शारदा नगरको पाँच सय घरमा पुग्यो खानेपानी

पानीको चरम संकट भएपछि स्यानीखाललाई नगरपालिकाले केही वर्षपहिले सुक्खा क्षेत्र घोषणा गरेको थियो

शुक्रबार, १० असोज, २०८२
डिजिटल संस्करण

शारदा नगरपालिका– १३, स्यानीखालकी विष्णु बुढा ७० वर्षकी भइन् । बाल्यकालका केही वर्षबाहेक उनी सधैँ भालेको डाँकोसँगै डोकोमा गाग्री बोकेर पँधेरो धाइरहिन् । तर, ७० वर्षको उमेरमा आएर उनको पिठ्युँले (ढाड) डोको र गाग्रीबाट मुक्ति पाएको छ । 

पाँच सयभन्दा बढी घरधुरी रहेको स्यानीखालमा अहिले लिफ्ट प्रणालीमार्फत घर–घरमा पानी पुगेपछि विष्णुदेवीको मात्रै होइन, स्थानीयकै मुहार उज्यालो भएको छ । जीवनको लामो कालखण्ड खानेपानीका लागि संघर्षमै बिताएकी बुढालाई घरमै पानी आएपछि जीवनकै खुसीको दिन भएको बताइन् । 

त्यसैगरी, अर्का स्थानीय तुलसी रोकालाई पनि वर्षौँसम्म कुवा, खोल्सो, पधेँरो चहारेर पानी बोकेका दिन अझै ताजै छन् । अब भने समय फेरिएको छ । शारदा नदीबाट लिफ्ट प्रणालीमार्फत घर–घरमा धारासहित खानेपानी पुगेपछि पहिलेका सबै दुःख बिर्सिएको रोकाको भनाइ छ । त्यसो त स्यानीखालका पाँच गाउँका पाँच सय घरधुरीका बासिन्दा लामो समय पानीको संकट भोग्न बाध्य थिए ।

पानीको चरम संकट भएपछि यस क्षेत्रलाई नगरपालिकाले केही वर्षपहिले सुक्खा क्षेत्र घोषणा गरेको थियो । तर, शारदा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत वडाका स्यानीखाल, चलाउने पानी, लेकटाकुरा, बागमारे, अत्तरकाँडा, साँझखर्क र जोगीचौरमा लिफ्ट प्रणालीमार्फत खानेपानी योजना सञ्चालनमा आएपछि अहिले स्थानीयमा खुसी छाएको छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानको करिब सात करोड रुपैयाँ बजेटमा शारदा नदीको मोख्लामा मुहानबाट लिफ्ट प्रणालीमार्फत खानेपानी योजना निर्माण गरिएको छ । मुहानदेखि पाँच सय ५० मिटर उचाइबाट २३ सय मिटर पाइपलाइनमार्फत गाउँमा पानी पुर्याइएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर अनुप श्रेष्ठले बताए । 

सुझावित समाचार