दक्षिणामा नयाँ नोट खोज्ने गरिन्छ । राष्ट्र बैंकले पनि दसैँमा सर्वसाधारणको चाहना बुझेर नयाँ नोट जारी गर्ने गथ्र्यो, तर गत वर्षदेखि भने नयाँ होइन, बजारमा उपलब्धबाट छनोट गरी सुकिला नोट वितरण गर्न थालिएको छ । यसपालि पनि राष्ट्र बैंकले सर्वसाधारणलाई सुकिलो नोट वितरण गरिरहेको छ ।
राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी) र ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सर्वसाधारणलगायत विभिन्न संघ–संस्थालाई २९ भदौदेखि १० असोजसम्म सुकिला बैंक नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको सीमामा सुकिला नोट सटहीको सुविधा दिइएको छ । पाँच रुपैयाँ दरका सुकिला नोट अपुग हुने भएपछि नयाँ नोट पनि बजारमा पठाइएको केन्द्रीय बैंकले जानकारी दिएको छ । सर्वसाधारणलाई एक सय, ५०, २०, १० र ५ रुपैयाँ दरका सुकिला नोट वितरण भइरहेको छ । एकजनालाई एक सेट (१८ हजार पाँच सय दरका सुकिला नोट) मात्रै वितरण गर्ने योजना भए पनि उपभोक्ताले अपुग भएको गुनासो गरेपछि भने मागेजति दिन थालिएको छ ।
दसैँमा दक्षिणा र पूजापाठका लागि प्रयोग गर्न तथा तिहारमा देउसी–भैलीलाई पैसा दिन पनि खुद्रा नोट सटही गर्ने सर्वसाधारणको भिड बढ्ने गरेको छ ।
डिजिटल ट्रान्सफर बढ्दै
दसैँलाई मान्यजनबाट आशीर्वाद लिँदै टीका थाप्ने पर्वका रूपमा मनाइने गरिन्छ । टीका थाप्दा दक्षिणासमेत लिने–दिने पुरानै प्रचलन हो । विगतमा दक्षिणाका रूपमा नगद लिने प्रचलन रहेकोमा अहिले वालेटमार्फत दक्षिणा ट्रान्सफर हुने गरेको छ ।
दसैँमा डिजिटल वालेटमार्फत लेनदेनलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले पनि कारोबारको सीमा बढाइदिएको छ । एक दिनमा ४० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने सुविधा केन्द्रीय बैंकले व्यवस्था गरेको हो । हालसम्म एक दिनमा १० पटकभन्दा बढी पैसा जम्मा गर्न पाइँदैनथ्यो ।
विगतमा दसैँ–तिहार र छठलक्षित गरेर नयाँ नोट बजारमा पठाउने गरेको नेपाल राष्ट्र बैंकले यसपालि सुकिला नोट बजारमा पठाएको छ । यद्यपि, केन्द्रीय बैंकले नोटभन्दा पनि डिजिटल कारोबारलाई नै प्रोत्साहन गर्दै आइरहेको छ । भुक्तानी सेवाप्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमालाई दसैँमा हुन सक्ने ठुलो कारोबारतर्फ मध्यनजर गरी अस्थायी रूपमा वृद्धि गरिएको हो ।
बडादसैँको अवसरमा १३ देखि २१ असोजसम्म र दीपावली तथा छठ पर्वको अवसरमा ३ देखि १० कात्तिकसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको भन्दै केन्द्रीय बैंकले सूचना जारी गरेको हो । यस अवधिमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन सबै भुक्तानी सेवाप्रदायकलाई परिपत्र पनि जारी गरिएको छ ।
आइएमई खल्तीका प्रमुख व्यावसायिक अधिकृत (सिसिओ) आशिष गौतमले वालेटमा पनि खासगरी पियर टू पियर (पिटुपी) र फोन ट्रान्सफरजस्ता कारोबार बढी हुने गरेको बताए । सप्तमीको दिन बढी किनमेल हुने भएकाले त्यस दिनमा सबैभन्दा बढी कारोबार हुने अनुमान गरिएको उनले बताए । उनले भने, ‘वालेटमा पनि डिजिटल दक्षिणाको माग बढी हुने गरेको छ । यद्यपि, सबैभन्दा बढी परिवारसँग समय बिताउने भएकाले दसैँ–तिहारमा पारिवारिक कारोबार कम हुन सक्छ । दसैँका लागि टाढाको यात्रा गर्नका लागि गाडी र फ्लाइटको टिकट बिक्री लगभग भइसकेको छ । डिजिटल वालेटको आफ्नै सीमा हुने भएकाले ठुलो कारोबारको अपेक्षा भने गर्न सकिँदैन ।’
गत वर्ष दसैँको महिना असोजमा ४० अर्ब ५४ करोड रुपैयाँबराबरको कारोबार वालेटमार्फत भएको थियो । यो वर्षभरि वालेटमार्फत भएको कारोबारको ८ प्रतिशत हो । वालेटमार्फत कारोबारमा सीमा लगाइएकाले पनि यसको आकर्षण बढ्न सकेको छैन । संख्यात्मक हिसाबले हेर्ने हो भने दुई करोड ८९ लाख २५ हजार चार सय ३४ वटा कारोबार वालेटमार्फत गत वर्षको असोज महिनामा भएको थियो ।
राष्ट्र बैंकका अनुसार सुकिला नोट सटही सुरु गरिएको २९ भदौदेखि ८ असोजसम्ममा ३९ अर्ब सात करोड रुपैयाँबराबरका नोट बजारमा गइसकेको छ । नेपाल औसतमा ६०/७० अर्ब रुपैयाँका नोट दसैँका वेलामा बजारमा जाने गरेको केन्द्रीय बैंकले जनाएको छ ।