हेटौँडा स्थायी घर भएकी सुहना थापामगर ट्रान्सजेन्डर महिला हुन् । हाल उनी काठमाडौंमा बस्छिन् । आफू जन्मिएको घर उनका लागि बिरानो बनिसकेको छ । दसैँमा घर नगएको धेरै वर्ष भइसक्यो । सुहना आफ्नै समुदायका साथीहरूसँगै दसैँजस्ता चाडपर्व मनाउने गर्छिन् । लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले आफूलाई परिवारले अस्वीकार गरेको उनी सुनाउँछिन् ।
‘दसैँमा घर नगएको चार वर्ष भइसक्यो । आफू जन्मिएको घर नै पराई घरजस्तो बनेको छ,’ उनी भन्छिन्,‘मलाई घरपरिवारले स्विकारेन । अझै पनि मलाई अर्कै ग्रहको मान्छेजस्तो ठान्छन् । त्यसैले घर जानै मन लाग्दैन ।’सुहना आफ्नो साथीहरूसँगै चाडपर्व मनाउने गर्छिन् । ‘जसलाई घरपरिवारले सहजै स्वीकार गरेका छन्, उनीहरूको घरमा जान्छु । उनीहरूका बुबाआमाको हातबाट टीका लगाउँछु । साथीको बुबाआमालाई आफ्नै सम्झेर आशीर्वाद थाप्छु,’ उनले सुनाइन् ।
बाल्यकालमा दसैँको वेलामा उनी परिवारसँगै रमाउँथिन् । घर जान नपाउँदा नरमाइलो लाग्छ उनलाई । सबैजना परिवारसँग बसेर दसैँ मनाएको फोटो देख्दा उनको मन खल्लो हुन्छ । एक्लै काठमाडौंमा बसेर दसैँ मनाउनुपर्दा नमिठो लाग्छ उनलाई । परिवारसँग बसेर मनाएको दसैँ उनका लागि केवल सम्झनामा सीमित भयो । ‘पहिले केटाकै रूपमा हुर्किएँ, त्यो वेला परिवारसँग बसेर चाडपर्व मनाउँथेँ । तर, अहिले घरबाट फोन पनि आउँदैन । घरमा बसेर चाडपर्व मनाउने सहज वातावरण छैन । दसैँको वेलामा घरमा पाहुना आउने गर्छन् । त्यस्तो वेला आफैँलाई अप्ठ्यारो लाग्छ । परिवारले राम्रो मान्दैनन् ।’
जन्मिँदा बुबाआमाले उनलाई छोराको रूपमा हेर्थे । समयक्रमसँगै उनी छोरीको रूपमा परिणत भइन् । जुन दिनबाट उनी छोरी बनिन्, त्यसदिनदेखि उनका लागि घरको ढोका बन्द भयो । ‘जन्मँदा छोराकै रूपमा जन्मिएँ । तर, बिस्तारै मेरो फिलिंग्स चेन्ज भयो । त्यसपछि म ट्रान्सजेन्डर महिला भएँ । त्यस दिनदेखि घरमा मलाई अर्कै दृष्टिकोणले हेरियो । घरमा नआइदिएहुन्थ्योजस्तो गरियो,’ उनले भनिन् ।
चाडपर्व अरूका लागि खुसीको समय हो, तर जसलाई परिवारले अस्वीकार गरेको छ उनीहरूका लागि बहिष्कार र एकान्तवासको समय हो । यो विभेद हटाउने जिम्मेवारी केवल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको मात्रै होइन, सम्पूर्ण समाजको हो ।
परिवार र समाजका लागि अझै संघर्ष नै गरिरहेको उनी सुनाउँछिन् । ‘म मेरो पहिचानका लागि अझै संघर्ष गरिरहेको छु । मेरो कर्ममै यस्तै लेखेको रहेछ भन्ने लाग्छ । यो मैले गरेर पनि भएको होइन । बुबाआमाले यस्तै रूपमा जन्मदिनुभयो । कसलाई दोष दिने ?,’ उनी भन्छिन् ।
दाङकी सिम्पल विष्टको पनि कथा त्यस्तै छ । विष्टले परिवारसँग दसैँ नमाएको नौ वर्ष भइसक्यो । घर जाँदा उनलाई अप्ठ्यारो महसुस हुन्थ्यो । परिवारका मान्छेले घरमा नआइदिएहुन्थ्योजस्तो गरे । उनी भन्छिन्,‘परिवारले मलाई अझै छोरीको रूपमा स्विकारेको छैन । उहाँहरूले मलाई चासो दिनुहुन्न । त्यसैले मलाई जबर्जस्ती घर जान मन लाग्दैन । मैले गर्दा परिवारलाई नराम्रो लाग्छ भने किन घर जानु ?’
उनलाई घरका बुबा, दाजुभाइले कहिल्यै सम्झेनन् । उनीहरूले आफूलाई बुझ्ने प्रयास नगरेको उनको गुनासो छ । उनी भन्छिन्,‘मैले पनि उनीहरूलाई बुझाउन सकेको छैन, उनीहरूले पनि बुझ्ने प्रयास गरेनन् । मलाई घरको अरू मान्छेले कहिल्यै फोन गर्दैनन् । तर, आमाले चाहिँ सम्झनुहुन्छ । आमाले मिल्छ भने आइज भन्नुहुन्छ ।’
सिम्पल दसैँका लागि आफ्नै कोठामा जमरा राखेर पूजा गर्छिन् । टीकाको दिन आफ्नै कोठामा घर नगएका साथीभाइलाई बोलाएर टीका लगाइदिन्छिन् । ‘परिवारबाट स्विकारेका साथीहरू घर जान्छन् । हामी घरबाट अस्वीकृत भएका मान्छेहरू घर जाँदैनौँ । घरमा गएर टीका लगाउन नपाए पनि कोठामा जमरा राख्छु, पूजा गर्छु, आफैँ टीका लगाउँछु । घरपरिवारले अस्वीकार गरेका हामी एकअर्कामा आशिर्वाद लिन्छौँ, रमाइलो गर्छाैँ’, उनी सुनाउँछिन् ।
सिम्पल जन्मँदा छोरा थिए । परिवारले छोराकै रूपमा उनलाई हुर्कायो, बढायो र पढायो । परिवारले छोराकै व्यवहार गरिरहे पनि उमेर बढेसँगै उनले आफूलाई फरक महसुस गर्न थाले । मनमा जे चाहना थियो, त्यो घरपरिवारलाई मान्य भएन । त्यस दिनपछि उनी घरबाट निष्कासित हुनुपर्यो । ‘मलाई डिप्रेसन भइसकेको थियो । घरीघरी मलाई आत्महत्या गर्ने सोच आउँथ्यो,’ उनी भन्छिन्,‘आफ्नो भावना मनभित्र लुकाएर बाँच्न सकिनँ ।’
दाङकी करिना घर्तीको पनि दसैँजस्ता चाडपर्व आउँदा मन खिन्न हुन्छ । चाडपर्वमा उनका लागि न घरपरिवार छ, न आफन्त नै । ‘कसरी मनाऊँ दसैँ ? कहाँ मनाउनु ?’ उनका साथीहरूसँग भेट हुँदा मन केही हल्का हुन्छ, तर घरको यादले सताउँछ । ‘रुन पनि सक्दिनँ, हाँस्न पनि सक्दिनँ’, उनी भन्छिन् ।
दसैँ केवल धार्मिक पर्व होइन, पारिवारिक पुनर्मिलन र सामूहिक हर्षोल्लासको पल पनि हो । तर, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरै व्यक्तिका लागि दसैँ पुनर्मिलन होइन, बहिष्कार, तिरस्कार र एकान्तको समय बनेको छ ।
अहिले २० वर्ष पुगेकी करिनाले बाल्यकालदेखि नै सामाजिक अन्याय र पारिवारिक अस्वीकारको सामना गर्नुपर्यो । समाज र परिवारको व्यवहार असह्य बन्न थाल्यो । आफ्नै घरमा घृणा, गाली र कुटपिट व्यहोर्नुपर्यो । बुबाको सानैमा निधन भयो, आमा अर्काेसँग विवाह गरेर बेपत्ता भइन् । दिदीले पनि उनको साथ छोडिन् । आफन्तहरूले अस्वीकार गरेपछि करिनाले बाध्य भएर घर छाडिन् ।
भारत गएर केही वर्ष काम गरिन् । अनि केही आत्मबल पनि बनाइन् । त्यसपछि नेपाल फर्किन् । तर गाउँ–समाजको उनलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छैन । गाउँमा अपमान व्यहोर्छिन् । ‘ट्रान्सजेन्डर भएकै कारण मलाई गाउँमा पाइला टेक्न दिँदैनन्,’ उनी भन्छिन्,‘मेरो पीडा राज्यले समेत सुन्न चाहँदैन । पहिचान खुलाउँदा घरबाट निकालिदिए । अहिले म घरबारविहीन भएर बाँच्नुपरेको छ । नेपालमा मजस्ता थुप्रै ट्रान्सजेन्डर यस्तै पीडा भोगिरहेका छन् । परिवारबाट अस्वीकार, सामाजिक बहिष्कार, राज्यको उदासीनताले हामीजस्ताको जीवन कठिन बनेको छ ।’
पाल्पाको टीकाराम भुसाल दसैँलाई उत्सवको रूपमा लिन्छन् । ‘ब्लु डाइमन्ड सोसाइटी’मा कार्यरत उनको यस वर्ष परिवारसँगै बसेर दसैँ मनाउने योजना छ । ‘म लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति हुँ । मैले अरू समुदायले जस्तै सहजै दसैँ मनाइरहेको छु । पारिवारिक पराम्परा अनुसार दसैँ मनाउन सक्छु । मेरा लागि घरपरिवारबाट कुनै बाधा छैन । मेरा लागि दसैँलगायत चाडपर्व रमाइलो नै हुन्छ,’ उनले भने ।
टीकारामलाई आफ्नो लैंगिक पहिचान खुलाउँदा परिवारले सहजै स्वीकार गर्यो । मलाई अरू साथीहरूको जस्तो अप्ठ्यारो भएन । सहज वातावरणमा हुर्किने अवसर पाएँ । प्रत्येक दसैँ पारिवारिक रूपमा मनाउने गर्छु । परिवारले स्वीकार नगर्ला कि भन्ने डर छैन,’ उनको अनुभव छ ।
तर, कतिपय लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई दसैँ मनाउन सजिलो नभएको उनको बुझाइ छ । ‘अरू साथीहरूलाई सजिलो छैन । परिवारबाट अस्वीकृत साथीहरूलाई दसैँ दशाजस्तै बनेको छ,’ उनी भन्छन्,‘दसैँ पर्वको भावना मिलन, क्षमा र खुसी साटासाट हो भने हामी सबैले आफूभन्दा फरकलाई पनि यथार्थमा स्वीकार गर्न सक्नुपर्छ । हामीलाई समाजले मात्रै होइन, परिवारले पनि स्वीकार गर्नुपर्छ ।’
विद्यालय जीवनमा उनले मानसिक यातना खेप्नुपर्यो । तर, परिवारको सहयोगले उनलाई सम्हाल्न सहयोग पुग्यो । ‘परिवारले साथ नदिँदा, चाडपर्व मात्रै होइन, अरू वेला पनि मानसिक समस्या निम्तिन सक्छ,’ उनी भन्छन् । यो व्यक्तिगत समस्या मात्र नभएर समग्र लैंगिक र यौनिक अल्पसंख्यक समुदायको समस्या रहेको उनको भनाइ छ ।
उनी भन्छन्,‘हामीमध्ये कतिपयका लागि दसैँ टीका लगाउने, मिष्ठान्न खाने र आफन्तसँग रमाइलो गर्ने अवसर बनेको छ । तर, धेरै साथीहरूलाई घरपरिवारले स्विकारेका छैनन्, उनीहरूका लागि चुपचाप कोठामा बसेर घरपरिवार सम्झिएर बस्नुपर्ने बाध्यता छ । यो केवल व्यक्तिगत समस्या होइन, समग्र लैंगिक र यौनिक अल्पसंख्यक समुदायको समस्या हो ।’
कैलालीकी जुनु चौधरी लुम्बिनी प्रदेशको ‘ब्लु डाइमन्ड सोसाइटी’मा कार्यरत छिन् । उनी हरेक वर्ष दसैँमा घर जान्छिन् । यो वर्ष पनि परिवारसँगै बसेर आमाबुबाबाट आशिर्वाद थाप्ने उनी सुनाउँछिन् । उनको पनि आममानिसजस्तै दसैँ खुसीको समय हो । ‘मेरोजस्तो अनुभव धेरैको छैन । कतिपय साथीहरू अझै परिवारबाट अस्वीकृत भएका छन् । चाडपर्वको वेला मलाईभन्दा उनीहरूलाई अझ गाह्रो हुन्छ ।’ उनका अनुसार अहिले समुदायभित्र मिलेर चाड मनाउने अभ्यास बढ्दै गएको छ । साथीहरू जमघट गर्छन्, टीका लगाउँछन् । यसरी नयाँ परिवारको अनुभूति हुन्छ ।
जुनुको आफ्नो पहिचान परिवारलाई स्वीकार गराउने यात्रा पनि सजिलो थिएन । परिवारलाई बुझाउन, सहमत गराउन धेरै समय लाग्यो । अहिले परिवारको साथ छ, तर बाह्य समाजसँग अझै उनी खुल्न सक्दिनन् । ‘त्यसैले पनि चाडपर्व परिवारसँगै हुन्छु । परिवारले मलाई बोलाउनुहुन्छ । पारिवारिक माहोलमा बसिन्छ । तर, घरबाहिर निस्कन मन लाग्दैन,’ उनी भन्छिन्,‘मलाई अर्कै नजरले हेर्छन् । छरछिमेकमा, अरू समुदायसँग रमाउन सक्दिनँ ।’
समाजको सोच अझै परिवर्तन नभएको उनको बुझाइ छ । घरपरिवारमा मात्रै सीमित भए पनि उनी आफूलाई भाग्यमानी ठान्छिन् । परिवारको साथ भएर मात्रै आफूले पहिचानसहित बाँच्न सकेको उनको भनाइ छ । ‘घरमा सीमित भए पनि म आफैँलाई भाग्यमानी ठान्छु । तर, चाडपर्वमा घर जान नपाएका साथीहरूको पीडाले मलाई बिझाइरहन्छ,’ उनले भनिन् ।
खोटाङका रोजन परियार दसैँमा परिवारसँग सहभागी हुन्छन् । उनी दसैँमा टीका भने लगाउँदैनन् । दसैँजस्ता पर्वहरूले जातीय र लैंगिक विभेदलाई बढावा दिएको उनको बुझाइ छ । लैंगिक तथा यौनिक अल्पसंख्यक मात्रै नभएर जातीय विभेद पनि खेप्नुपरेको उनको अनुभव छ । भन्छन् ‘मेरो जेन्डर पहिचान हुनुअघि नै नामसँग जात जोडिएको थियो । जसले गर्दा मैले समाजबाट विभेद भोग्दै आएको थिएँ ।’
परम्परा र धर्मको नाममा समाजमा असमानता जीवित रहेको रोजनको ठम्याइ छ । उनी भन्छन्,‘वेदमा नै दलितलाई सुद्रको दर्जामा राखिएको छ । यसले लैंगिक र यौनिक अल्पसंख्यक समुदायभित्र पनि असर पारिरहेको छ ।’उनका लागि दसैँ केवल चाड होइन, ‘सांस्कृतिक परम्पराले हामीलाई समान हैसियतमा देख्दैन । त्यही भएर म टीका लगाउँदिनँ, तर परिवार र आफन्तसँगको आत्मीयता भने साटिरहेको हुन्छु,’ उनी भन्छन्,‘म कसैलाई पनि दसैँ मनाउनुहुन्न भन्दिनँ, त्यो आफ्नो इच्छाको कुरा हो । मैले धर्म, परम्परा वा संस्कृति बहिष्कार गर्नुपर्छ भनेको पनि होइन । मेरो परिवार पनि हिन्दु धर्म नै मान्नुहुन्छ । दसैँलगायत चाडपर्व मेरो परिवारले पनि मनाउनुहुन्छ । हामीले समानतामा आधारित चाडपर्व मनाउन सिक्नुपर्छ ।’
जुनु, टीकाराम र रोजनजस्ता व्यक्तिहरूले लामो संघर्षपछि घरपरिवारको साथ पाएका छन् । समाजको साथ अझै पाइरहेका छैनन् । उता सुहना र सिम्पलजस्ता धेरै घरपरिवारबाट अस्वीकृत भएका छन्, उनीहरूको लागि चार्डमा आफ्नै घरको ढोका पनि बन्द छ ।दसैँ केवल धार्मिक पर्व होइन, पारिवारिक पुनर्मिलन र सामूहिक हर्षोल्लासको पल पनि हो । तर, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरै व्यक्तिहरूका लागि दसैँ पुनर्मिलन होइन, बहिष्कार, तिरस्कार र एकान्तको समय बनेको छ ।
परिवारले अस्वीकार गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई गहिरो मानसिक समस्या निम्त्याउने टीकाराम भुसालको भनाइ छ । ‘चाडपर्व अरूका लागि खुसीको समय हो, तर जसलाई परिवारले अस्वीकार गरेको छ उनीहरूका लागि बहिष्कार र एकान्तवासको समय हो,‘भुसाल भन्छन्,‘यो विभेद हटाउने जिम्मेवारी केवल यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मात्रै होइन, सम्पूर्ण समाजको हो ।’