जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा झापाको दमक– ३ स्थित भ्यु टावरमा साढे २५ करोडको क्षति भएको छ । २४ भदौमा आन्दोलित युवाको समूहले भ्यु टावरमा आगजनी र तोडफोड गरेका थिए । जसकारण साढे २५ करोडबराबरको भौतिक क्षति भएको सघन सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङले जानकारी दिए ।
२३ भदौसम्म दृश्यावलोकनका लागि सञ्चालन गरिएको भ्युटावरमा २४ भदौमा तोडफोड र आगजनी भएको थियो । आगजनी र तोडफोडले भ्यु टावर क्षतविक्षत भएको थिङले बताए । ‘भ्यु टावरमा साढे २५ करोड क्षति भएको तथ्यांक संकलन गरेका छौँ,’ उनले भने, ‘राज्यले अर्बौँ खर्च गरेर बनाएको संरचना तहसनहस भयो ।’ एक अर्ब ६४ करोड खर्चेर बनाएको भ्यु टावर सञ्चालनमा आएको करिब दुई महिनामा नै तोडफोड भएपछि अहिले बन्द गरिएको छ ।
२३ मंसिर ०८१ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको यो भ्यु टावर गत १ साउनदेखि मात्र सञ्चालनमा आएको थियो । व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर प्रयोगका लागि मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको अवस्थामा सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएको थियो ।
आन्दोलनकारीले १८ तले भ्यु टावरको सबै सिसा फुटाएको थिङले जानकारी दिए । त्यस्तै, भ्यु टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी गरिएको उनले बताए । ‘१८ तेल भवनमा लगाइएको सबै सिसा फुटाइएको छ । अब त्यहाँ केही बाँकी छैन । जान सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘भ्यु टावरको भित्र पनि आगो लगाइएको थियो । तर, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले भित्रचाहिँ आगो लाग्न पाएन ।’
बन्द गरिएको भ्यू टावर तत्काल सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले बताए । ‘अहिले त भित्र जान सक्ने अवस्था नै छैन । दृश्यावलोकनका लागि खुला गरिएको भ्यु टावर अहिले फेरि बन्द छ,’ उनले भने, ‘तत्काल सञ्चालन गर्न सक्ने अवस्था पनि छैन । यो मर्मतका लागि हामीसँग बजेट पनि छैन । सरकारले के गर्छ, त्यसमै निर्भर रहन्छ ।’
डेढ अर्बको संरचनाबाट न्यून कमाइ
दृश्यावलोकनका लागि खुला गरिएको भ्यु टावर सञ्चालनको पहिलो महिना साउनमा अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको कार्यालयले जनाएको छ । पहिलो एक महिनामा ६ हजार ७ सय १३ जनाले भ्यु टावर चढेर दृश्यावलोकन गरेका थिए ।
त्यस्तै, २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित दुई लाख ५ हजार ५ सय ३० रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । सो अवधिमा एक हजार ९ सय ५५ ले भ्यु टावरको दृश्यावलोकन गरेका थिए । ३१ वैशाखको मन्त्रिपरिषद् बैठकले दमक भ्यु टावरलाई शुल्क लिएर अवलोकन गर्न पाइने स्वीकृति दिएको थियो । त्यसपछि प्रतिव्यक्ति सय रुपैयाँ शुल्क निर्धारण गरेर दृश्यावलोकनका लागि खुला गरिएको थियो ।
कर्मचारीले पाएनन् तलब
सरकारले भ्यु टावर सञ्चालनको जिम्मा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन समितिलाई दिने निर्णय गरिसकेको छ । यद्यपि, हस्तान्तरण नहुँदा अहिले सघन सहरी तथा भवन निर्माण कार्यालय, झापाले सञ्चालन गरिरहेको छ । भ्यु टावरबाट दुई महिनामा संकलन भएको राजस्व सरकारको खातामा जम्मा भएको छ । तर, भ्यु टावर सञ्चालनका लागि सघन सहरीमा बजेट छैन । तसर्थ, त्यहाँ काम गरेका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । भ्यु टावर सञ्चालनका लागि १२ जना कर्मचारी खटाइएको छ ।
उनीहरूले २३ भदौसम्म काम गरे । तर, अहिले रेखदेखका लागि केही कर्मचारीबाहेक अन्यलाई राखिएको छैन । काम गरे पनि उनीहरूले हालसम्म तलब पाउन सकेका छैनन् । उनीहरूका लागि करिब चार लाख तलब दिन बाँकी रहेको सघन सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङले जानकारी दिए ।