नेपाली जाति विश्वभर छरिएको छ । योसँगै नेपालीको साझा सांस्कृतिक पर्व दसैँले भूगोल विशेषको चौघेरा नाघिसकेको छ । इतिहासदेखि नै दसैँ नेपालको सरहदभित्र सीमित थिएन, किनभने नेपाली जाति नेपाली सीमामा मात्र सीमित थिएनन्, उनीहरू सुरुदेखि नै धेरैतिर छरिएर बसेका थिए । आज नेपाली जातिको विश्वव्यापीकरणसँगै दसैँ पर्व केवल एक धार्मिक वा सांस्कृतिक चाड मात्र नभई नेपाली सभ्यता, संस्कार र पहिचानका रूपमा स्थापित भएको छ । यो पर्व संसारभरि नेपालीको जीवनपद्धति भएको छ । संसारभरिको नेपाली मनलाई दसैँ पर्वले जोडेको छ । यो वर्ष नेपालसँगै विश्वभरि रहेका नेपाली जातिको घर र मनमा दसैँ पर्वको तरंग सुरु भइसकेको छ ।
नेपाली जाति, भाषा र संस्कृतिको दिगो प्रभाव भूमण्डलीकरणको लहरसँगै संसारभर फैलिइसकेको छ । कर्मको यात्रामा नेपाली समुदाय नागरिकताको कागजी सीमाभन्दा धेरै टाढा फैलिएको छ । नेपाली राहदानी बोकेकाहरू, विदेशी नागरिकता ग्रहण गरिसकेकाहरू र पुस्तौँअघि नेपालबाट बाहिर गएकाहरू वा नेपाली सीमाबाहिरै जन्मिएका नेपाली जाति एउटै संस्कृतिको धागोले बाँधिएका छन्, त्यो धागो हो, नेपालीपन, जसको सबैभन्दा जीवन्त अभिव्यक्ति हो दसैँ ।
दसैँले विश्वभर छरिएका नेपालीको मनलाई एउटै डोरीले गाँसेजस्तो बनाउँछ । चाहे अमेरिका, अस्ट्रेलिया, युरोप वा खाडी मुलुक किन नहोस्, वा नेपालसँग सिमाना जोडिएका भारत अनि अलिकति पूर्वतिर भुटान, म्यानमार, थाइल्यान्डमा दसैँ रौनकको पर्व हो । त्यहाँका नेपाली दसैँका लागि व्यस्त छन् यतिवेला ।
मनाउने तरिका फरक–फरक छ, कतै परदेशी कामको व्यस्तताबिच धोको फेरेर मनाउन कठिन छ, कतै भव्य सामूहिक कार्यक्रम भइरहेको छ, कतै बडादसैँका टीका–जमरा टाढैबाट पठाइन्छ, कतै आफ्नै बगैँचामा उम्रिएको जमराले संस्कार पूरा गरिन्छ । तर, हरेक फरकभित्र एउटै आत्मा हुन्छ, नेपाली जातिको साझा पहिचान र संस्कृतिप्रतिको समर्पण । दसैँ एउटा साझापन हो । दसैँ केवल पर्व मात्र होइन, यो विश्वभर छरिएका नेपाली हृदयलाई एउटै सूत्रमा गाँस्ने सांस्कृतिक सेतु हो ।
युएईमा कार्यरत सिन्धुलीका केशव हमालले सुनाए– दसैँमा घरको यादले साह्रै सताउँछ ।
आज नेपालीहरू रहेको भारतको दार्जिलिङ, सिक्किम, आसामदेखि लिएर चीनको हङकङ, दुबई, कतार, मलेसियाजस्ता खाडी र एसियाली देश हुँदै अमेरिका, क्यानडा, युरोपेली मुलुक, अस्ट्रेलिया, न्युजिल्यान्ड, अफ्रिकासम्म नेपालीसँगै दसैँ पुगेको छ । नेपालीहरू जहाँ बसे पनि आफ्नो संस्कार, संस्कृति, रीतिरिवाजलाई भुल्दैनन् । त्यसैले ‘जहाँ नेपाली, त्यहाँ दसैँ’ भन्ने भावना फैलिएको छ ।
दसैँ केवल टीका, जमरा वा खाने–खुवाउने पर्व मात्र होइन, यो नेपालीका लागि एउटा भावनात्मक, सामाजिक र पारिवारिक सम्बन्ध पुनस्र्थापना गर्ने अवसर हो । परदेशमा दसैँले परिवार, साथी र समुदायलाई जोडेको छ । परदेशमा दसैँ मनाउँदा घरको अनुभूति आउँछ, जसले घरसँगको आत्मीयता जोडेको छ । नेपाली संस्कार र मान्यतालाई संसारभर पु¥याउने कार्य दसैँले गरिरहेको छ । यो भविष्यमा सांस्कृतिक कूटनीतिको अस्त्र पनि बन्न सक्छ ।
विदेशमा बसेका नेपालीले दसैँको परम्परालाई स्थानीय परिवेशसँग समायोजन गर्दै नयाँ स्वरूपमा मनाउन थालेका छन् । नेपाली खाना, नाचगान, सांस्कृतिक प्रस्तुति र परम्परागत खेलकुद आयोजना भइरहेका छन् । कतिपय देशमा विदेशी मूलका मानिस पनि नेपालीसँगै दसैँ मनाउन थालेका छन् । यी सबैले दसैँलाई केवल नेपाली समुदायको चाड नभई बहुसांस्कृतिक समावेशी पर्वको रूपमा समेत आभास दिलाउन थालेका छन् । यसरी, दसैँको माध्यमबाट नेपाली संस्कृति, खाना, परम्परा विश्वसामु पुगिरहेको छ । विदेशीलाई दसैँमा सहभागी गराउने कार्य नेपाललाई सकारात्मक रूपमा चिनाउने अवसर पनि दिएको छ ।
कहाँ कसरी दसैँ ?
पूवोत्तर भारतमा नेपालीको बाक्लो बसोवास भएका कारण दसैँको रौनक हुँदै आएको छ । सिक्किममा बसोवास गर्दै आएका आसामका पत्रकार प्रकाश अधिकारीका अनुसार भारतमा सबैभन्दा धेरै नेपालीको बसोवास भएको ठाउँ असम हो भने त्यसपछि पश्चिम बंगाल (दार्जिलिङ, दुआर्स), सिक्किम, मणिपुर, मेघालय, अरुणाचल प्रदेश, मिजोरमलगायत भारतका प्रायः सबै राज्यमा नेपालीको बसोवास छ । ‘दसैँ नेपालीहरूको मुख्य पर्व भएकाले असमलगायत सबै ठाउँमा रहेका नेपालीले दसैँ मनाउने चलन छ । दसैँमा पारिवारिक भेटघाटका साथै गाउँलेसँग भेटघाट हुने हुँदा धेरै ठाउँमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ । यस्ता कार्यक्रममा नाटक, गीतसंगीतको आयोजना हुन्छ’ अधिकारीले भने ।
पश्चिम बंगाललगायत ठाउँमा दसैँसँगै दुर्गापूजा गर्ने चलन पनि रहिआएको छ । ‘पहिला गाउँघरमा नाटक गर्ने चलन अलिक धेरै थियो, अहिले गीत–नृत्य कार्यक्रम धेरै हुने गर्छ,’ अधिकारीले टेलिफोनमा सुनाए । उनका अनुसार असममा दुर्गापूजाको समयमा सप्तमीदेखि विजया दशमीसम्म छुट्टी हुन्छ । सिक्किममा अष्टमीदेखि पूर्णिमासम्म छुट्टी हुन्छ । पश्चिम बंगालमा दुर्गापूजा (सप्तमीदेखि) विजया दशमीसम्म सरकारले छुट्टी दिँदै आएको छ । नेपालमा जस्तै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन भारतमा रहेका नेपाली समुदायमा रहँदै आएको छ ।
अमेरिकाको मेरिल्यान्ड राज्यले पनि दसैँलाई औपचारिक मान्यता दिएको छ । २०२२ मार्च १७ मा विधायक ह्यारी भण्डारीको पहलमा मेरिल्यान्डले नेपालमा उत्पत्ति भएको दसैँ पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीक हो भन्ने विधेयक पारित गरेको थियो ।
म्यानमार (बर्मा)मा नेपाली भाषाका स्थापित शिक्षक एवं नेपाली समुदायका अगुवा व्यक्तित्व लक्ष्मण न्यौपानेका अनुसार दसैँ पर्वको रौनकता त्यहाँ सुरु भइसकेको छ । ‘नेपालमा जस्तै घटस्थापनाबाट दसैँ सुरु भयो । मठमन्दिरमा कार्यक्रम अब सुरु हुन्छ,’ न्यौपानेले उतैबाट सुनाए, ‘म्यानमारी नेपाली समाजले चन्दा उठाएर देशैभरि ३१३ भन्दा बढी मन्दिर बनाएका छन् । मन्दिरलाई साझा घरका रूपमा लिएर दसैँ पर्व आयोजना गर्छौं । अन्य क्षेत्रमा निरंकुश भए पनि धार्मिक चाडपर्वलाई मान्न म्यानमार सरकारले स्वतन्त्रता दिएको छ, यसको उपयोग गरेर दसैँ मनाउँछौँ ।’
धार्मिक आस्था मात्र नभएर मन्दिर निर्माण गरिसकेपछि धार्मिक आवरण पाएको ठाउँमा कार्यक्रम गर्न मन्दिरमा रोकटोक हुँदैन । नेपाली समुदायले मन्दिरमा नेपाली भाषा पढाइरहेको छ । किनभने, म्यानमारमा विदेशी भाषा पढाउन पाइँदैन, मन्दिरमा पढाउन रोकटोक छैन । ‘चन्दाबाट बनाएका मन्दिरमा घटस्थापनामै जुट्छौँ । जमरा त्यहीँ राख्छौँ । त्यहाँबाट एक एक मुठी लिएर घरमा पनि राख्छौँ,’ न्यौपानेले भने, ‘नौ दिनसम्म धुमधाम दुर्गापूजा गर्छौं । मन्दिरमा व्रत बस्छन् । अहिले याङ्गुनका हिन्दु मन्दिरमा युवाहरू फलाहार मात्रै गरेर व्रत बसेका छन् । अष्टमीको राति देशभरिका मन्दिरमा सांस्कृतिक कार्यक्रम हुन्छ । देवी, रामायणसम्बन्धी नाटक हुन्छ । नेपाली पोषाकमा, नेपाली लोकगीतमा कार्यक्रम हुन्छ ।’
त्यहाँको भित्तेपात्रोमा दसैँको साइत दिएको हुन्छ । त्यही साइतमा टीका लगाउने, जमरा लगाउने गरिन्छ । ‘टीकाको दिन आयु द्रोणसुते श्रीयं दशरथे... मन्त्र सबैतिर गुञ्जिन्छ । पढ्न नजान्नेले पनि सिक्छन्,’ न्यौपाने भन्छन् । म्यानमारमा नेपाली समुदायले प्रायः सेतो टीका लगाउँछन् । ‘इन्टरनेटका कारण नेपालबाट सिकेर यहाँ पनि रातो टीका लगाउने चलन सुरु भयो । तर, पहिला रातो टीका थिएन, सेतो टीको र कानमा जमरा लगाउने चलन थियो ।
अहिले पनि धेरैको यही चलन छ,’ न्यौपाने भन्छन् । दसैँको टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ म्यानमारमा पनि । ‘दसैँमा खसीको मासु पकाएर खाने चलन छ । अरू वेला खसीको मासुको त्यति चासो हुँदैन । अनि, सेलरोटी पकाउने पनि चलन छ, सेल नखाई म्यानमारमा दसैँ आएजस्तो नै हुँदैन,’ उनले सुनाए, ‘बर्मेली, चिनियाँ मूलका मानिसलाई पनि नेपालीले पकवान बनाएर वितरण गर्छन् । उनीहरूले पनि कोसेलीका रूपमा हार्दिकतासाथ ग्रहण गर्छन् । नेपालीहरू बाक्लो बस्ती भएका ठाउँमा बर्मिज, चिनियाँ मूलका मानिस पनि आएर टीका लगाउने र खाना खाने गर्छन् ।’
विगतमा पिङ हाल्ने चलन भए पनि अहिले त्यो चलन म्यानमारमा हटेको छ । ‘हाम्रा हजुरआमाहरूले पिङ हालेको भन्नुहुन्थ्यो, तर यहाँ पिङ हालेर खेल्ने चलन छैन,’ न्यौपानेको भनाइ छ । सांस्कृतिक कार्यक्रममा स्थानीय तहका पदाधिकारीलाई बोलाएर भोजन गराउने चलन छ । बर्माका ३५ वटा नगरमा नेपाली छरिएर बसेका छन् ।
भुटानमा दसैँको रौनक विगतमा जस्तो छैन, तर पनि दसैँको माहोल छ । सरकारले विजया दशमीका दिन सार्वजनिक बिदा दिने गरेको छ । ‘नौरथा लागेपछि माटो लिन जाने, लुगा धुने, नयाँ लुगा सिलाउने र लगाउने चलन थियो गाउँमा । नेपालमा जस्तै दसैँको पूर्वतयारी हुन्थ्यो । अहिले यो चलन हराउँदै गएको छ,’ नेपाली भाषाका साहित्यकार छत्रपति फुँयालले साम्ची भुटानबाट सुनाए, ‘विगतमा भुटानको नेपाली समाजमा मांसाहारीले सप्तमी अष्टमीतिर खसी काट्ने÷बलि दिने, चण्डी पढ्ने चलन थियो । त्यतिवेला गाउँमा दसैँमा केरा पकाउने चलन थियो, चिउरा कुट्नुपथ्र्यो । नौरथा लागेपछि माटोले घर लिप्ने काम हुन्थ्यो । अहिले सिमेन्टका घर बने, केरा, चिउरा किनेर ल्याउने चलन बढ्यो ।’
दसैँको टीका पूर्णिमासम्म लगाउने चलन भुटानमा छ । ‘उहिलेजस्तो माटाको घर अलिअलि बाँकी छन् । तर, पहिला गाउँले सबै मिलेर काम गर्दा निकै रमाइलो हुन्थ्यो । अहिले दसैँको रौनक छैन,’ फुयाँलले भने । भुटानमा २०४७ सालसम्म नेपालीको संख्या ठुलो थियो । एक लाख दश हजारभन्दा बढी नेपाली मूलका नागरिक खेदिएपछि परिवार विछोडको अवस्था भयो । ‘अहिले जागिरेहरू घर जाने चलन त्यति सारो छैन । नेपाली जातिका मानिस दुई–तीन वर्षमा एकपटक जस्तो बाबुआमाको हातको टीको लगाउन गाउँ जान्छन्,’ फुयाँल सुनाउँछन्, ‘जम्मा एक दिन त छुट्टी हुन्छ ।’
भुटानको राजधानी थिम्पुमा चौथो राजा जिग्मी सिंघी वाङ्चुकका पालादेखि सुरु भएको दुर्गापूजा बर्सेनि हुँदै आएको छ । ‘पाचौँ महाराजा (अहिलेका राजा जिग्मी गेसर नाम्ग्याल वाङ्चुक)ले दरबारमा पनि दुर्गापूजा गराउनुभएको थियो । विगतमा थिम्पुमा मन्दिरमा हुन्थ्यो, अहिले दुर्गा पाञ्चायन मन्दिरमा नौ दिनसम्म चण्डी पाठ हुन्छ,’ फुयाँल भन्छन्, ‘फुर्सद भएका बखत दसौँ दिन महाराज पनि मन्दिर पुग्नुहुन्छ । प्रायः मन्त्रीहरू पुगेर दसैँको प्रसाद लिन्छन् । महाराजाले पनि उहाँको फुर्सदअनुसार दरबारमा बोलाएर टीका लगाइदिनुहुन्छ ।’
भुटानबाट नेपाल हुँदै अमेरिका, क्यानडा, बेलायत, निदरल्यान्ड्स, अस्ट्रेलियालगायत देशमा पुगेका नेपाली समुदायले परम्परागत रूपमा नै दसैँ मनाउँदै आएको छ । अमेरिकामा नेपाल, भुटान, भारत, बर्मा, थाइल्यान्डबाट गएका नेपालीले दसैँ मनाउँछन् । अमेरिकाको मेरिल्यान्ड राज्यले दसैँलाई औपचारिक मान्यता दिएको छ । २०२२ मार्च १७ मा विधायक ह्यारी भण्डारीको पहलमा मेरिल्यान्डले नेपालमा उत्पत्ति भएको दसैँ पर्वलाई असत्यमाथि सत्यको विजयको प्रतीक हो भन्ने विधेयक पारित गरेको थियो ।
अमेरिकामा नेपालीहरूले दसैँ दुई तरिकाले मनाउँछन् । नेपालमा परिवार भएका नेपालीले नेपालमा परिवारले टीका लगाएसँगै टीका लगाउँछन् भने धेरैले पञ्चांगका आधारमा मनाउँछन् ।‘सूर्यपञ्चांगअनुसारको साइतमा दसैँको टीका लगाइन्छ । कहिलेकाहीँ दसैँको टीका अमेरिकामा अघिल्लो दिन, नेपालमा भोलिपल्ट पनि पर्छ । नेपाल र भुटानबाट गएकाहरूले फरक–फरक साइतमा टीका लगाउने चलन छ, यसलाई एउटै कायम गर्ने प्रयास हुनुपर्छ,’ अमेरिकाको ह्यारिसबर्गमा रहेका नेपाली समुदायका अगुवा रूपनारायण पोखरेलले भने । पोखरेलका अनुसार दसैँका लागि पहिले नै कम्पनी÷कार्यालयमा छुट्टी माग्नुपर्छ । ‘नेपाली र भारतीय मूलका मानिसले सञ्चालन गरेका कम्पनी र कार्यालयले सम्भव भएसम्म दसैँ र तिहारमा बिदा दिन्छन्,’ पोखरेल भन्छन् ।
भुटानबाट नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुगेका पोखरेलका अनुसार त्यहाँ बसोवास गर्ने नेपाली समुदायले भव्य रूपमा दसैँ मनाउँछन् । ‘दसैँ–तिहारमा सांस्कृतिक कार्यक्रम हुन्छन् । नवरात्रको नौ दिनसम्म दुर्गासप्तशती पाठ हुन्छ । अमेरिकामा पनि दसैँको प्रभाव यतिसम्म छ कि एउटा अमेरिकी परिवारले हरेक वर्ष मेरो आमाको हातबाट टीका लगाउँछ,’ पोखरेल सुनाउँछन् ।
अस्ट्रेलियादेखि निदरल्यान्ड, बेलायत मात्र नभएर श्रम गन्तव्य मानिने खाडी मुलुकमा पनि नेपालीले सकेसम्म दसैँ मनाउँछन् । खाडी क्षेत्रमा नेपालीहरू नेपालमा परिवारजन र आफन्त सम्झेर मनाउँछन् । ‘नजिकका साथी मिलेर खानपिन हुन्छ । दसैँमा घरको यादले सारै सताउँछ,’ युएईमा कार्यरत सिन्धुलीका केशव हमालले सुनाए । खाडी देशमा नेपालीले टीकाका दिन छुट्टी लिने र साथीहरूसँगै मिलेर खानपिन गर्ने गरेका छन् ।
क्यानडामा सरकारी कार्यालयमा कार्यरत नेपालीले पर्वबिदाका रूपमा दसैँमा बिदा लिन्छन् र आफन्तसँग मनाउने गरेको त्यहाँ रहेका गुल्मीका अनिल थापा बताउँछन् । ‘गाउँघरमा मनाएजस्तो त कहाँ हुन्छ, तैपनि नेपालीहरू भएका ठाउँमा दसैँ पर्व मनाउने चलन छ,’ थापाले सुनाए ।
‘नेपाली जातिको विश्वव्यापीकरणसँगै हाम्रो दसैँ पनि अब स्थानीय पर्व रहेन, यो विश्वव्यापी चाड भयो । अझ भनौँ, अन्तर्राष्ट्रिय पर्वका रूपमा दसैँ स्थापित भइसकेको छ,’ अमेरिकाबाट रूपनारायण पोखरेलले थपे, ‘दसैँ पर्वले नेपाली जातिको विश्वव्यापीकरणको भेलमा बगेर संसार फन्को मारिरहेको छ । जहाँ–जहाँ नेपाली छन्, त्यहाँ दसैँ छ । अब के नेपाल, के भारत, के एसिया, के युरोप, के अमेरिका, के अफ्रिका, कहाँ छैन, नेपाली र कहाँ छैन दसैँपर्व ?’ दसैँले विश्वभरिका नेपाली जातिलाई जोडेको छ । यसले नेपालीको मन अझ कसिलो गरी जोड्न सक्यो भने नेपालका लागि यो भविष्यमा नरमशक्ति (सफ्टपावर) बन्नेछ ।