करेन्ट लागेर निधन भएका शिक्षकको परिवारलाई खाद्य सामग्री सहयोग

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

विद्युतीय मोटरमार्फत धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर निधन भएका सिराहाको लहान नगरपालिका– २३ गाढा गाउँका शिक्षक विजेन्द्रकुमार सहनीका परिवारलाई लहान नगरपालिकाले राहतस्वरूप खाद्य सामग्री दिएको छ । खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर लहान– १९ स्थित जनता माविमा पढाउँदै आएका लहान– १९ का करिब ३८ वर्षीय शिक्षक सहनीको ४ असोजमा निधन भएको थियो । खाद्य सामग्री हस्तान्तरण गर्न बुधबार अपराह्न गाढास्थित सहनीको घरमै पुगेर परिवारजनलाई भेटेर लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले श्रद्धाञ्जली व्यक्त गर्दै दुःखद घडीमा नगरपालिका साथमा रहेको बताए । 

त्यही क्रममा उनले नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक क्विन्टल चामल, दाल, नुन, तेललगायत खाद्यान्न सामग्री प्रदान गरेका हुन् । खाद्य सामग्री हस्तान्तरण गर्दै उनले मृतक शिक्षककी पत्नी मञ्जु सहनीलाई योग्यताअनुसार सोही विद्यालयमा रोजगार उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए । ‘मृतक शिक्षकका तीन छोराछोरीको शिक्षामा समेत आवश्यक सहयोग गर्छौँ,’ उनले भने । 

पासवान परिवारलाई पनि खाद्य सामग्री
मधुमेहको कारणले उच्च रक्तचाप, मिरगौला फेल हुँदा पनि राम्ररी उपचार गराउन नसकेर २ असोजमा निधन भएका लहान– १४, बस्तीपुरका बद्री पासवानका परिवारलाई पनि राहतस्वरूप नगरपालिकाले खाद्य सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख चौधरीले पासवान परिवारलाई मंगलबार राहतस्वरूप एक क्विन्टल चामल, पाँच–पाँच किलो दाल, तेल र नुन तथा एक–एक किलो मटर, चना, सोेयाबिन दिएका हुन् । ‘नगरले दिएको खाद्य सामग्रीले थोरै भए पनि राहत हुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

खाद्य सामग्री हस्तान्तरणपछि उनले खाँबो मात्र ठड्याएर छोडेको पासवान परिवारको घर निर्माण गरिदिने प्रतिबद्धता जनाए । ‘१३औँ तिथिपछि वडा कार्यालयसँगको समन्वयमा तपाईंहरूको घर निर्माणमा नगरले सघाउँछ,’ उनले भने । वडाध्यक्ष धनीलाल यादवले पनि पासवान परिवारको घर बनाउन वडा कार्यालयले सघाउने वचन दिए । ‘मजदुरी गरेर श्रीमती र तीन छोराको लालनपालन गर्दै आएका बद्री करिब तीन वर्ष अघिदेखि थलिए पनि गरिबीको कारणले राम्रो ठाउँमा उपचार गराउन सकेका थिएनन्,’ छिमेकी राजकुमार पासवानले भने, ‘श्रीमान् थलिएपछि सीताले निर्माण मजदुरीको काम गरेर श्रीमानसहित नाबालक छोराहरुको लालनपालन गर्नुपर्ने भएकाले घर निर्माण अलपत्र थियो ।’ 

नगरपालिकाले वार्षिक कार्यक्रम तथा बजेटमै गरिब, विपन्नलाई सहयोगसम्बन्धी व्यवस्था गरी पोषण प्याकेजअन्तर्गत हरेक महिनाको २२ गते नगर क्षेत्रका विभिन्न वडामा पालैपालो गर्भवती सुत्केरीलाई खाद्य सामग्री, मुसहर समुदायमा कसैको मृत्यु भएमा सम्बन्धित परिवारलाई तत्काल किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद सहयोग तथा दलितसहित गरिब, विपन्न अन्यलाई खाद्य सामग्री उपलब्ध गराउँदै आएको नगरका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले बताए । 

सुझावित समाचार