पूर्वविश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध खेल्न तयार नेपाल

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

नेपालले पहिलोपटक शनिबार समान दुईपटकको आइसिसी टी–२० र एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्दै छ । आइसिसीको टेस्ट राष्ट्रसँग नेपालले पहिलोपटक टी–२० आइ सिरिज खेल्न लागेको हो । नेपालले यस सिरिजको नाम युनिटी कप दिइएको छ । युएईको विश्व चर्चित क्रिकेट मैदान सारजहाँमा नेपाल र वेस्ट इन्डिजका कप्तानहरूले एक आपसमा कमजोर रुपमा नलिने बताएका छन् । 

सारजहाँ रंगशालामा शुक्रबार भएको प्रि पोस्टम्याचमा नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्ध खेलाडी सवै तयार भएको बताएका छन् । ‘हामी आइसिसीको टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग खेल्न पूर्ण रुपले तयार छौँ,’ पौडेलले भने, ‘हामीले यसका लागि राम्रो तयारी गरेका छौँ ।’ वेस्ट इन्डिजका कप्तान अकिल होसेनले नेपाल नयाँ प्रतिद्वन्द्वी भए पनि बलियो भएको बताए । ‘नेपालको क्रिकेट बारे मैले फलो गर्दैआइरहेको छु । उनीहरूको खेल राम्रो छ,’ कप्तान अकिलले भने, ‘यूवा र सिनियर खेलाडीका साथ हामी खेल्न आइरहेका छौँ ।’ 

नेपाललाई यस सिरिजमा इतिहास बनाउने अवसर छ । नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्यलाई टी–२०आईमा हराउन सकेको छैन । नेपालले ओमानमा हुने आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको अन्तिम तयारीका रुपमा यो सिरिजलाई लिएको छ । नेपालले यसक्रममा अस्ट्रेलिया तथा बेलायतमा मैत्रीपूर्ण खेलमा सहभागी भएको थियो । खेलाडीहरू अहिले फिममा रहेको कप्तान पौडेलको भनाई छ । ‘अहिले सबै खेलाडी फर्ममा छन्,’ उनले भने, ‘यसै सिरिजबाट विश्वकप छनोटको अन्तिम तयारीसमेत हुने छ ।’ वेस्ट इन्डिज भने पछिल्लो समय खराब फर्ममा छ ।

सन् २०२५ मा वेस्ट इन्डिजले १२ टी–२०आईमा २ वटा मात्र जित निकालेको छ । पछिल्लो आठ खेलमा वेस्ट इन्डिजले एक जितमात्र हात पारेको थियो । गत जुनमा इंग्ल्यान्डसँगको तीन टी–२० आई सिरिज वेस्ट इन्डिजले गुमाएको थियो । वेस्ट इन्डिजले अस्ट्रेलिया र पाकिस्तानसँगको सिरिज पनि गुमाएको थियो । यस कारण वेस्ट इन्डिज नेपालसँगको प्रतिस्पर्धाबाट फर्ममा आउन चाहन्छ । नेपालविरुद्ध वेस्ट इन्डिजले ६ यूवा खेलाडीलाई अवसर दिन सक्छ । 

शारजाह क्रिकेट रंगशालाको पिच बलरलाई सधै राम्रो मानिन्छ । यहाँको बाउन्ड्रीमा सहजै चौका वा छक्का प्रहार गर्न सकिन्छ । नेपाल र वेस्ट इन्डिजबिचको खेल डे नाइटमा हुने छ । यस्तो अवस्थामा दोस्रो इनिङ्समा बलिङ गर्ने बलरलाई सहज मानिन्छ । यस रंगशालामा कप्तानले टस जितेर पहिले ब्याटिङ गर्न रुचाउँछन् । दोस्रो इनिङ्समा डियू पनि आउने भएकाले लक्ष्य पछ्याउने टोलीलाई गाह्रो हुने देखिन्छ । 

यस सिजनमा नेपालको मिश्रिम प्रदर्शन
सन् २०२५ को सिजनमा नेपालले अहिलेसम्म आठ वटा टी–२० आई खेलेको छ । जसमा चार जित र दुई हारको सामना नेपालले गरेको छ । दुई खेल नतिजाविहिन भएको थियो ।  गत अप्रिलमा हङकङमा भएको चारदेशीय सिरिजमा नेपालले समूह चरणमा कतार र कुवेतलाई पाखा लगाएको थियो । नेपाल र हङकङबिचको खेल वर्षाले रद्द भयो । सोही सिरिजको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको थियो । दुई महिनाघि स्कटल्यान्डमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले दुई खेल जित्दा एकमा हार सामना गर्यो । 

हाम्रो तयारी निकै राम्रो छ
 रोहित पौडेल, कप्तान, नेपाल 

सिरिजलाई लिएर सबैजनाको मनोबल उच्च रहेको छ । नेपालको तयारी पनि धेरै राम्रो भएको छ । हाम्रा लागि ऐतिहासिक अवसर हो । नेपालीलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने अवसर पनि रहेको छ । सबैजना धेरै उत्साहित छन् । वेस्ट इन्डिजलाई हराउन सक्यौँ भने त्यसले एकदम राम्रो छाप विश्व क्रिकेटमा राख्नेछ । यो सिरिजपछि नेपाललाई अर्को महत्वपूर्ण सिरिज खेल्ने बाटो खुल्नेछ । हामीले वेस्ट इन्डिजसँगको प्रतिस्पर्धालाई विश्वकपको तयारीका रूपमा पनि लिएका छौँ । सबै खेलाडीले शतप्रतिशत दिने विश्वास छ । यो सिरिजपछि हामी ओमानमा हुने विश्वकप छनोटमा सहभागी हुन्छौँ । त्यसका लागि राम्रो नतिजा निकाल्नुपर्छ । 

नेपालको क्रिकेटफलो गरेको छु
 अकिल होसेन, कप्तान, वेस्ट इन्डिज

वेस्ट इन्डिज ‘ए’ टोलीले दुई वर्षअघि नेपालमा प्रतिस्पर्धा गरेको थियो । त्यस सिरिजमा म सहभागी हुन सकिनँ । तर, मैले नेपालको क्रिकेटबारे राम्रो बुझेको छु । अर्को अर्थमा मैले केही समययता नेपालको क्रिकेट र उनीहरूका खेलाडीबारे अध्ययन गरेको छु । नेपाल राम्रो टोली हो । उनीहरूका खेलाडी राम्रा र मिहिनेती छन् । अहिले टोलीमा युवा खेलाडी छन् । वेस्ट इन्डिजले युवा तथा सिनियर खेलाडी मिश्रण गरी टोली तयार गरेको छ । मैदानमा जसले राम्रो खेल्छ, जित उसैको हुनेछ । सिपिएल खेलेर आएका खेलाडी फर्ममा छन् । उनीहरूले नेपालविरुद्ध राम्रो गर्ने विश्वास लिएको छु । 

सुझावित समाचार