुटे । अहिले समुदायले नै वृत्तको पुनर्निर्माण गरिरहेको छ । मध्यपुर ठिमीका स्थानीय अनिश वैद्यका अनुसार वृत्त पुनर्निर्माणका लागि ३० देखि ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । रकम समुदायबाटै संकलन गरिएको छ । जिन्सी पनि सहयोग प्राप्त भएको छ ।
‘आन्दोलनका क्रममा वृत्त कार्यालय ध्वस्त बन्यो । टोलमा असुरक्षा हुने खतरा पैदा भएपछि संरचना पुनर्निर्माणको जिम्मा हामीले लिएका हौँ,’ उनले भने, ‘सहयोगबाट वृत्त निर्माण गर्नेछौँ ।’
वृत्त प्रमुख डिएसपी नवराज ढुंगानाका अनुसार बिहीबारबाटै वृत्तबाट सेवा सुरु गरिएको छ । हालसम्म कार्यालय प्रमुखको कक्ष, हिरासत कक्ष, मुद्दा फाँट कक्ष, मेस पुनर्निर्माण भइसकेको उनले बताए । त्यसबाहेक रङरोगनका काम पनि पूरा भएको उनको भनाइ छ । ‘हामीले कसैलाई पनि सहयोगका लागि अपिल गरेका होइनौँ । उहाँहरू आफैँले पुनर्निर्माणको काम गर्नुभएको हो । यसका लागि उहाँहरूलाई धन्यवाद छ,’ उनले भने ।
महाराजगन्ज र गौशालास्थित प्रहरी वृत्त कार्यालय पुनर्निर्माणको जिम्मा वैदेशिक रोजगार व्यवसायी संघले लिएको छ । गौशालास्थित वृत्त परिसर पुग्दा संघको सहयोगमा खटिएका कामदार वृत्त परिसर निर्माणमा व्यस्त देखिन्थे । वृत्त परिसरमा भेटिएका इन्जिनियर पूर्णराज सुवेदीले वृत्त निर्माणका लागि ३० देखि ४० लाख रुपैयाँ स्टिमेट गरिएको र हालसम्म नगर र जिन्सी गरी ५० लाख रुपैयाँभन्दा धेरै सहयोग संकलन भएको बताए । ‘काम धमाधम अघि बढेको छ । गौशालामा सात दिनभित्र कार्यालय सञ्चालन गर्न सकिने गरी टहरा निर्माण हुनेछन् । यहाँको भवनको सम्बन्धमा भने अध्ययन गर्न बाँकी छैन । आगोले भवनलाई धेरै नै क्षति पु¥याएको छ,’ उनले भने ।
आन्दोलनमा ध्वस्त बनेको अर्को वृत्त हो, तीनकुनेस्थित नयाँ बानेश्वर प्रहरी वृत्त । प्रदर्शनकारीले वृत्त परिसरमा राखिएका मोटरसाइकल, गाडीसँगै भवनमा समेत आगो लगाएका थिए । भवनको कतिपय संरचना कामै नलाग्ने गरी ध्वस्त बनेका छन् । हाल वृत्तको अस्थायी कार्यालय नयाँबानेश्वर चोकस्थित जनकपुर चुरोट कारखानाको भवनमा सारिएको छ ।
भवन पुनर्निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन भने सुरु भइसकेको छ । यस कार्यको सुरुवात पनि स्थानीयले नै गरेका हुन् । वृत्त कार्यालय पुग्दा तीनकुनेका स्थानीय इन्जिनियर ऋषि कोइराला भवनको संरचना परीक्षण गर्दै थिए । वृत्त परिसरमा कामदार निर्माणमा व्यस्त देखिन्थे । ‘अहिले वृत्त भवनको प्राविधिक परीक्षण हुँदै छ । भवन पूरै भत्काउनुपर्ने हो वा यसैलाई म्यानेज गर्न सकिन्छ भन्ने विषय अध्ययन प्रतिवेदनपछि मात्रै थाहा होला । अहिलेका लागि कार्यालय सञ्चालन प्राथमिकताको विषय हो । यसका लागि हामीले समिति नै बनाएका छौँ । काम अघि बढिसकेको छ,’ इन्जिनियर कोइरालाले भने ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार उपत्यकाभित्रका १८ मध्ये १७ वृत्त जलेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमातहतका १४ मध्ये मालीगाउँस्थित प्रहरी वृत्त मात्रै सुरक्षित बन्यो । कार्यालय सञ्चालनका लागि वृत्त प्रमुख खटिसकेका छन् । तर, उनीहरूका लागि बस्ने ठाउँ छैन । अधिकांश ठाउँमा कार्यालय सञ्चालनको प्रयास समुदायस्तरबाटै भइरहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालले बताए । ‘आन्दोलनका कारण प्रहरी कार्यालय जले । अहिले समुदायस्तरबाटै स्वस्फूर्त कार्यालय पुनर्निर्माणको काम भइरहेको छ । उहाँहरू आफैँ अघि सरेर निर्माणको काम सुरु गर्नुभएको हो । यो कार्यलाई हामीले धन्यवाद भनेका छौँ,’ उनले भने ।