एमसिसी प्रसारणलाइनको अर्काे ठेक्का पनि नेपाली कम्पनीलाई

प्रसारणलाइनअन्तर्गतको अन्तिम ठेक्का आशिष–बोज्लर जेभीलाई

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदान र नेपालको लगानीअन्तर्गत बन्ने एक सय १७ किमि लामो चार सय केभी क्षमताको लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा प्रसारणलाइन निर्माणका लागि पनि ठेक्का सम्झौता भएको छ । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल)ले शुक्रबार आशिष–बोज्लर संयुक्त उपक्रमसँग ठेक्का सम्झौता गरेको हो ।

आशिष नेपाली र बोज्लर भारतीय कम्पनी हो । नेपाली कम्पनी संलग्न भएको कम्पनीले एमसिसी परियोजनामा हात पारेको यो दोस्रो ठेक्का हो । यसअघि ९० किमि लामो चार सय केभीको नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माणमा पनि नेपाली संलग्न कम्पनीले ठेक्का पाएको छ । उक्त परियोजनामा वाइवा–सलार जेभीले ठेक्का पाएको थियो । त्यसमा वाइवा नेपाली र सलार भारतीय कम्पनी थियो । 

शुक्रबार ठेक्का सम्झौता भएको परियोजनाअन्तर्गत चार सय केभीका ठुला प्रसारणलाइन छन् । सात करोड ६६ लाख ५० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको हो । कम्पनीले ४२ महिनाभित्र प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालन गर्नुपर्छ । 

एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसिसी परियोजनामा सहभागी हुँदा नेपाली कम्पनीको क्षमता विस्तारमा सहयोग पुग्ने बताए । ‘चार सय केभीका प्रसारणलाइन परियोजना विदेशी कम्पनीको जेभीमा नेपाली कम्पनीले नै बनाउँदै छन् । यसले नेपाली कम्पनीलाई चार सय केभीका अन्य ठुला प्रसारणलाइन बनाउन सक्ने गरी क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ,’ उनले बताए । यससँगै एमसिसी अनुदानमा बन्ने सबै प्रसारणलाइनको ठेक्का सम्झौता सम्पन्न भएको छ ।

सुझावित समाचार