जेन–जी आन्दोलनपछि ट्राफिक प्रहरीले के–कस्ता समस्या झेलिरहेको छ ?
अहिले सडकमा आफ्नो ड्युटी पूरा गर्ने हामी पहिलेभन्दा पनि बढी संख्यामा ड्युटीमा खटिइरहेका छौँ । सडकमा राखिएका सिसिक्यामेरा र चोक–चोकमा जडान गरिएका ट्राफिक लाइट तोडफोड भएका छन् । तिनको मर्मत सडक विभाग र काठमाडौं महानगरपालिकाबाट भइरहेको छ । अधिकांश कार्यालयमा तोडफोड र आगजनी भएकाले आजको भोलि नै सबै कार्यालय मर्मत या पुनर्निर्माण हुन सम्भव छैन । समय त पक्कै पनि लागिहाल्छ । तैपनि, स्थानीय नागरिक, नगरपालिका, महानगरपालिका, विभिन्न संघसंस्था आदिको सहयोगमा हामी थप प्रेरित भएर काममा लागिरहेका छौँ ।
ट्राफिक प्रहरीको खस्केको मनोबल उकास्न प्रहरी संगठनले के गर्दै छ ?
यसमा संगठनका तर्फबाट नियमित ब्रिफिङ हुने गरेको छ । पोसाक, उपकरणलगायत समस्या समाधानमा पनि सक्दो प्रयास भइरहेको छ । तर, नेतृत्वको पनि सीमा हुन्छ । उहाँहरूको क्षमताले भ्याएसम्मको सहयोग हामीले पाइरहेका छौँ । ट्राफिक प्रहरीको मात्र नभई सिंगो संगठनका सम्पूर्ण कर्मचारीको मनोबल उकास्ने गरी नेतृत्वले सहयोगी भूमिका खेलिरहेको हामीले महसुस गरेका छौँ ।
यसमा समुदायको भूमिका कस्तो भइदिए हुन्थ्यो भन्ने चाहनुहुन्छ ?
समुदायबाट त हामीले कल्पनै नगरेको साथ र सहयोग पाइरहेका छौँ । हामीले कसैलाई यसो गरिदिनुस् भनेका छैनौँ । तर, स्थानीय समुदायले स्वतःस्फूर्त रूपमा आएर हरसम्भव सहयोग गरिरहनुभएको छ । विद्यार्थीले जन्मदिन मनाउने रकमबाट भाँडाकुँडा किनेर सहयोग गर्नुभएको छ । ट्राफिक प्रहरी नहुने हो भने काठमाडौंजस्ता ठुला सहरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छ भन्ने समुदायले महसुस गरेको देखिन्छ । यसैक्रममा आइतबार बिहान ६ः३० बजे काठमाडौंको रानीपोखरीबाट समुदाय, महानगर प्रहरी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी तथा विभिन्न संघसंस्था आदिको उपस्थितिमा सचेतनामूलक ¥यालीसमेत निकालिँदै छ ।