निर्वाचन नै राजनीतिक निकास : महामन्त्री शर्मा

‘जेन–जी आन्दोलनले कांग्रेसलाई परिवर्तन हुन सन्देश दिएको छ’

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक निकासको लागि निर्वाचन आवश्यक रहेको बताएका छन्। जेन–जी आन्दोलनका क्रममा क्षति पुगेको कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले घाइते अवस्थामा रहेको संविधानलाई स्वस्थ बनाउन फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताए।

‘राष्ट्रपति, संविधान, राष्ट्रिय सभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनमार्फत नै रिफ्रेस गर्न सकिने भएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुपर्छ,’ उनले भने, ‘निर्वाचन हुने वातावरण बनाउन कांग्रेसले सहयोग गर्छ।’

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता कांग्रेसले खोज्ने उनको भनाइ थियो। महामन्त्री शर्माले वर्तमान सरकार असफल भए लोकतन्त्र नै धरापमा पर्ने चेतावनी पनि दिए। मन्त्रिपरिषदमा योग्य व्यक्तिहरु आए पनि जेन–जी युवाको प्रतिनिधित्व नदेखिएकोप्रति भने उनले असन्तुष्टि व्यक्त गरे।

यस्तै भदौ २३ र २४ गतेका घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए। विगतमा केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा कामको जिम्मा लिनुपर्ने, तर नराम्रा कामको आलोचना गर्न सकिने उल्लेख गर्दै महामन्त्री शर्माले घटनाको छानबिन र कारबाहीमा कांग्रेसले अन्तरिम सरकारलाई साथ दिने बताए। सरकारी संरचना र व्यवसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेनजीको भावनाअनुरुप नभएको उनले प्रष्ट पारे।

‘जेन–जीको नाममा अराजक गतिविधि गर्नेहरूमाथि कारबाही गर्नु सरकारको दायित्व हो। हामी शान्तिपूर्ण आन्दोलनमा छौं, तोडफोड र आगजनीविरुद्धको आवाज जेन–जी पुस्ताबाटै आउनुपर्छ।’

महामन्त्री शर्माले विगतका राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भए पनि हालको आन्दोलनले कांग्रेसलाई परिवर्तन हुन सन्देश दिएको स्पष्ट पारे। फरक–फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउने तयारीमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने र विधान संशोधनमार्फत जेनजी पुस्तालाई प्रतिनिधित्व दिने तयारी रहेको पनि उनले बताए।

‘मंसिर मसान्तभित्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने मत बलियो छ,’ उनले भने, ‘आवश्यक परे विशेष महाधिवेशन बोलाउने प्रावधान पनि पार्टीको विधानमा छ।’ समयमै उठेका आवाजलाई नसुन्दा नेताहरु ग्रेसफुल एक्जिट (सम्मानजनक बहिर्गमन)को साटो फोर्सफुल एक्जिट (जबरजस्ती बहिर्गमन)को बाटोमा पुगेको उनले दावी गरे।

महामन्त्री शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाबारे बोल्दै सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरुकै आधारमा आम धारणा बनाउन नहुने बताए। पैसाको विषयलाई सामाजिक सञ्जालमा मात्र अल्झाएर राख्नु उपयुक्त नहुने बताउँदै उनले निष्पक्ष अनुसन्धानमार्फत् सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिए।

‘पैसा कहाँबाट कसरी आयो भन्ने जवाफ सभापतिको निवास वा सरकारले अनुसन्धानमार्फत् दिनुपर्छ,’ उनले भने।  २०४६ पछिका सबै नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने र आफू पनि छानबिनको दायरामा आउन तयार रहेको उनको भनाइ छ।

सुझावित समाचार