वर्षमा एकपटक आउने नेपाली विशेष गरी हिन्दु धर्मावलम्बीको महान् पर्वको रूपमा दसैँ–तिहारलाई लिने गरिन्छ । यो पर्व परापूर्वकालदेखि नै मनाउने गरिन्छ । वर्षमा एकपटक आउने विशेष पर्व दसैँ मनाउनका लागि मानिसहरू देश–विदेशबाट थातथलो अर्थात् मूल घरमा आइपुग्ने गर्दछन् ।
कर्णालीमा दसैँ मनाउने प्रचलन कहिलेबाट सुरु भयो भन्नेबारे कुनै लिखित दस्तावेज भेटिँदैन । डा. सूर्यमणि अधिकारीको ‘खसराज्यको इतिहास’ नामक पुस्तकमा १८४६ को असोज महिनामा शिवनारायण खत्री नेतृत्वको गोर्खाली फौज डोल्पा जिल्लाको त्रिपुरासुन्दरीआसपास तैनाथ थियो । असोज महिनामा जुम्लामा घाँस र धान काट्ने समय भएकाले तत्कालीन जुम्ली राजा शोभान शाहीका झराली सैनिकहरूलाई घरमा बिदा दिएको र दसैँको मौका छोपी गोर्खाली फौजले लडाइँ नै नगरी जुम्ला राज्य कब्जा गरेको उल्लेख छ ।
यसबाट दसैँ खस राज्यका अन्तिम राजा शोभान शाहीको पालामा समेत मनाइने गरेको पुष्टि हुन्छ । अधिकारीको पुस्तकलाई आधार मान्ने हो भने कर्णाली क्षेत्रमा दसैँ मनाउने चलन सिँजा राज्यको मध्यतिरबाट सुरु भएको अनुमान गर्न सकिन्छ । तर, दसैँमा लगाउने टीकामा भने हालको जस्तो चामल प्रयोग हुँदैनथ्यो । त्यसवेला सिँजा राज्यमा धानको उत्पादन हुँदैनथ्यो । धानको उत्पादन सिँजा राज्यको उत्तराद्र्धतिर भएको अनुमान छ । सिँजा क्षेत्रमा धान उत्पादन नहुने हुँदा चामलको सट्टा निधारमा पिठो लगाउने चलन रहेको जुम्लाका संस्कृतिविद् रमानन्द आचार्य बताउँछन् ।
जुम्लाको उत्तर र दक्षिणबाट आएको गोर्खाली फौज ३ असोज १८४६ मा कर्णाली क्षेत्रमा प्रवेश गरेको थियो । गोर्खालीले कब्जा गर्नुअघि कर्णालीमा दसैँ मनाउने प्रचलन थिएन । सिँजा राज्य स्थापना हुनुभन्दा अघि कर्णाली क्षेत्रमा मष्टो संस्कृति पुजिन्थ्यो । मष्टो मान्नेहरूका लागि सबैभन्दा ठुलो पर्व पुनि (पूर्णिमा) हो ।
नेपाल एकीकरणको क्रममा सिँजा राज्य बलियो भएपछि गोर्खालीहरूको निसानामा थियो । दुईपटकको आक्रमण असफल भयो । तेस्रो प्रयासमा सिँजा राज्य समाप्त पार्ने गरी गोर्खाली फौज रणनीतिक योजनामा थियो । सोही योजना मुताबिक असोज महिनाको दसैँको वरपर पारेर दुईवटा गोर्खाली सेनाको फौज सिँजा क्षेत्रमा प्रवेश गरेको थियो । एकातिर धान काट्ने र भिœयाउने कामको चटारो । अर्कोतर्फ दसैँ बिदामा सिँजा राज्यका सेनाहरू घर गएको । यही मौका पारी गोखाली फौज सिँजा राज्यमा कब्जा जमाउन सफल भयो ।
संस्कृतिविद् आचार्यका अनुसार जुम्लाको उत्तर र दक्षिणबाट आएको गोर्खाली फौज ३ असोज १८४६ मा कर्णाली क्षेत्रमा प्रवेश गरेको थियो । आचार्यका अनुसार सिँजा राज्यभन्दा अगाडि कर्णालीमा दसैँ मनाउने प्रचलन थिएन । अहिले लामो बिदा, आफन्तहरूसँगको भेटघाट, टाढा गएका आफन्तहरू घर फर्किने र जमघटका कारणले दसैँ प्रमुख पर्वको रूपमा स्थापित छ । तर, सिँजा राज्य स्थापना हुनुभन्दा अघि कर्णाली क्षेत्रमा मष्टो संस्कृति पुजिन्थ्यो ।
मष्टो मान्नेहरूका लागि सबैभन्दा ठुलो पर्व पुनि (पूर्णिमा) हो । वर्षभरिका १२ वटा पुनिमध्ये वैशाख, साउन, कात्तिक र माघे पुनि विशेष मानिन्छन् । मष्टोबाहेक महादेउता, वनदेउताका लागि कोजाग्रत पूर्णिमा र भदौ पूर्णिमामा पनि पूजा हुन्छ । मष्टो पूजकका लागि पुनि आज पनि महत्वपूर्ण छ ।
भोट मधेश गएका, रोजगारीका लागि बाहिर गएकाहरू पुनिमा घर पुग्ने भनी भाकल गर्छन् र पुग्छन् पनि । यदि पुग्न नसके जरिवाना तिर्नुपथ्र्यो । बाहिर हुँदा चिताएको पुग्यो भने खुसीले जस दिने चलन छ । वर्षभरिका १२ वटै पुनिमा चोखोनितो गर्ने, बाह्रभाइ मष्टो र नौ दुर्गन भवानीलाई सम्झिने गरिएको ‘लामा–विष्णु सांस्कृतिक समन्वयका प्रतीक’ पुस्तकका लेखक वासु उपाध्यायले उल्लेख गरेका छन् । मष्टो परम्परामा पुनि नै सबैभन्दा ठुलो पर्व हुनाले दसैँ मनाउने चलन नदेखिएको उपाध्यायले लेखेका छन् । खस इतिहासका जानकार रमानन्द आचार्यका अनुसार ११औँ शताब्दीको मध्यतिर नागराजले सिँजामा साम्राज्य खडा गर्दाताकाका खसहरू बौद्ध धर्मावलम्बी हुन् ।
कर्णालीमा बैदिक हिन्दु प्रभाव पर्नुअघि बौद्ध परम्पराको प्रभाव थियो । खस राजाहरू तिब्बतसँगको सम्पर्कले बौद्ध धर्मबाट दीक्षित थिए । त्यसैले कर्णालीमा प्राप्त मूर्ति र वास्तुकलामा बौद्ध मूर्तिकलाको प्रभाव छ । तिब्बतमा दलाई लामाको शासनव्यवस्था सुरु भइसकेको थिएन । कर्णालीमा हिमालपारिबाट बौद्ध र दक्षिणबाट हिन्दु परम्पराको समिश्रण भई सहिष्णु समाजको निर्माण भएको संस्कृतिविद्हरू बताउँछन् । यो अवधिमा कर्णालीले तिब्बतसँग सम्भवतः नेपालको इतिहासमै सबैभन्दा मजबुत सम्बन्ध कायम गरेको थियो ।
हुम्ला क्षेत्र र तिब्बतका गुम्बाहरूमा त्यस्ता दस्तावेज भेटिएको इतिहासकारहरूले बताएका छन् । खस राज्यका पृथ्वी मल्लअघिका राजाहरू सबै बुद्ध धर्मावलम्बी थिए । सिँजा राज्यका सम्राट् नागराज आफैँ खारी प्रदेश (ताक्लाखार, तिब्बत)बाट आएकाले उनीसँगै बौद्ध परम्परा भित्रिएको देखिन्छ ।त्यतिवेला भारत वर्षमा पनि बौद्ध परम्परा उत्कर्षमा थियो । दैलेखमा भएको पृथ्वी मल्लका पालाको विसं १४१४ तिर कुँदिएका विजय स्तम्भमा लेखिएको ‘ॐ मणिपद्मे हुँ’ ले पनि कर्णालीमा वैदिक हिन्दु प्रभाव पर्नुअघि बौद्ध परम्परा थियो भन्ने तथ्य पुष्टि हुन्छ ।
थुप्रै अध्येताका अनुसार उनी तिब्बततिरबाट आएका थिए । खसहरू बौद्ध धर्मावलम्बी भएको प्रमाण हालसम्म पनि अस्तित्वमा रहेका अधिकांश देवलहरूको निर्माण शैली हो । जो बौद्ध धर्मको कलासँग मेल खान्छ । जुम्ला मिचा र त्यसआसपास तथा सिँजामा रहेका पञ्चदेवल, दैलेखको भुर्तिमा रहेका पञ्चदेवल, सुर्खेत काँक्रेबिहार मन्दिरको निर्माण शैली बौद्ध धर्मसँग जोडिएको संस्कृतिविद् आचार्य बताउँछन् । सिँजा सभ्यतामा प्राप्त शिलालेखमा ओम मणि पद्मे हुँ, ओम नमो बुद्धाय लेखिएको पाइनुले यसको पुष्टि गर्ने आचार्यले बताए । बौद्धमार्गीहरू दसैँ नमान्ने भएकाले खसहरूले कब्जा गर्नुअघि कर्णालीमा दसैँ मान्ने चलन नरहेको उनले बताए ।
पछि सिँजा सभ्यताको सीमा विस्तार भएपछि खसहरू विभिन्न धर्मका संस्कृतिसँग पनि नजिक भए । त्यसैक्रममा खसहरूले मष्टो संस्कृतिलाई अँगालेको उनले बताए । जसको प्रमाणस्वरूप यस क्षेत्रका ठुला तीर्थस्थलहरू छायानाथ, मुक्तिनाथ आदिमा पुनि (पूर्णिमा)को दिनसम्म मष्टो पूजकहरू पूजा गर्छन् भने पडेवाको दिनबाट बुद्धमार्गीहरू पूजा गर्छन् । यसरी खस साम्राज्यले सांस्कृतिक समन्वय गरेर अघि बढेको देखिन्छ ।
०००
मौलिक परम्पराको रूपमा रहेको दसैँ कर्णाली क्षेत्रमा ठाउँअनुसार फरक–फरक रहेको छ । सुरुदेखि दसैँको दिनदेखि कोजाग्रत पूर्णिमासम्म जवारे पुनिको प्रचलन रहेको छ । यस अवधिमा जमरा लगाउने चलन पहिलेदेखि नै रहेको छ ।मान्छेहरू काममा एकदमै व्यस्त हुने भएकाले दिनभन्दा रातभर पिठोको टीइका लगाउँथे । त्यसमा साइत हेरेर नभई दिनभर काममा जाने र साँझ आफन्त तथा ठुलाबडासँग भेट्ने, टीका जमरा लगाउने हुन्थ्यो । राति प्रायः घरघरमा पुगेर टीका, जमरा लगाउने चलन थियो, तर अहिले त्यो चलन भने लोप भइसकेको छ ।
अहिले बिस्तारै रेडियो तथा विभिन्न माध्ययमबाट टीका र जमरा लगाउन पनि साइत हुने रहेछ भन्ने बुझेर त्यो परम्परा फेरिएको छ । पहिले दिन शुभ मानिन्थ्यो, तर साइत हेरिँदैनथ्यो । पहिले हरेकको घरमा भेडा काट्ने प्रचलन थियो । दसैँ आयो भने मासु खान पाइन्छ भन्ने चलन पनि थियो । जौका जमरा राखिन्थ्यो । पिङ खेल्ने प्रचलन थिएन । अहिले अनिवार्यजस्तै भएको छ ।
दसैँमा फूलपाती चढाउने, बडा दसैँको बढाइँ गर्ने प्रचलन शक्तिसँग जोडिएको छ । फूलपातीको दिन जुम्ला विमानस्थलमा घोडादौड प्रतियोगिता नै हुने गरेको थियो । त्यतिवेला जुम्ला विमानस्थल पक्की पिच गरिएको थिएन । पछि विमानस्थल पिच पनि भयो । जुम्ला सडक सञ्जालमा जोडिएपछि घोडा पाल्ने चलन हट्दै गयो ।
५–६ वर्षअघिदेखि कर्णाली खेलकुद क्लबले पुनः फूलपातीकै दिन घोडादौड प्रतियोगितालाई स्थापित गर्दै परम्पराको सुरुवात गरेको थियो । गोर्खाली फौजले सिँजा राज्य कब्जा गरेपछि यो परम्परा अनिवार्य भएको हो । डोला लिएर घरघरमा जाने, फूलपाती उठाएर ल्याउने, मन्दिरमा चढाउने, पूजा गर्ने प्रचलन अहिले पनि छ । बुढापाकाका अनुसार गोर्खाली सैनिक प्रवेश गरेपछि सदरमुकाममा यो प्रचलन सुरु भयो । अध्येयताका अनुसार गोर्खाली सैनिकले सिँजा सामाज्यमा जित हासिल गरेपछि टीका लगाउँदा विभिन्न रङ प्रयोग गर्ने प्रचलन भित्रिएको हो ।